गुडिरहेको बसमा ढुङ्गा लाग्दा दुई घाइते

चितवन, १८ असार । नारायणगढ–मुग्लिन सडकखण्डको कविलास गाविस–८ घुमाउनेमा आज बिहान गुडिरहेको बसमा माथिबाट खसेको ढुङ्गाले लाग्दा बसका चालक र सहचालक घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनले दिएको जानकारीअनुसार गौरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख २१६७ नंको बसमा आज बिहान ३ः३० बजेको समयमा ढुङ्गा लागेको हो ।

उक्त घटनामा परी बसका चालक सर्लाही राजघाट–२ निवासी ४० वर्षीय टङ्ककुमार मोक्तान र बसका सहचालक रौतहट चन्द्रनिगाहपुर नगरपालिका–१० निवासी २३ वर्षीय मनोहरकुमार चौधरी घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।

यसअघि शुक्रबार पनि उक्त सडकखण्डको चण्डीभञ्ज्याङ गाविस–५ खहरेखोला नजिक ट्रकमाथि ढुङ्गा खस्दा ट्रकका चालक र सहचालक घाइते भएका थिए ।

त्यसअघि पहिरो पन्छाउने क्रममा डोजरसमेत पहिरोले पुरिएर क्षतिग्रस्त भएको थियो । त्यस्तै, केही दिनअघि एउटा कार पनि पहिरोले पुरिएको थियो ।

सडक फराकिलो बनाउने कार्य भइरहेको उक्त सडकखण्डमा भित्ता काटिएका कारण पानी पर्नासाथ पहिरो तथा ढुङ्गा खस्ने गर्दछ ।


Facebook Comment


No ads found for this position