कोरियामा कामदारको न्यूनतम् पारिश्रमिक ७.३ प्रतिशतले वृद्धि गर्ने , न्यूनतम् पारिश्रमिक मासिक १ लाख २७ हजार

निकुञ्ज तिवारी

१ साउन, काठमाडौं ।दक्षिण कोरियाले आगामी वर्ष सन् २०१७ का लागि ७.३ प्रतिशतले न्यूनतम पारिश्रमिक वृद्धि गर्ने भएको छ । बढेको ज्याला सन् २०१७ जनवरीदेखि डिसेम्बरसम्म लागू हुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । अघिल्लो मजदुरको पारिश्रमिकमा ८.१ प्रतिशत वृद्धि भएको थियो । ज्याला वृद्धिले कोरियामा कार्यरत नेपाली उत्साहित भएका छन् ।

Flag-Pins-Nepal-Japanन्यूनतम् पारिश्रमिक वृद्धि भएसँगै ईपीएसमार्फत कार्यरत आप्रवासी र तल्लो तहका मूलवासी गरी करिब ३० लाख ५० हजारभन्दा बढी कामदार लाभान्वित हुनेछन् । जसले ईपीएसमार्फत आउने १६ मुलुकका कामदार पनि लाभान्वित हुनेछन् । सरकार, मजदुर संगठन र व्यावसायिक प्रतिनिधिबीच न्यूनतम् पारिश्रमिक वृद्धि गर्न सहमति भएको हो । यो सहमति आगामी अगष्ट ५ मा संसद्बाट पारित हुनेछ । नयाँ पारिश्रमिक अनुसार मजदुरको ज्याला प्रतिघण्टा ६ हजार ४७० वन हुनेछ ।

यस वर्ष प्रतिघण्टा ६ हजार ३० (५.३१ अमेरिकी डलर) छ । सातामा ४० घण्टा (मासिक २०९ घण्टा) काम गर्ने कामदारले यस वर्षको न्यूनतम मासिक १२ लाख ६० हजार ६८३ मा (९२ हजार २९ वन बढेर) १३ लाख ५२ हजार ७१२ वन (१ लाख २७ हजार ४५० रुपैयाँ) पाउने छन् । त्यस्तै सातामा ४४ घण्टा काम गर्ने कामदारले यस वर्षको १३ लाख ६४ हजार १०३ मा (९९ हजार ५७९ वन बढेर) १४ लाख ६३ हजार ६८२ (१ लाख ३७ हजार ९०६ रुपैयाँ) पाउने छन् ।

ज्याला निर्धारण समितिको कार्यालय सेजन सीमा यसअघि १३ औं पटकसम्म बसेको बैठकले कुन निर्णय गर्न सकेको थिएन । तर, १४ औं बैठकले मतदान गरी ज्याला वृद्धिको टुंगो लगाएको हो । एसियाका १६ देशका युवाको आकर्षक रोजगारस्थल बन्दै गएको कोरियामा प्रत्येक वर्षको तलब वृद्धिले नेपाली श्रमिक उत्साहित बनेका छन् । यद्यपि कतिपय साना तथा घरेलु उद्योगमा कार्यरत आप्रवासी कामदारले भने न्यूनतम ज्याला पनि नपाउने गरेको बताएका छन् ।


Facebook Comment


No ads found for this position