पर्यटनले उकासेको काउलेपानी

राजाराम कार्की
काउलेपानी (लमजुङ), २५ असार । हात जोडेर हार्दिकता देखाउन लजाउने लमजुङ, काउलेपानीका महिलाहरु टुटेफुटेकै अङ्ग्रेजी बोलेर भए पनि पर्यटकलाई आकर्षित गरिरहेका छन् ।
kaulepani lamjunतिलमाया गुरुङ पाँच वर्ष पहिले आफ्नो गाउँमा आएका गोरा पर्यटक देख्नासाथ हच्किनुहुन्थ्योे तर अहिले गोरासँग निर्धक्क टुटेफुटेको अङ्ग्रेजी बोल्नुहुन्छ र उहाँलाई पारिवारिक न्यानो आतिथ्यताका साथ सम्मान सत्कार गर्नुहुन्छ । गरिखान खोज्नेका लागि भाषा खासै समस्या होइन रहेछ भन्ने ज्वलन्त उदाहरण यहाँका महिला बनेका छन् । केही वर्ष पहिले गोरो छाला भएका मानिस गाउँ प्रवेश गर्दा लजाउने गर्थे ।
ऐतिहासिकस्थल काउलेपानीमा राजा यशोबद्र्धनको दरबार यथावत् छ । दरबारको ऐतिहासिक पक्ष र मौलिकताको अवलोकन गर्न आउने गरेका पर्यटक देख्दा भाग्ने महिला अहिले आफैँले होमस्टे (घरबास) सञ्चालन गरेपछि पर्यटकसँग रमाउने गरेका हुन् । लमजुङ जिल्लाको मुख्य सहर बँेसीसहर हो भने काउलेपानी गाउँसहर हो । राजा कुलमण्डन शाहका सन्तान जाडामा बेँसी झर्ने र गर्मीमा काउलेतर्फ बसाइँ सर्ने हुँदा लमजुङलाई बँेसीसहर र काउलेपानीलाई गाउँसहर नाम रहन गएको हो भन्ने भनाइ छ ।

काउलेपानीमा कुल २५ घरधुरी छन् । तीमध्ये १४ घरधुरीले घरबास सञ्चालनमा ल्याएका छन् । प्रायः गुरुङ परिवारको बसोबास रहेको सो गाउँमा अन्य जातजातिका मानिसको बसोबास नगण्य छ । पाहुनाको सम्मानसत्कारबाट आफ्नो जीवन गुजारा गरेका यहाँका जनताको प्रमुख पेसा कृषि हो ।

नेपाल टेलिभिजन, लमजुङका पत्रकार परमेश्वर अधिकारीका अनुसार काउलेपानीका युवा गाउँबाट पलायन भइरहेका अवस्थामा सरकारले नेपाल उद्योग वाणिज्य महासङ्घमार्फत ‘एक गाउँ एक उत्पादन’ (ओभिओपी) कार्यक्रमका रुपमा ‘कृषि पर्यटन’ लागू गरेपछि यहाँका बासिन्दाले कृषिलाई पर्यटन सँगसँगै अघि बढाएको बताउनुहुन्छ । ओभिओपी कार्यक्रमले खेतबारी बाँझो छैन । अर्कातर्फ सहर पलायन हुनबाट महिलालाई जोगाएको छ भने घरपरिवारको हेरचाहमा महिलाको प्रत्यक्ष संलग्नता भई निर्णय गर्ने शक्तिको विकास भएको छ ।

कृषि पेसाबाट मात्र जीवन नचल्ने रहेछ भन्ने महसुस गरी अन्ततः घरबासमार्फत कृषि पर्यटनलाई अगाडि बढाउँदा यहाँ उत्पादन हुने कृषि वस्तुको बजार प्रवद्र्धन भई दोहोरो फाइदा पुगेको काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष देउबहादुर गुरुङले बताउनुभयो । दूध, घिउ मोही, दही, विभिन्न तरकारी, गुन्द्रुक, कर्कलो, पिँडालु, सिस्नु, लट्टे, बेथे, निउरो लगायत जैविक तरकारी बनाई पर्यटकलाई खुवाउने गर्दा कृषि उत्पादनको खपत बढ्न गई आम्दानीमा दोब्बर वृद्धि भएको छ । “होमस्टे सञ्चालनमा नरहँदा उक्त वस्तु गाउँमा सडेर जाने गरेको थियो” होमस्टे– ९ का सञ्चालक लक्ष्मी श्रेष्ठ बताउनुभयो ।

काउलेपानी घरबासमा आन्तरिक तथा बाह्य पर्यटकलाई कुनै भेदभाव छैन । बिहानको नास्तादेखि रातको खाना एवम् शैय्या समेत गरी दैनिक प्रव्यिक्ति ९०० भुक्तानी गरे पुग्छ । यहाँ आउने पर्यटकको सरदर बसाइँ दुई दिनको छ । घरबास आउने पर्यटकको सङ्ख्या वर्षैपिच्छे बढिरहेको छ । विसं २०६८ देखि सुरु भएको यहाँको घरबास यो वर्ष एक हजार १०० पर्यटक आएका छन् । एकघर होमस्टे सञ्चालकले करिब रु पाँच लाख बचत गरेको बताउनुहुन्छ–होमस्टे–६ का सञ्चालक धनकुमारी गुरुङ । ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमका कार्यक्रम संयोजक तथा नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य दिलसुन्दर श्रेष्ठका अनुसार यहाँका १४ घरधुरी परिवारका महिलाले पाहुनालाई रासायनिक होइन जैविक कृषि उत्पादनको स्वाद चखाउँछन् ।

लमजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा पर्यटन व्यवसायी रामकुमार श्रेष्ठ पारिवारिक वातावरणमा पर्यटकलाई न्यानो आतिथ्यता दिनु तथा लोपोन्मुख गुरुङ नृत्य प्रदर्शन गर्नु यहाँको घरबासको मौलिक विशेषता हो भन्नुहुन्छ । काउलेपानी गाउँसहर नगरपालिकाको वडा नं १ मा पर्छ । अधिकांश गुरुङ समुदायको बसोबास रहेको यो गाउँको टोलमा युवाको बसोबास शून्यप्रायः छ । लमजुङको बँेसीसहरबाट पूर्व झन्डै आठ किमी दूरीमा काउलेपानी पर्छ । काउलेपानी डाँडाबाट लमजुङको घलेगाउँ स्पष्ट देखिन्छ ।

काउलेपानी तत्कालीन राजा कुलमण्डन शाहको गर्मी मौसममा बसोबास गर्ने बासस्थान हो । काउलेपानी ऐतिहासिक महत्वका कारण आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य थलो बन्दै गएको छ । यहाँ अमेरिका, बेलायत, भारत, चीन, डेनमार्क लगायत देशबाट आन्तरिक पर्यटकको आवागमन छ ।


Facebook Comment