पहिरो खसेर तमाेर नदी थुनिएपछि स्थानीयवासी त्रासमा

खगेन्द्र अधिकारी
२६ असार, ताप्लेजुङ । सावादिन गाविस पट्टिको खोला नजिकको नाक्ला भिर पल्टिएर तमोर नदी थुनिएको छ। नदी थुनिएपछि फुरुम्बु गाविसमा पर्ने मितलुङ बजार जोखिममा परेको छ। यसले तमोर नदीको तल्लो तटीय भागमा रहेका क्षेत्र नं २ का प्रमुख दुई व्यापारिक केन्द्र हान्द्रुङ र दोभान तथा माथिल्लो भागमा रहेको सिंवा बजारमा समेत प्रभाव पार्ने देखिएको छ।
तमोर नदी नजिकको सावादिन गाविसतर्फको भागमा पहिरो जाँदा नदी थुनिएको हो। मितलुङमा रहेका शिक्षक चन्द्र तामाङका अनुसार बजारको तल्लो भाग पूरै थुनेर पानी बस्तीतिर पस्न लागेको बताए। नदी थुनिएर बनेको पोखरीको माथिल्लो भागबाट पानी निकासा हुन थालेपनि पहिरो झर्ने क्रम जारी रहेकाले बस्ती जोखिममा परेको उनले बताए। त्यस क्षेत्रमा २१ घरधुरी छन्।
त्यस्तै हान्द्रुङका २५ र दोभानमा ६० घर पनि उच्च जोखिममा छ। यता, जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख इन्सपेक्टर शैलेन्द्रकुमार यादवले हान्द्रुङ र दोभानका बासिन्दालाई सतर्क रहन खबर गरिएको जानकारी दिए। ‘मिलतुङ क्षेत्रमा प्रहरी परिचालन गरेका छौं। जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सार्न सहयोग पनि गरिरहेका छौं,’ उनले भने।