कुलो पुनःनिर्माण सम्पन्न

पाँचथर, १२ असार । पाँचथरको सराङडाँडा–५ मा नेवार कुलोको पुनःनिर्माण गरिएको छ । समुदाय व्यवस्थित सिञ्चित कृषि क्षेत्र अतिरिक्त सहयोग कार्यक्रमअन्र्तगत कुलोको चार किलोमिटर पुनःनिर्माण गरिएको हो ।

एसियाली विकास बैंकको रु दुई करोड ४८ लाखको लागतमा कुलो निर्माण गरिएको सिँचाइ विकास डिभिजन पाँचथरले जनाएको छ ।

कार्यालय प्रमुख सिनियर डिभिजन इन्जिनियर मेखनाथ शर्माले भन्नुभयो – “त्यस ठाउँमा कुलाको मुहानसमेत राम्रो भएकाले हामीले त्यस क्षेत्रका स्थानीयवासी लाभान्वित हुन सकुन् भन्ने उद्देश्य राखेर कुलाको पुनःनिर्माण गरेका हौँ ।”

अहिले कुलो निर्माण भएपश्चात् त्यस वडाका एक सय ८१ घरधुरी लाभान्वित हुने नेवार कुलो जलउपभोक्ता समितिका अध्यक्ष मणिकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “पहिल्यै यो कुलो पक्की नहुँदा पानी चुहिने, बाढी पहिरो आउँदा भत्किने समस्याले गर्दा हामीलाई समस्या थियो, अहिले यो कुलोको पुनःनिर्माण भएपछि धेरै सहज भएको छ ।”

कुलो निर्माण भएपछि अहिले हिउँदे, बर्र्खे दुईबाली धान हुने र अलैँचीखेतीको विस्तार, मकै, गहुँ तथा तरकारीखेती गर्न धेरै नै सजिलो भएको उहाँले बताउनुभयो ।


Facebook Comment


No ads found for this position