यस्ता आरोप छन्, पहिलो समभामुख दमनाथ ढुगना देखी ओनसरी घर्तीमगर सम्मलाई

सइन्द्र राई

आफ्नो आग्रह नसुनी सभामुख ओनसरी घर्तीले अविश्वासको प्रस्ताव छलफल गर्न कानुनी रुपमा सहज हुनेगरी बैठक स्थगित गरेको भन्दै यतिबेला सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका सांसदहरु उनीप्रति छुब्द छन् । तर, सभामुखको भूमिकाप्रति गुनासो आएको अहिले मात्र होइन। ०४६ को परिवर्तनपछिका सबै सभामुखलाई कुनै न कुनै आरोप छ । पढौं कुन सभामुखप्रति कस्तो गुनासो थियो।

sabhamukhयस्ता छन् आरोप :

दमननाथ ढुंगाना (०४८–०५१)

०४६ को जनआन्दोलनबाट बहुदलीय व्यवस्था स्थापनापछि पहिलो पटक गठित व्यवस्थापिका–संसद्बाट निर्वाचित सभामुख दमननाथ ढुंगानाले प्रतिपक्ष नेकपा एमालेको उति धेरै आरोप खेप्न नपरे पनि पार्टीभित्रको आलोचनाबाट बच्न सकेनन्। उनलाई तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराईको भक्त बनेको आरोप पार्टी भित्रैबाट लाग्यो। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहेका बेला ‘टनकपुर सहमति नभई सन्धी’ भएकाले संसद्बाट अनुमोदन गराउने पक्षमा उभिएपछि कोइराला पक्षले ढुंगानालाई सभामुख नभई भट्टराईको कार्यकर्ता बनेको आरोप लगाए। कतिपयले यसैकारण कोइरालाले संसद् विघटन गरी आवधिक निर्वाचन घोषणा गरेको ठान्छन्।

रामचन्द्र पौडेल (०५१–०५६)

ठूलो दलका रुपमा संसद्मा पुगेको एमालेले सभामुख पौडेललाई गिरिजाप्रसाद कोइरालाको छायाँपात्रका रुपमा चित्रित गरे। महाकाली सन्धीका बेला पौडेलले एमाले फुटाउने भूमिका निर्वाह गरेको आरोप लगाए। पार्टी फुटेको रोषमा अहिले पनि एमालेका नेताहरुले पौडेललाई असफल सभामुखको बिल्ला भिराउन छाडेका छैनन्। सभामुखबाट फर्केपछि पुनः मन्त्री पद समेत खाएकाले पौडेलको आलोचना झन् बढी भयो। उनकै पालामा सरकार ढाल्न र बनाउन सांसद् खरिद–बिक्रीको चर्चासमेत चल्यो।

तारानाथ रानाभाट (०५६–०६३)

नेपाली कांग्रेसको उम्मेद्वार हुँदै सभामुख निर्वाचित रानाभाट पार्टी भित्रैबाट समेत असफल घोषित भए। माओवादी सशस्त्र आन्दोलन चलिरहेको समयमा दरबार हत्याकाण्ड र संसद् विघठनमा उनी विवादित बने भने कांग्रेस पनि फुट्यो। प्रतिपक्षमा रहेका एमाले र मालेले उनलाई कांग्रेस कार्यकर्ताको आरोप मात्रै लगाएनन्, कांग्रेसले राजावादीको आरोप समेत लगाए। संसद् विघठनपछि सडकबाटै संसद् चलाउन गरेको आग्रह लत्याएपछि उनलाई राजावादी समर्थकको आरोप लागेको थियो।

सुवासचन्द्र नेम्वाङ (०६३–०७२)

दोस्रो जनआन्दोलनपछि लगातार सुवासचन्द्र नेम्वाङ सभामुख रहे। पुनःस्थापित संसद्, पहिलो र दोस्रो संविधानसभामा उनी सभामुख थिए। एमालेका उम्मेद्वारका रुपमा सभामुख बनेका नेम्वाङले संविधानसभामा सभाध्यक्षको भूमिका समेत निर्वाह गरे। दुवै भूमिकामा रहेका नेम्वाङ सभामुखका रुपमा भन्दा ज्यादा सभाध्यक्षका रुपमा आलोचित मात्रै भएनन्, उनको पुत्ला दहन गर्ने अवस्था समेत बन्यो।

१४ जेठ ०६९ मा उनले संविधानसभा बैठक नबोलाएकै कारण पहिलो संविधानसभा विघठन भएको आरोप नेम्वाङमाथि लाग्यो। त्यसबेला अग्रसरता भन्दा मुर्तीजस्तो निरीह बनेर एमालेलाई लाभ हुनेगरी भूमिका निर्वाह गरेको आरोप माओवादी र मधेशी मोर्चाले लगाए। दोस्रो संविधानसभामा उनी अग्रसर भएर बैठक बोलाए तर त्यो पनि विवादमुक्त रहेन। माओवादी नेतृत्वको आन्दोलनकारी शक्तिलाई बेवास्ता गर्दै संविधान जारी गर्न बैठक बोलाइएको भन्दै ५ माघ ०७१ मा संविधानसभाभित्र कुर्सीकाण्ड नै भयो। ३ असोज ०७२ मा नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादीलगायत प्रमुख दलहरुको सहमतिमा संविधान जारी गर्न बैठक बोलाएर मधेसी मोर्चाको कुरा नसुनेको आरोप उनीमाथि अझै लागिरहेकै छ।

ओनसरी घर्तीमगर (०७२)

नेपालमा पहिलो महिला सभामुखको इतिहास रचेकी ओनसरी घर्तीमगर पनि विवादमुक्त रहन सकिनन्। एमालेसहितको गठबन्धनबाट सभामुख निर्वाचित घर्तीमगरले वर्तमान सरकार ढाल्न र नयाँ सरकार बनाउन सक्रिय भूमिका खेलेको आरोप लगाइएको छ। संसद्को नियमित कार्यसूची पर सार्दै सरकारप्रति परेको अविश्वासको प्रस्ताव पहिले पेस गर्ने निर्णय गरेर उनी विवादमा तानिएकी छन्।


Facebook Comment


No ads found for this position