मदन भण्डारी राजमार्ग अवरुद्ध
हेटौँडा, १८ असार । मदन भण्डारी राजमार्गमा पर्ने हेटौँडा–कुलेखानी सडक खण्डको सिस्नेरी–३ अमलडाँडामा आज बिहान परेको वर्षाले पहिरो जाँदा हेटौँडा–कुलेखानी हुँदै काठमाडाँै जाने यातायात सेवा ठप्प भएको छ ।
हेटौँडाबाट कुलेखानी हुँदै काठमाडाँैँ जाने सयौँ जिप, कार मिनीबस लगायत सवारीसाधन अब फाखेल सडकबाट चल्न थालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकोछ ।
फाखेल सडकखण्डमा पर्ने कुलेखानी गाविस–८ सुकौराडाँडामा आज अपराह्न पहिरो जाँदा त्यहाँ पनि काठमाडौँ –हेटौँडा काठमाडाँैतर्फको यातायात सेवा अपराह्न २ बजेदेखि अवरुद्ध भएको फाखेल प्रहरी चौकीले जनाएको छ ।
अहिले फाखेलको सुकौराडाँडामा हेटौँडा एवम् काठमाडाँैबाट आएका करिब ६०० सवारी साधन अलपत्र परेको नारायणी यातायात व्यवसायी सङ्घका अध्यक्ष बद्रीप्रसाद चौलागाईँले राससलाई जानकारी दिनुभयो ।
सिस्नेरी गाविसको अमलडाँडा एवम् कुलेखानी गाविसको सुकौराडाँडामा गएको पहिरो हटाउन अहिले प्राविधिक सहित डोजर त्यसतर्फ पठाइसकिएको छ । आज राति १० बजेदेखि नै सो अवरुद्ध यातायात सेवा चालु गर्ने लक्ष्य राखिएको मकवानपुरका प्रजिअ डा मानबहादुर विश्वकर्माले राससलाई बताउनुभयो ।