स्वर्गीय राजा वीरेन्द्रको जग्गा भाडाबाट सरकारलार्इ ४० करोड आम्दानी, यी हुन् भाडामा दिएका जग्गा

पवन तिमिल्सिना
सरकारले स्वर्गीय राजा वीरेन्द्र शाह र  उनका परिवारको नाममा रहेको जग्गाको भाडा वापत नौ वर्षमा ४० करोड रुपैयाँ आम्दानी गरेको छ ।

वीरेन्द्र र उनको परिवारको सम्पत्ति खोजबिन गर्दै भाडामा लगाएर सरकारले ४० करोड आम्दानी गरेको हो । २०५८ साल जेठ१९ गते राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्रको बंशनाश भएको थियो ।

गणतन्त्र स्थापना भएपछि सम्पत्ति खोजबिनका लागि उच्चस्तरीय टोलीनै बनाएको थियो । स्वर्गीय वीरेन्द्रको सम्पत्तिको व्यवस्थापन नेपाल ट्रष्टको कार्यालयले गर्दै आएको छ ।

नेपाल ट्रष्टका सूचना अधिकारी अशोकप्रसाद भट्टराईका अनुसार प्राइम ठाउँमा जग्गा भएकोले भाडा बापत राम्रो आम्दानी भएको हो । उनका अनुसार ट्रष्टले खोजेर पत्ता लागेको स्थानमा होटल, स्वास्थ्य संस्था, व्यापारिक भवन बनाउन भाडामा दिने क्रमलार्इ तीब्रता दिइएको छ ।

ट्रस्टको स्वामित्वका जग्गाहरु बुट (बिल्ड, अपरेट एण्ड ट्रान्सफर) मोडेलबाट भाडामा दिइएको उनले बताए ।


गोकर्ण फरेष्ट रिसोर्ट
२०६७ सालमा ट्रस्टले एलएम सुविर ब्रदर्श (नेपाल) प्रालीलाई गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्टको जग्गा लिजमा दिएको थियो।  रिसोर्टको तीन हजार नौ सय ७१ रोपनी जग्गा सन् २०२५ सम्मका लागि लिजमा दिइएको छ। रिसोर्टबाट वार्षिक दुई लाख ६० हजार अमेरिकी डलर आम्दानी हुनेगरेको ट्रस्टले जानकारी दिएको छ ।

काठमाडौं प्लाजा
२०५० सालमा ट्रस्टले कमलादीस्थित काठमाडौं प्लाजाको भवन कान्सेप्ट डेभलपर्स प्रालीलाई लिजमा दिएको थियो। दुई रोपनी चार आना क्षेत्रफल रहेको यसको लिज अवधि २०७७ सालसम्म रहेको छ। २०६७ सालदेखि २०७२ सालसम्म यसको वार्षिक भाडा ६१ लाख रुपैयाँ रहेको थियो। अहिले भने बढाएर वार्षिक ७५ लाख रुपैयाँ पुर्याइएको छ ।
kathmandu plaza
लाजिम्पाट
सन् २००५ मा ट्रस्टले लाजिम्पाटको पौने सात रोपनी जग्गा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाललाई लिजमा दिएको थियो। उक्त जग्गामा बैंकले दुई तल्ले भवन बनाएको छ । सम्झौता अनुसार बैंकले यो जग्गाको भाडा वर्षको ९३ लाख ४२ हजार २१६ रुपैयाँ बुझाउनु पर्छ ।  सन् २०१२ देखि २०१४ सम्म ७५ लाख ५६ हजार एक सय ४८ रुपैयाँ बुझाएको थियो भने २०१६ सम्म ८४ लाख ६ हजार ६ सय ४८ रुपैयाँ वार्षिकरुपमा ट्रस्टलाई तिर्दै आएको छ।

टेकुस्थित बिजनेस पार्क
१९ रोपनी १२ आना क्षेत्रफलमा रहेको टेकुमा रहेको जग्गा टाउन डेभलपर्स प्रालिलाई बिजनेश पार्क निर्माणका लागि लिजमा दिइएको थियो। यसको लिज अवधि २०५३ सालदेखि २०८३ सम्म रहेको छ। २०६९ सालदेखि हालसम्म कम्पनीले वार्षिकरुपमा ३० लाख रुपैयाँ ट्रष्टलाई बुझाउँदै आएको छ। अर्को वर्षदेखि कम्पनीले चार वर्षसम्म वार्षिक ४० लाख रुपैयाँ बुझाउनु पर्नेछ।

कालिमाटी स्थित सोल्टी आउटर कम्प्लेक्स
ट्रस्टले कालिमाटीको पाँच रोपनी ६ आना दुई पैसा जग्गामा रहेको सटर भाडामा दिएको छ। सो सटर सोल्टी आउटर कम्प्लेक्सले चलाउँदै आएको छ। उक्त पाँच वटा सटर बापत कम्पनीले वार्षिक १५ लाख ४५ हजार ६ सय रुपैयाँ बुझाउँदै आएको छ।

