प्रज्वल काफ्ले
२ साउन, काठमाडौं । चीनले कुनै पनि भौतिक पूर्वाधार र वैज्ञानिक चुनौती असम्भव छैन भन्ने लगातार प्रमाणित गरिसकेको छ। यसको थप एक उदाहरण हो, चीनको गुइझौ प्रान्तमा हालसालै निर्माण भएको फास्ट टेलिस्कोप (दुरबिन)।
विश्वकै सबैभन्दा विशाल र शक्तिशाली यस टेलिस्कोपको मुख्य उद्देश्य ब्रह्मान्डका अन्य ग्रहमा मानिसजस्तै बुद्धिमान जीव (एलियन) खोज गर्नु हो। हालै पत्ता लागेका गुरुत्वाकर्षण तरंग, ब्रह्मान्ड उत्पत्तिका सुरुआती समय लगायत समकालीन खगोलशास्त्रका अन्य महत्वपूर्ण विषय पनि यसले खोज गर्नेछ।
यो डिस–अन्टेना आकारको रेडियो टेलिस्कोप हो। यसको आकार झन्डै ३० फुटबल मैदान बराबर हुन्छ। ठूलो आकारको डिस बनाउनुपर्ने भएकाले यसलाई ठूलो तरकारी खन्याउने भाँडोजस्तो ढलान भएको ठाउँमा बनाउनुपर्ने थियो। त्यसैले प्राकृतिक ढलान भएको ग्रिनवाटर भन्ने एउटा विकट गाउँ पूरै विस्थापित गर्नुपरेको थियो। टेलिस्कोप वरिपरिको ठूलो क्षेत्र रेडियो तरंगबाट शान्त हुनुपर्छ। अर्थात् मानव बस्ती, मोबाइल, रेडियोहरूको प्रयोग बन्देज हुन्छ, ताकि दुर ग्रह–ताराहरूबाट आएका रेडियो तरंगमा अवरोध नआओस्।
फास्टको लागत करिब १.५ अर्ब युआन अर्थात् १८ करोड डलर हो। सन् २०११ मा निर्माण थालिएको फास्ट बन्न झन्डै ६ वर्ष लागेको थियो। यो चीनको राजधानी बेइजिङभन्दा दुई हजार किलोमिटर दक्षिण–पश्चिममा पर्छ।
दुरबिन भनेको दूर संसारबाट आएका तरंग थाप्ने बाल्टिनजस्तो हो। बाल्टिन जति ठूलो हुन्छ, त्यति नै धेरै सिग्नल बटुल्न सकिन्छ। जति धेरै सिग्नल जम्मा गर्न सकियो त्यति नै सटिक अनुसन्धान र खोज गर्न सकिन्छ। तर, फास्टभन्दा अत्यन्तै ठूलो डिस बनाउन र तिनले पठाउने डाटा अध्ययन गर्न कम्प्युटरको क्षमता लगायत अरू थुप्रै प्राविधिक चुनौती छन्।
फास्ट दुरबिन निर्माणका झलकहरू।
फास्ट एक रेडियो टेलिस्कोप भएकाले हामीले बुझेको–देखेको दुरबिनभन्दा अलिक फरक प्रकारको हुन्छ। सामान्य दुरबिनहरू नाटकघरमा आफ्नै आँखाले प्रत्यक्ष नाटक हेरेजस्तो हो भने रेडियो दुरबिनबाट हेर्नु भनेको घरमा डिस जोडेको टिभीमा सिनेमा हेरेजस्तो हो। त्यसैगरी सामान्य दुरबिनजस्तो फास्टको सहायताले नांगो आँखाले सोझै तारा वा ग्रहहरू देख्न सकिन्न। फास्टले बटुल्ने सिग्नल वा डाटालाई सफ्टवेरको मद्दतले विश्लेषण गरेपछि मात्र सबै देख्न सकिन्छ।
हाम्रो आकाशगंगामा सूर्यजस्ता मध्यम आकारका एक खर्ब तारा छन्। ब्रह्मान्डमा मोटामोटी एक खर्ब विभिन्न आकार प्रकारका आकाशगंगा छन्। त्यसैले, के अनुमान गर्न सकिन्छ भने पृथ्वीबाहेक अन्य ग्रहमा पनि मानवजति बुद्धिमान प्राणी हुने सम्भावना प्रचुर छ। ती दुरका आकाशगंगा र त्यहाँ जीवनको खोजी गर्नु फास्टको मुख्य उद्देश्य हो।
दुरका आकाशगंगाहरूमा जीव पत्ता लगाउने हामीसँग दुई उपाय मात्र छन्– हामी तिनीहरूसम्म पुग्ने वा ती हामीलाई खोज्दै यहाँ आइपुग्ने। हालसम्म पृथ्वीबाहेक हामीले अन्य कतै कुनै जीव फेला पार्न सकेका छैनौं। अर्थात्, आजको दिनसम्म हाम्रो सम्पर्कमा कोही बाहिरी ग्रहका जीव आइपुगेका छैनन्। फास्टले दूर ब्रह्मान्डबाट आएका रेडियो तरंग मापन गरेर एलियनहरूको खोजी गर्नेछ।
विशाल डिस र रेडियोशान्त ठाउँमा अवस्थित फास्ट दुरबिनले आगामी दिनमा अन्तरिक्ष अध्ययनमा अत्यन्त महत्वपूर्ण भूमिका खेल्नेछ। सदाझैं खगोलमा हुने नयाँ आविस्कारहरूले प्राकृतिक विज्ञानका अन्य विधामा पनि दुरगामी छाप पक्कै पर्नेछ।
हालसम्म भौतिकशास्त्रमा प्रदान गरिएका नोबेल पुरस्कारमध्ये छवटा त रेडियो टेलिस्कोपको माध्यम प्रयोग गरेर गरिएका अनुसन्धानहरूले प्राप्त गरेका छन्। तसर्थ, फास्टले पनि रेडियो खगोलशास्त्रमा क्रान्तिकारी खोजहरू गर्नेमा दुईमत नहोला। त्यसो भयो भने शितयुद्धपछिको अन्तरिक्ष दौडमा अमेरिकाको नासा, युरोपको इसाभन्दा चीनलाई आक्रामक रूपमा पहिलो स्थानमा पुर्याउने छ।(लेखक काफ्ले युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलिया, इन्टरनेसनल सेन्टर फर रेडियो एस्ट्रोनोमीका अनुसन्धानकर्ता हुन्।)