मेसी अपराधी होइनन्: अध्यक्ष जाभियर

मड्रिड- स्पेनिस लिगका अध्यक्ष जाभियर टेबाजले लियोनल मेसी अपराधी नभएको जनाउँदै बार्सिलोनाका स्टार ला लिगामै रहने खबरले आफू खुसी भएको बताएका छन्। ‘मेरो विचारमा मेसी अपराधी होइनन्। उनी ला लिगामै रहने खबर हामी सबैका लागि सुखद हो। यो खबरले मलाई खुसी दिलाएको छ,’ टेबाजले भने।

mesi49कर छलेको आरोपमा बार्सिलोना अदालतले मेसीलाई २१ महिना जेल सजाय सुनाएको थियो। अदालतको त्यो निर्णयविरुद्ध मेसीले अपिल गर्ने पनि टेबाजले बताए। बार्सिलोनाले सामाजिक सञ्जालमार्फत मेसीको समर्थनमा अभियान चलाएको दुई दिनपछि टेबाजले यस्तो प्रतिक्रिया दिएका हुन्।

‘हामी अहिले एउटा यस्तो विवादमा अल्भि्कइरहेका छौं, जहाँ एफसी बार्सिलोना र मेसीले करसम्बन्धी अपराध गरेको अभियोग झेलिरहेका छन्। तर वास्तविकता त्यस्तो होइन,’ बार्सिलोनाका प्रवक्ता जोसेप भाइभ्सले सोमबार भनेका थिए, ‘अन्यायपूर्ण व्यवहारको सिकार भइरहेका परिवारका एकजना सदस्यको पक्षमा बार्सिलोना क्लब उभिएको मात्र हो। मेसी र बार्सिलोनाले कुनै अपराध गरेको छैन। त्यसैले हामी उनको पक्षमा छौं।’

बार्सिलोनाले दुवै हात उठाएको मेसीको फोटोसँगै हामी सबै लियोनल मेसीसँग छौं भन्दै टि्वट गरेपछि बार्सिलोनाका लाखौं समर्थकले विश्व फुटबलका सबैभन्दा प्रतिभावान फुटबलरको समर्थनमा सामाजिक सञ्जाल रंगाएका थिए। बार्सिलोनाले आफ्नो भावना थप प्रस्ट पार्ने क्रममा ‘हामी सब मेसी हौं, हामी उनलाई कठिन अवस्थामा उनी एक्लो छैनन् भन्ने सन्देश दिन चाहन्छौं। सबै सदस्य, क्लबका समर्थक, खेलाडी, सञ्चारमाध्यम र खेलप्रेमीलाई यो अभियानमा साथ दिन हामी आह्वान गर्दछौं,’ भनेको थियो।

मेसी र उनका पितालाई कर छलेको आरोपमा अदालतले जेल सजाय सुनाए पनि स्पेनको नियमअनुसार उनीहरूले जेलमै बस्नुपर्दैन। हिंसात्मक बाहेकका अपराधमा पहिलोपटक दोषी ठहर भएर दुई वर्षभन्दा मुनिको जेल सजाय सुनाइँदा स्पेनमा जेल बस्नु नपर्ने व्यवस्था छ। चार दिनसम्म चलेको सुनुवाइपछि अदालतले पाँचपटकका फिफा विश्व वर्ष खेलाडी भइसकेका २९ वर्षे मेसीलाई २० लाख ९० हजार तथा उनका पितालाई १६ लाख युरो जरिवाना गर्ने निर्णय सुनाएको थियो।


Facebook Comment


No ads found for this position