कांग्रेससँग लिखित कबुल गरेपछि माओवादीले सरकार छाडेको ,देउवा र प्रचण्डको ७ बुँदे सहमति

२८ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको केही घण्टा नबित्दै नेपाली कांग्रेस र माओवादीबीच भएको सातबुँदे सहमति सार्वजनिक भएको छ ।

सातबुँदे सहमतिमा माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका छन् । र, यसमा प्रयोग भएको भाषाले नै स्पष्ट गर्छ कि यो सहमति माओवादीले सरकारबाट समर्थन फिर्ता लिनुअघि नै तयार पारिएको हो ।prachanda-sherbahadurकांग्रेस र माओवादीबीच भएको सहमतिको सातौं बुँदामा कांग्रेस र माओवादीको संयुक्त सरकार गठन गर्ने उल्लेख छ । लगत्तै भनिएको छ, ‘यसका लागि माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिई आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने तथा प्रधानमन्त्रीको निर्वाचनका लागि आवश्यक सबै प्रक्रिया अवलम्बन गर्ने ।’सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गर्न माओवादीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कृष्णबहादुर महाराले दुई दलबीच सहमति भइसकेको दाबी गरे । तर, सहमतिबारे केही खुलाएनन् ।

कांग्रेस नेताहरुले भने माओवादी र कांग्रेसको बीचमा सहमति भएको औपचारिक रुपमा स्वीकार गरेका छैनन् । माओवादीका एक नेताले कांग्रेससँग लिखित सम्झौता भएको स्वीकार गर्दै बुधबार औपचारिक रुपमा सार्वजनिक गरिने बताएका छन् ।

‘लिक’ भएको सातबुँदे सहमतिको मस्यौदामा संविधानलाई लिएर देखा परेको असन्तुष्टिलाई सम्बोधन गर्न राजनीतिक सहमतिका आधारमा सीमांकनसहितका विषयमा संविधान संशोधन गर्ने उल्लेख छ ।

त्यसैगरी स्थानीय तह पुनःसंरचनसम्वन्धी आयोगले प्रतिवेदन बुझाएपछि स्थानीय, प्रदेश र केन्द्रको चुनाव गर्ने दुई दलको अर्को सहमति छ ।

तेस्रो बुँदा शान्ति प्रक्रियाबारे उल्लेख उल्लेख छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता सम्वन्धी आयोगको कानुनमा संशोधन गर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिने र जग्गा विवाद सहमतिमा समाधान गर्ने सहमतिमा उल्लेख छ ।

भूकम्पपछिको पुनर्निर्माणलाई तीव्रता दिने, कालोबजारी रोक्ने र देशलाई आर्थिक सम्बृद्धिको बाटोमा लैजाने पनि कांग्रेस र माओवादीको सहमति उल्लेख गरिएको छ ।

आइतबार बालुवाटारमा आयोजित सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री केपी ओलीले ओनसरीको च्याम्बरमा बसेर कांग्रेससँग सातबुँदे सम्झौता गरेको भन्दै माओवादीमाथि आपत्ति जनाएका थिए ।


Facebook Comment


No ads found for this position