सङ्कटग्रस्त सिमसार क्षेत्रको संरक्षण हुँदै

बनेपा, २८ असार । काभ्रेपलाञ्चोकमा रहेका सङ्कटग्रस्त सिमसार क्षेत्रको संरक्षण हुन थालेको छ । सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता र जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोकको समन्वयमा जैविक विविधतामा प्रभावकारी ठानिएको सिमसार क्षेत्रको संरक्षण हुन लागेको हो ।
Kavreजिल्लाको हिले–जलजले सामुदायिक वनमा रहेको सिमसार क्षेत्रमा पोखरी निर्माण गरेर त्यसबाट जङ्गलमा रहेका जीवजन्तुलगायत मानिसलाई समेत पानीको आवश्यकता पूर्ति गर्न प्रभावकारी हुने जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोकका वन अधिकृत प्रेम खनालले जानकारी दिनुभयो ।

उहाँले यस वर्ष रु दुई लाख बजेट सिमसार क्षेत्रको व्यवस्थापनमा खर्च भएको उल्लेख गर्दै सिमसार क्षेत्रको अध्ययन र योजना निर्माणका लागि बजेट न्यून भएको बताउनुभयो ।

हिले जलजले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष वेदप्रसाद घिमिरेले वन उपभोक्ता समूह सिमसार क्षेत्र बढी रहेको वन समूह भएको जानकारी दिँदै करिब चार हेक्टर क्षेत्रफलमा रहेको सिमसार क्षेत्रमा अझै १० पोखरी निर्माण गर्न सकिने अनुमान गर्नुभयो ।

उहाँले सिमसार क्षेत्रमा निर्माण भएका पोखरीबाट जीवजन्तुका लागि पानीको आवश्यकता पूरा हुनेमा जोड दिँदै मानिसका लागि सिँचाइ गर्न सहयोग मिल्ने बताउनुभयो । आव २०७२÷७३ मा वन दशक कार्यक्रमअन्तर्गत वन कार्यालयले जिल्लामा सिमसार क्षेत्रको संरक्षणमा जोड दिएको छ ।

काभ्रेपलाञ्चोकको भिमखोरी, शिरआम्वोटे, उग्रचण्डीनाला, टुकुचानालालगायतका गाविसमा करिब १५० सिमसार क्षेत्र रहेका छन् ।

संरक्षणका लागि सिमसार क्षेत्रको अध्ययन पनि भएको छैन र योजना पनि निर्माण भएको छैन, जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोकका सहायक वन अधिकृत केबी थापाले भन्नुभयो ।


Facebook Comment


No ads found for this position