माओवादी केन्द्र सरकारबाट फिर्ता

२८ असार, काठमाडौं । नेकपा माओवादी केन्द्र ओली सरकारबाट मंगलबारसाँझ सम्ममा फिर्ता हुने भएको छ।माओवादी केन्द्रसँग विभिन्न चरणको वार्तामा संलग्न नेपाली कांग्रेसका नेता रमेश लेखकले माओवादी केन्द्र सरकारबाट आज साँझसम्ममा सरकारबाट फिर्ता हुने जानकारी कांग्रेसलाई दिएको बताए।सोमबार माओवादी केन्द्रका नेताहरूसँग भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता विमलेन्द्र निधिसँगै लेखक पनि उपस्थित थिए।
माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले केहीबेरमा नै माओवादी केन्द्रको निर्णय आउने बताए। यसबारे थप उल्लेख गर्न उनले चाहेनन्।माओवादी केन्द्रका अर्का नेता मणि थापाले भने एमालेसँग सम्बन्ध टुटिसकेको र कांग्रेसलाई आफूहरू सरकारबाट फिर्ता हुने जानकारी दिइसकेको बताए। ‘साँझसम्ममै औपचारिक निर्णय हुन्छ,’ उनले भने।