सार्वजनिक खरीद तथा अनुगमन कार्यालय
राजधानीको रेडक्रसमार्गमा रहेको कित्ता नम्बर ३५ को जग्गामा रहेको दुई तल्ले भवन सार्वजनिक खरीद तथा अनुगमन कार्यालयले भाडामा लिएको छ । ट्रष्टले बार्षिक रुपमा कार्यालयबाट १२ लाख रुपैयाँ भाडा लिने गरेको छ।

गरिबी निवारण कोष
३५ नम्बर कित्ताको जग्गामा रहेको दुई तल्ले भवन ट्रष्टले गरिबी निवारण कोषलाई भाडामा दिएको छ । त्यसबापत कोषले मासिक एक लाख ८६ हजार रुपैयाँ तिर्ने गरेको छ।

कमलादीमा केयुकेएल
ट्रष्टको कमलादी स्थित बाह्र आना जग्गामा रहेको दुई तल्ले भवन काठमाडौं उपत्यका खानेपानी लिमिटेडले भाडामा लिएको छ। केयुकेएलले महिनावारी ट्रष्टलाई ५५ हजार आठ सय ७३ रुपैयाँ भाडा बुझाउँदै आएको छ।

चल सम्पतीको हकमा ५५ हजार थान सेयर तथा सेयर बापत लाभांस र  दस लाख रुपैयाँ नगद रहेको ट्रस्टले जानकारी दिएको छ। ट्रष्टमा एक लाख ३० हजार अमेरिकी डलर र ४६ हजार पाउण्ड स्टर्लिङ वीरेन्द्रको परिवारको नाममा भेटिएको थियो । ट्रष्टले अहिलेसम्म वीरेन्द्र र उनको परिवारको नाममा २१ हजार पाँच सय रोपनी जग्गा भेटेको छ ।

ट्रष्टले  केही दिनअघि हेटौंडामा रहेको जग्गा लिजमा दिन सार्वजनिक सूचना जारी गरेको छ । नेपाल ट्रस्टले हेटौंडा नगरपालिकामा रहेको यसको स्वामित्वको एक विघा १९ कठ्ठा जग्गा लिजमा दिने भएको हो । इच्छुक कम्पनीले तीन वर्षको निर्माण अवधि सहित ३० वर्षको लागि भवन निर्माण गरी लिजमा लिनुपर्नेछ ।

लिजमा लिएबापत कम्पनीले उक्त जग्गामा कम्प्लेक्स / साँस्कृतिक / स्वास्थ्य, शिक्षा र रिसोर्ट होटल सेवा प्रदान गर्ने भवन निर्माण गर्न सक्नेछन्। हाल सो जग्गामा कान्ती ईश्वरी गृहको मुख्य भवन लगायतका भवनहरु रहेको छ। लिजमा लिने कम्पनीले कान्ती ईश्वरी गृहको मुख्य भवन बाहेकका अन्य भवनमात्र भत्काउन पाउने ट्रस्टले जानकारी दिएको छ।
भौतिक संरचनाहरु भत्काइएबापत कम्पनीले ट्रस्टलाई न्यूनतम आठ लाख रुपैयाँ तिर्नुपर्नेछ।

पोखरा, बालाजु र चितवनमा पनि ट्रष्टले लिजका लागि सम्झौता गर्ने तयारी गरेको छ। जसबाट वार्षिक एक करोड ७५ लाख रुपैयाँ भाडा उठ्ने ट्रष्टले अनुमान गरेको छ।

स्वर्गीय राजा वीरेन्द्रको नामका जग्गा अझैपनि खोजबिन कार्य भइरहेको र चल सम्पत्ति अपेक्षित रुपमा प्राप्त गर्न नसकेको ट्रष्टले बताएको छ।

के हो त बिओटी मोडल ?
निर्माण, सञ्चालन र हस्तान्तरण अबधारणा अनुसार जग्गा भाडामा दिइएको छ । यो मोडल अनुसार कम्पनीले जग्गा लिजमा लिनका लागि निर्माण गरिने भवनको अवधारणा डिजाइन, नक्सा, लागत अनुमानसहित को प्रस्ताव पेस गर्नुपर्नेछ।
जसअनुसार ट्रस्टले कम्पनीसँग लिज अवधि सम्झौता गर्छ। सम्झौता पछि तीन वर्षमा भवन निर्माण गर्नुपर्छ। त्यसपछि ३० वर्षसम्म ट्रस्टलाई भाडा बुझाएर कम्पनीले भवन सञ्चालनमा ल्याउछ। लिज अवधि समाप्त भएपछि सो भवन ट्रस्टको स्वामित्वमा जान्छ। बिजमाण्डू


Facebook Comment


No ads found for this position