सुन्न र बोल्न नसक्नेलाई टेलिकमको सहुलियत भिडियो कल सुविधा
२ साउन, काठमाडौं । नेपाल टेलिकमले बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि सहुलियत दरमा भिडियो कल सेवा उपलब्ध गराउन थालेको छ । टेलिकमको नेटवर्कभित्र मात्र यो सुविधा उपलब्ध हुने छ ।
टेलिकमले प्रतिमिनेट कर बाहेक ५० पैसामा भिडियो कल सुविधा उपलब्ध गराएको हो । यो योजनामा आबद्ध सिमहरुमा असार ३१ गतेदेखि नै सहुलियत दरको सेवा उपलब्ध गराउन थालिसकेको टेलिकमले जनाएको छ ।
बहिरा अपांगताको पहिचान खुल्ने कागजात सहित नेपाल टेलिकमको काउन्टरमा सम्पर्क गरी ९० रुपैयाँमा ५० रुपैयाँ टकटाइम भएको सिममार्फत यो प्याकेज प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।
यसैगरी २०६२/०६३ को जनआन्दोलनका घाइते एवं पूर्ण रुपमा शारीरिक अपांगता भएका ब्यक्तिहरुलाई एक पटकका लागि जिएसएम प्रविधिको प्रिपेड सिम वा सीडीएमए प्रविधिको रिमकाड एक/एक थान निःशुल्क उपलब्ध गराउने व्यवस्था टेलिकमले गरेको छ । यो योजना सोमबार (असार ३) देखि लागू हुनेछ ।
निःशुल्क सिमका लागि जनआन्दोलनका घाइतेहरुले नेपाल सरकारबाट जारी भएको परिचयपत्रसहित एक प्रति फोटो र नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ ।
शारीरिक अपांगता भएका व्यक्तिहरुले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, समाज कल्याण परिषदबाट जारी भएको परिचय पत्र (रातो कार्ड) सहित एकप्रति फोटो र आफ्नो नागरिकताको प्रतिलिपि पेश गर्नु पर्नेछ ।
निःशुल्क सिम वा रिमकार्ड उपलब्ध गराउने योजना आगामी २०७३ माघ मसान्तसम्म लागू हुने बताइएको छ ।कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ल्याएको यो योजनाले बोल्न र सुन्न नसक्ने ब्यक्तिहरु तथा जनआन्दोलनका घाइते एवं पूर्ण रुपमा अपांगता भएका व्यक्तिहरुलाई सहयोग पुग्ने अपेक्षा छ ।