आयल निगम १३ वर्षपछि ऋणमुक्त हुँदै

२६ असार, काठमाडौं । आयल निगम १३ वर्षपछि आइतबार ऋणमुक्त हुँदैछ । निगमले आइतबार सरकारको १ अर्ब ४१ करोड रुपैयाँ ऋण चुक्ता गर्दैछ ।यो ऋणचुक्तापछि निगम ऋणमुक्त हुनेछ ।

NEPAL-OIL-PATHLAIYA-DEPOTनिगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेका अनुसार सरकारको ८० करोड ऋण र ब्याज वापतको ६१ करोड रुपैयाँ आइतबारनै तिरिनेछ ।आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धि भएपछि आर्थिक वर्ष २०५९/६०सालदेखि ऋण लिएको थियो । अन्तर्राष्ट्रय बजारमा कच्चा तेलको मूल्य आकासिएको बेलामा निगमको ऋण ३६ अर्ब ८६ करोड ७० लाख रुपैयाँसम्म पुगेको थियो । अन्तर्राष्ट्रय बजारमा पछिल्लो समयमा कच्चा तेलको मूल्य प्रतिब्यारल ३० अमेरिकी डलरसम्म पुगेको थियो । अहिलेपनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल ५० डलर भन्दा कमनै छ ।

‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेको र हामीले पनि निगममा सुधार गरेकोले ऋण तिर्न सक्षम भएका हौं, उनले बिजमाण्डूसँग भने, यो निगमसँगै जोडिनुभएका सबै उपभोक्ताका लागि सुखद विषय हो ।’ उनका अनुसार ऋणमुक्त भएपछि निगमलाई तेलको भण्डारण बढाउने र नयाँ डिपो बनाउने लागि बाटो खुल्छ। निगमले भण्डारण क्षमता बढाउने योजनालार्इ तीब्र रुपमा अघि बढाएको जानकारी पनि उनले दिए।

उनका  अनुसार पाँचखाल, त्रिशुली र तनहुँमा पेट्रोलियम भण्डारणको लागि काम सुरु हुनेछ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवार्इ इन्धनको क्षमता पनि बढाउने तयारी गरेको छ ।  वाहेक निगम र साल्ट ट्रेडिङ मिलेर ग्यास भण्डारण र ग्यास प्लान्ट राख्ने प्रारम्भिक योजना समेत अघि बढेको छ । घिमिरेका अनुसार आर्थिक वर्ष २०५९/६०सालदेखि ऋण लिन थालेको र त्यो बढ्दै गएर ३६ अर्ब ८६ करोडसम्म पुगेको थियो ।

उनले सुरुवातमा विभिन्न बाणिज्य बैंकबाट ऋण लिइएको बताउँदै पछि सरकारी ऋण समेत लिएको जानकारी दिए । आयल निगमको ऋण चुलिँदै गएपछि सरकारी स्वामित्वका कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले ऋण दिन आनकानी समेत गरेका थिए ।

तेल ल्याउन निगमलार्इ २०६४ असोज २९ गते अर्थ मन्त्रालयले ५० करोड रुपैयाँ दिएको थियो। त्यही वर्षको माघ १७ गते ५० करोड रुपैयाँ दिएर एक अर्ब रुपैयाँ ऋण पुगेको थियो । निगमले त्यो बेलादेखिको सरकारी ऋण अहिले आएर तिरेको हो ।

निगमका अनुसार २०७१ पुस २३ गतेसम्म यो रकम बढ्दै गएर ३६ अर्ब ८६ करोड ७० लाख रुपैयाँ कायम भएको थियो।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक ब्यारलको ३० डलरसम्म घटेपछि निगम निरन्तर नाफामा छ। ऋण तिर्ने बहानामा निगमले अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन गरेन ।


Facebook Comment


No ads found for this position