यस कारण खुशी हुन्छ चीन म संग: प्रचण्ड

१ साउन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो निवास लाजिम्पाटमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू प्रधानमन्त्री हुँदा चीन झन खुशी हुने बताएका छन्। प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको सरकारलाई समर्थन फिर्ता गरे लगत्तै सरकारबाट हट्नुको कारण बारे प्रष्टाउने क्रममा उनले यस्तो तर्क गरेका हुन् ।

prachanda4‘चीन र नेपालबीचमा हिजो जे जति सहमति÷सम्झौताहरु भए, त्यसको प्रमुख पात्र मै हुँ। म र राजदूत (महेश मास्के) ले धेरै मेहनत गरेर चीनसँग पारवहन लगायतका सम्झौता सम्भव भएको हो। अहिले ओलीजीले सत्ता टिकाउन अब बन्ने सरकारले यी सम्झौता कार्यान्वयन हुँदैनन् भन्दै हिंड्नु भएको छ। यी सबै गलत र भ्रामक कुरा हुन’ उनले भने।

प्रचण्डले थप व्याख्या गर्दै भने, ‘म प्रधानमन्त्री हुँदा त चीन झन् खुशी हुन्छ । किनकी ओलीजी चीनबाट नेपाल नफर्कदैं चीनले मलाई धन्यवादको सन्देश (पत्र) पठाइसकेको थियो । चीन त्यति कच्चा राष्ट्र होइन, यति पनि कुरा नबुझ्ने । माओवादी–काँग्रेसको नेतृत्वमा सरकार भन्दा चीनसँग भएका सम्झौताहरु लागू गर्न अझ सजिलो हुन्छ।’

नयाँ सरकारका चार प्राथमिकता

प्रचण्डले नयाँ बन्ने सरकारका चार प्राथमिकताको बारेमा पनि व्याख्या गरे । उनले शान्ति प्रक्रिया पूरा गर्ने, संविधान कार्यान्वयन, मधेस आन्दोलनको सही समाधान र भूकम्पले प्रभावित ठाउँको पुर्ननिर्माण सरकारका प्राथमिकतामा हुने जनाए ।

संविधान लागू गर्ने सन्दर्भमा उनले चुनावलाई दुई चरणमा सम्पन्न गर्न सकिने बताए । संविधान अनुसार १८ महिनाभित्र गाउँपालिका, नगरपालिका, प्रदेश सभा र संसदीय चुनाव गरिसक्नुपर्ने अवस्था छ । उनले यसबारे प्रष्ट पार्दे भने, ‘गाउँपालिका र नगरपालिकाको चुनाव एकै पटक गर्न सकिन्छ । संघीयसभा र संसदीय चुनावलाई पनि अर्को पटकमा गरी दुई चरणमा सबै चुनाव गराउन सकिन्छ ।’

‘राष्ट्रिय सहमतिको प्रयास अझै हुन्छ’

प्रचण्डले राष्ट्रिय सहमतिको सम्भावना अझै कायम रहेको बताए । भने ‘राष्ट्रिय सहमतिका लागि एमाले, काँग्रस र माआवादीले प्रयास जारी राख्नुपर्छ।’ संविधान लागू गर्न र कतिपय राष्ट्रिय मुद्धाहरु हल गर्न एमालेको पनि साथ चाहिन्छ भन्दै उनले मधेसको माग पूरा गर्न पनि मुख्य तीन दलले साझा धारणा बनाउन जरुरी रहेको राय राखे ।

‘ओली षड्यन्त्र गर्दैछन्’

काँग्रेस,माओवादी र मधेसवादी दलहरुले समेत ओली सरकारका विपक्षमा मतदान गर्ने बताउँदासम्म राजीनामा नगर्नुमा ओली कतै षडयन्त्र त गर्दै छैनन् भन्ने प्रश्न प्रचण्डले उठाए । ‘छ साउनमा अविश्वासको प्रस्तावमाथि छलफल हुनेछ, अहिले ओली सरकार गठन प्रक्रिया संविधानले प्रष्ट पारेको छैन भन्दै अत्तो थाप्दैछन्। यसमा म कता–कता षड्यन्त्रको गन्ध देख्दैछु, उनले भने, ‘सरकार गठनमा कुनै समस्या छैन।’

सरकार विदेशीको इशारामा ढाल्ने खेल भएको आरोप छ नि ? भन्ने प्रश्नमा उनले प्रष्ट पार्दै भने, ‘पहिला हामीभित्र भएका समस्या समाधान गर्नु पर्छ । आन्तरिक एकता गरेर मात्र राष्ट्रियता बलियो हुन्छ। अरुलाई दोष दिएर आफ्नो कमजोरी लुकाउन मिल्दैन।’

सरकारमा वस्दाको सकस

प्रचण्डले सरकारमा बस्दा निकै समस्या झेलेको कथा पत्रकारहरुलाई सुनाए । ‘सरकार गठन गर्नुपूर्व १४ बुँदे सहमति गरियो। त्यसको कार्यान्वयनको त कुरै छाडैं, उल्टै ओली निकटका केही मान्छेबाट गोर्खाको फुजेल घटनालाई उचालेर ७६ वर्षको बृद्धलाई पक्राउ गर्ने काम भयो’ उनको भनाइ थियो । ‘ओखलढुङगामा पनि उस्तै गरी मुद्दा उचाल्ने काम भयो। देशैभरि यो क्रम चल्यो। हामी नै सत्तामा छौं, हाम्रै सहयोगमा प्रधानमन्त्री बनेका ओलीका मान्छे हामीलाई उल्टै सिध्याउँने भन्दै मुद्दा हाल्छन,अनौठौ खेल सुरु गरियो’ प्रचण्डले मलिनो अनुहारमा भने ‘हुतिहारा भएर सरकारमा बस्न सकिएन।’

सत्ता साझेदार दललाई कुनै पनि जानकारी र छलफल नगरीकन ओलीले सबै काम गर्ने गरेको आरोप उनको थियो । राष्ट्रपतिको भारत भ्रमण स्थगन र भारतस्थित नेपाली राजदूतको फिर्ती सम्बन्धमा पनि कुनै छलफल नभएको गुनासो उनको थियो ।

‘यतिमात्र होइन, त्यसपछि हाम्रो बीचमा नौ बुँदे र तीन बुँदे सहमति भयो । तीन बुँदे सहमति पनि लिखित नै हो । त्यसमा हस्ताक्षर मात्र गरिएको छैन’ उनको भनाइ थियो ‘माओवादीसँग भएका कुनैपनि सहमति ओलीले पालना नगर्ने र उल्टै देशव्यापी रुपमा मुद्दा व्यूँताउन थालेपछि भने माओवादीले एक स्वतन्त्र पार्टीको हैसियतमा सरकार छाड्ने निर्णय गरेको हो ।’ एमालेसँग भन्दा काँग्रेससँग शान्तिप्रक्रिया पूरा गर्न र मधेसको समस्या समाधान गर्न एजेन्डा मिलेकोले सहकार्यको थालनी गरिएको उनले बताए


Facebook Comment


No ads found for this position