पर्यटन बोर्ड र निगमबीच पर्यटन प्रबद्र्धन गर्न सहकार्य

नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डबीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न पारस्पारिक सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । आइतबार बोर्ड र निगमबीच नेपालको पर्यटन प्रबद्र्धनका विभिन्न पक्षहरूका सम्बन्धमा सहकार्य गर्ने गरी सम्झौता भएको छ ।

यो सम्झौताले अन्तर्राष्ट्रिय रुपमा आयोजना हुने संयुक्त प्रबर्धनात्मक कार्य, परिचयात्मक भ्रमण, ब्राण्डिङ, नेपालमा आयोजना गरिने अन्तर्राष्ट्रिय स्तरका पर्यटन सम्बन्धित कार्यक्रमहरु जस्ता विभिन्न क्षेत्रहरुमा सहकार्य गर्ने कुरा सुनिश्चित गरेको छ ।
नेपाललाई अन्तर्राष्ट्रिय बजारमा एक प्रमुख आकर्षक पर्यटकीय गन्तव्यको रुपमा प्रबर्धन गर्ने उद्देश्यले सार्वजनिक निजी साझेदारीको अवधारणामा गठित नेपाल पर्यटन बोर्ड र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमबीच भएको सम्झौताले हाल कोभिड–१९ को महामारीका कारण सिथिल बनेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

सम्झौता अनुसार अन्तर्राष्ट्रिय र आन्तरिक पर्यटन बजार प्रवद्र्धन गर्न दुवै संस्थाले समन्वयात्मक रुपमा गतिविधि गर्नेछन् । अन्तर्राष्ट्रिय क्षेत्रमा आयोजना गरिने कुनै पनि पर्यटन मेला÷मार्ट÷रोड सो, पर्यटन व्यवसायीको सम्मेलन र फाम ट्रिपमा नेपाल वायुसेवा निगमलाई पर्यटन बोर्डका तर्फबाट निःशुल्क ठाउँ उपलब्ध गराइनेछ ।
बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले कोभिड–१९ को महामारीवाट सिर्जित वर्तमान संकटको बीचमा यस प्रकारको सहकार्यले दुई संस्था बीचको बहुआयामिक सम्बन्धमा थप मजवुत हँदै जाने र यो संकटसँग लड्नको लागि थप उर्जा र शक्ति प्राप्त भएको बताए ।

उनले भने, “नेपाललाई अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी रुपमा प्रबर्धन गर्न यो सम्झौता कोसेढुङ्गा सावित हुने छ ।” सम्झौता पत्रमा बोर्डका तर्फबाट कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी र निगम महाप्रबन्धक डिमप्रसाद पौडेल(प्रकास)ले हस्ताक्षर गरेका थिए । निगमले विगतदेखि नै नेपालमा विदेशी पर्यटकहरु ल्याउनमा अग्रणी भूमिका खेल्दै आएकोमा यी दुई संस्थाबीचको सहकार्यले अझ थप हौसला प्रदान गरेको निगम महाप्रबन्धक पौडेलले बताए । “सम्झौताले नेपालको पर्यटन आगमनमा संख्यमा वृद्धि गर्दै पर्यटन उद्योगलाई लयमा फर्काउन टवा पुग्ने छ ।” उनले भने ।
दुवै संस्था मिलेर कुनै पनि इभेन्टस् वा कार्यक्रमहरु सञ्चालन गरिने सम्झौतामा समावेश गरिएको छ । यस्ता कार्यक्रम सञ्चालन गर्दा पर्यटन बोर्डले निगमलाई ‘पार्टनर एयरलाइन्स’को रुपमा साथ लिनेछ । निगमले विद्युतीय सञ्चार माध्यम, आमसञ्चार माध्यम र उपभोक्तामुखी कार्यक्रमका माध्यमले पर्यटन प्रवद्र्धनमा अगुवाई गर्नेछ भने आपसी समझदारीको आधारमा पर्यटन बोर्डको पनि सहभागिता रहनेछ । निगमले आयोजना गरिने सभा–समारोहका लागि बोर्डले निःशुल्क सभाकक्ष उपलब्ध गराउने छ ।

प्रवद्र्धनात्मक सामग्री उत्पादन, वितरण र प्रचारप्रसारका लागि दुवै संस्थाले मिलेर काम गर्ने सम्झौतामा उल्लेख छ । पारस्पारिक सहयोग सम्बन्धी यो सम्झौताले कोभिड–१९ को महामारीको चपेटामा परेको नेपाली पर्यटन तथा हवाई उड्डयन क्षेत्रमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


Facebook Comment


No ads found for this position