नेपाल आउने पर्यटकको संख्यामा ३२ प्रतिशतले गिरावट तर राजस्वमा भने बृद्धि

रवीन्द्र शाही

सन् २०१५ मा नेपाल आउने विदेशी पर्यटकको संख्यामा ३२ प्रतिशतले गिरावट आएपनि त्यसबाट प्राप्त हुने राजस्वमा भने वृृद्धि भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार २०१४ को तुलनामा नेपाल आउने पर्यटकको संख्यामा २ लाख ५१ हजार १ सय ४८ जनाले कमी आएको छ।

सन् २०१४ मा ७ लाख ९० हजार १ सय १८ जना पर्यटक नेपाल आएका थिए। सन् २०१५ मा त्यो संख्या घटेर ५ लाख ३८ हजार ९ सय ७० जनामा सिमित भएको छ। हवाई यात्रा र भूमिगत यात्रा दुवै तर्फबाट आउने पर्यटकको संख्यामा गिरावट आएको छ।
tourist“संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार २०१४ को तुलनामा नेपाल आउने पर्यटकको संख्यामा कमी आएको छ। पर्यटकको संख्यामा ३२ प्रतिशतले कमी आएपनि गत वर्षका तुलनामा यस वर्षको राजस्व ५.५ प्रतिशतले बढेको छ। “
सन् २०१५ मा पर्यटनको मुख्य सिजनको समय अप्रिल भूकम्प आएको कारण पर्यटकको संख्यामा गिरावट आएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता तथा उपसचिव घनश्याम उपाध्यायले जानकारी दिए।
तर पर्यटकको संख्यामा ठूलो गिरावट आएपनि त्यसबाट प्राप्त हुने राजस्वा भने वृद्धि भएको छ। सन् २०१४ को तुलनामा २०१५ मा ५.५ प्रतिशतले राजस्व वृद्धि भएको छ। २०१४ मा पर्यटकबाट ४ लाख ७१ हजार ७ सय ६९ अमेरिकी डलर राजस्व प्राप्त भएको थियो। सन् २०१५ मा २६ हजार ६९ अमेरिकी डलरले बढेर ४ लाख ९७ हजार ८ सय ३८ पुगेको छ।
नेपालमा पर्यटकको औसत बसाईदर लम्बिएको र प्रतिपर्यटकबाट हुने प्रतिदिन आम्दानी पनि वद्धि भएको कारण राजस्व र समग्र आम्दानीमा सुधार भएको प्रवक्ता उपाध्याय बताउँछन् ।सन् २०१४ मा प्र प्रतिपर्यटकबाट हुने प्रतिदिन आम्दानी औसतमा ४८ अमेरिकी डलर भएकोमा २०१५ मा ६८.५७ पुगेको छ । ‘पर्यटकको खर्च र बसाईको दायरा फराकिलो हुनु भनेको नेपालमा गुणस्तरीय पर्यटकको आगमन हुन थाल्नु हो,’ उपाध्यायले भने।
पर्यटकको औसत बसाईको अवधिमा पनि वृद्धि भएको तथ्यांकले देखाएको छ। २०१४ मा १२.४४ दिन रहेको अवधि २०१५ मा बढेर १३.१६ दिन पुगेको छ । विभिन्न कारणले नेपालको पर्यटन खुम्चिएपनि गुणस्तरीय पर्यटकको संख्यामा वृद्धि भएसँगै पर्यटनको भविष्य सुन्दर भएको प्रवक्ता उपाध्यायले बताए। ‘नेपालको प्रतिपस्र्धी व्यवसाय भनेको पर्यटन हो र यसैबाट रोजगारी सिर्जना र गरिबी न्यूनिकरण गर्न सकिन्छ भन्नेतिर यसले फेरि पनि संकेत गरेको छ,’ उपाध्यायले सेतोपाटीसँग भने।
कुन गन्तव्यमा कति पर्यटक घटे?
तथ्यांकको आधारमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा पुग्ने गरेका छन्। सन् २०१५ मा ३ लाख ८४ हजार ३ सय २१ जना पर्यटक राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा पुगेका छन्। जुन अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले कम हो।
पशुपतिनाथ मन्दिरमा पुग्ने पर्यटकको संख्यामा पनि उल्लेख्यमात्रामा गिरावट आएको छ। अघिल्लो वर्षको तुलनामा ५३ प्रतिशतले कमी आएको उक्त क्षेत्र घुम्ने पर्यटक यस वर्ष ७८ हजार ६ सय ८० जनामात्र पुगेको पर्यटन मन्त्रालयले जानकारी दिएको छ।
२०१५ मा हुम्ला ट्रेकिङ गन्तव्यमा वृद्धि भएको छ। अघिल्लो वर्ष करिब ५ सयमात्र पुगेको उक्त गन्तव्यमा २०१५ मा १३ सय पर्यटक पुगेका छन्। तातोपानी नाका बन्द भएको कारण मानसरोवर जाने भारतीय पर्यटक हुम्लाबाट जान थालेपछि यो संख्यामा वृद्धि भएको हुनसक्ने प्रवक्ता उपाध्यायको ठम्याई छ।
सन् २०१४ को तुलनामा धार्मिक र ट्रेकिङ तथा पर्वतारोहण प्रायोजनको लागि नेपाल आउने पर्यटकको संख्यामा कमी आएको छ। २०१४ मा ९८ हजार पर्यटक धार्मिक प्रायोजनको लागि नेपाल आएका थिए। २०१५ मा त्यो संख्या घटेर १४ हजारमा सिमित भएको पर्यटन मन्त्रालयले जनाएको छ।
भूकम्पको कारण सगरमाथा तथा ट्रेकिङ रुटहरु असुरक्षित भएको भन्दै पर्यटक नआएको र सिमा अवरोधको कारण धार्मिक पर्यटकको संख्यामा कमी आएको मन्त्रालयका प्रवक्ता उपाध्यायले बताए। ‘नेपालमा धार्मिक प्रायोजनका लागि पर्यटक आउने भनेको भारतबाट हो जुन सिमा नाकामा अवरोध हुनाले प्रभावित भयो,’ सेतोपाटीसँगको कुराकानीमा उपाध्यायले भने।
कुन देशका पर्यटक बढी आए?
सन् २०१५ मा नेपालमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन्। अघिल्लो वर्षको तुलनमा घटी भएपनि ७५ हजार भारतीयले नेपाल भ्रमण गरेका छन्।
त्यस्तै चिनियाँ ६६ हजार र श्रीलंकाली ४४ हजार पर्यटक आएका छन्। अघिल्लो वर्ष ३७ हजार श्रीलंकालीले नेपाल भ्रमण गरेकोमा यो वर्ष बढेका छन्। नेपालमा सबैभन्दा बढी पर्यटक आउने देशको चौथो स्थानमा अमेरिका छ जहाँका ४ं२ हजार नागरिक नेपाल घुम्न आएका छन्। पाँचौमा थाइल्याण्ड छ जहाँका ३० हजार नागकिक नेपाल आएका छन्। नेपालको कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको तर्फबाट ४ प्रतिशत प्रत्यक्ष योगदान छ । सेतोपाटी


Facebook Comment


No ads found for this position