वायु सेवा निगमका ८ विमानमध्ये ६ वटा विमान भने उडान भर्न नमिल्ने

२८ असार, काठमाडौं । नेपाल वायुसेवा निगमसँग अन्तराष्ट्रिय र राष्ट्रिय उडान भर्ने ८ वटा विमान भएपनि अहिले भने दुई वटा मात्र संचालनमा छन्। राष्ट्रिय ध्वाजाबाहक नेपाल वायुसेवा निगमका ६ वटा विमान भने उडान भर्न नमिल्ने गरी थन्किएका छन्।जसमा अन्तर्राष्ट्रिय उडान भर्ने ४ मध्ये ३ वटा र राष्ट्रिय उडान भर्नेमा पनि चारमध्ये तीन विमान थन्किएको निगमका प्रवक्ता रामहरी शर्माले जानकारी दिए।
Nepal_Airlines_757-200M_9N-ACBअन्तर्राष्ट्रिय उडान भर्ने दुई बोइङ र दुई एयरबस गरी चारवटा विमान भएपनि दुवै बोइङ ग्राउन्डेड भएका छन् । त्यस्तै एउटा एउटा एयरबस पनि चरासँग ठोक्किएपछि केही समय थन्किएको छ। यसकारण नियमित उडानको गन्तव्यमा केही कटौती गर्न परेको शर्माले बताए।
साविकमा निगमले दैनिक सात गन्तव्यमा अन्तराष्ट्रिय उडान गरे पनि तीनवटा विमान थन्किएपछि अहिले दैनिक पाँच गन्तव्यमा मात्र उडान गरेको उनले बताए। निगमले रुट मिलाउँदै कहिले बैंगलोर र बैंकक, कहिले मुम्बइ र कतारको उडान कटौती गरेको छ। उडान कटौती भएपनि निगमले टिकट काटिसकेको आफ्ना यात्रुलाई असहज नहोस् भनी अन्य विमान कम्पनीसँग सहमति गर्दै सेवा भने दिइरहेको शर्माले बताए।
‘जहाजको कमी प्रमुख समस्या हो। अहिले हामीसँग दशवटा विमान भएको भए कसैलाई केही चासो हुने थिएन,’ शर्माले भने। उडान प्रभावित हुन थालेपछि जनमानसमा यसको प्रभाव देखिन थालेको उनले स्वीकारे। तर यात्रुको निगममाथिको विश्वास तत्कालै भने कम नहुनेमा आफूहरु विश्वस्त रहेको शर्माले बताए।
यात्रुलाई कुनै पनि प्रकारको असुविधा हुन नदिएकोले नेपाल वायु सेवा निगमप्रतिको विश्वासनीयतामा असर नपर्नेमा विश्वस्त रहेको शर्माको दाबी छ ।‘हाम्रा यात्रुलाई कुनै पनि प्रकारको असुविधा महसुस हुने दिने छैनौं। इन्टरनेल सिभिल एभिएसन अर्गनाइजेसन नियमअनुसार हामीले अरु एयरलाइन्स्मार्फत पनि सुविधा दिइरहेका छौं,’ शर्माले भने।
शर्माले काम नलाग्ने अवस्थामा पुगेको ग्राउन्डेड बोइङ ७५७ एसीए बिक्री गर्ने निष्कर्षमा पुगेको र त्यसको लागि प्रक्रिया अगाडि बढाईसकेको पनि सेतोपाटीलाई जानकारी दिए।
‘मर्मत गर्दा लाग्ने खर्च र बारम्बार आईरहने समस्या समाधानको लागि गर्नुपर्ने लगानीभन्दा बिक्री गर्दा नै फाईदा हुने निष्कर्षमा निगम पुगको छ र यो प्रक्रिया अगाडि बढिरहेको छ,’ उनले भने।उनका अनुसार अघिल्लो साता चरासँग ठोक्किएको एयरबस मर्मत गर्न अझै एक साताभन्दा बढी समय लाग्नेछ।‘नेपाल बाहिरबाट प्राविधिक तथा पाटपुर्जा ल्याउनुपर्ने भएकोले यसमा केही समय लाग्न सक्छ,’ शर्माले भने।
आन्तरिक उडानमा उही समस्याः
दुईवटा चिनियाँ जहाज ग्राउन्डेड भएको र अर्को ट्वीनअटर नियमित मर्मत सम्भारको लागि थन्किएपछि निगमको आन्तरिक उडान पनि एउटा ट्वीनअटरकै भरमा सञ्चालन भईरहेको छ। जहाज थन्किएपछि एउटाले भ्याउनेसम्म मात्र उडान भरिरहेको र सबै ठाउँमा नियमित उडान नभएको प्रवक्ता शर्माले बताए।
‘पोखरा, नेपालगञ्ज, भैरहवा लगायतका ठाउँमा नियमित उडान भर्न सकिरहेका छैनौं,’ शर्माले जानकारी दिए। जहाज अभावको कारण आन्तरिक तथा अन्तराष्ट्रिय उडान प्रभावित भइरहँदा यात्रुमा निगमको सेवाप्रति अविश्वास पैदा हुने अवस्था छ। अघिल्लो आर्थिक वर्ष मात्र तुलनात्मकरुपमा उडान हिस्सा बढाएको निगमको सेवा यस्तै भइरहेमा अझै खस्किन सक्ने देखिए पनि निगम भने सोचेजस्तो प्रभावित नहुनेमा ढुक्क छ ।‘टिकट काटेर एयरपोर्ट पुगेको यात्रु राकिनुपर्दा सामान्य असर त परिहाल्छ तर हामीले सकेसम्म यात्रुलाई सुविधा दिने प्रयत्न गरिरहन्छौं र समस्यामा पार्दैनौँ,’ शर्माले भने।


Facebook Comment


No ads found for this position