हिमालआरोहण राजस्वबाट मुलुकको अर्थतन्त्रको दरिलो बन्दै

सिबी अधिकारी

काठमाडौँ, ३ साउन । नेपाललाई विश्वसामु परिचित गराउने यहाँका विश्व चर्चित हिमशिखर नै हुन् । पर्वतारोहण र पदयात्राबाट नेपालको पर्यटनलाई विश्वसामु फैलाउन यिनको महत्वपूर्ण भूमिका छ । प्राकृतिक र भौगोलिक पहिचान बोकेका नेपालका हिमाल पर्यटनको माध्यमबाट मुलुकको अर्थतन्त्रको दरिलो आधार पनि बन्दै गएका छन् ।
climbingपर्यटन विभागको विवरणअनुसार चालु आर्थिक वर्षको २०७२÷७३ को जेठ मसान्तसम्म हिमाल आरोहणबाट रु २५ करोड ८५ लाख ७१ हजार राजस्व (सलामी दस्तुर) सङ्कलन भएको छ ।

यो २३ वटा हिमालमा आरोहणका लागि अनुमति लिएका स्वदेशी तथा विदेशीबाट सङ्कलन भएको रकम हो । यसमध्ये वसन्त ऋतुमा मात्रै रु २१ करोड ६८ लाख ७७ हजार ७६५ सङ्कलन भएको छ । यसमध्ये सगरमाथाबाट मात्रै वसन्त ऋतुमा रु १७ करोड ६८ लाख उठेको छ ।

विभागका लेखा अधिकृत रमेशकुमार अधिकारीका अनुसार पछिल्ला पाँच वर्षको अनुपातमा हिमालबाट उठ्ने राजस्व बढ्दै गएको छ ।

आव २०७०÷७१ मा सबैभन्दा बढी रु ४५ करोड १२ लाख राजस्व उठेको छ । क्रमशः आव २०६८÷६९ मा रु ३२ करोड ७५ लाख, २०६९÷७० मा रु ३५ करोड ३४ लाख, २०७१÷७२मा रु ३१ करोड २४ लाख राजस्व उठेको छ ।

यतिमात्र होइन हिमालसँग जोडिएको पदयात्रा, होटल, एयरलाइन्स आदि गरी लाखौँले रोजगारी पाएका छन् । नेपालमा सर्वोच्च शिखर सगरमाथासहित आठ हजारभन्दा बढी अग्ला आठ वटा हिमाल छन् ।

सगरमाथा, मनास्लु, कञ्चनजङ्घा, मकालु, अन्नपूर्ण चोयु, ल्होत्से, कञ्चनजङ्घालगायतका चर्चित हिमालबाट राज्यले राजस्व उठाउँदै आएको छ । सरकारले आरोहणका लागि ४१४ हिमाल खुल्ला गरेको छ ।

सगरमाथा आरोहणका सरकारले विदेशीका लागि प्रतिव्यक्ति करिब रु ११ लाख अर्थात् (११ हजार अमेरिकी डलर) सलामी दस्तुर लिन्छ ।

विभागका अनुसार नेपालमा पाँच हजारभन्दा बढी अग्ला आठ हजार ८४८ मिटरसम्मका कम्तीमा एक हजार ३१० वटा हिमचुचुराको पहिचान भएको छ । हालसम्म २२९ वटा हिमालमा मानव पाइला पुगिसकेका छन् । एक सय ८५ वटा हिमालमा अझै मानव पाइला पुगेको छैन ।

विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार वसन्त ऋतुमा ९८ आरोहण दलका एक हजार ३७५ जनाले हिमाल आरोहण अनुमति लिएका थिए । यसमध्ये ७४९ विदेशी र ६२६ नेपाली छन् । यीमध्ये ६१८ जनाले आरोहण गरेका छन् । तर दुई भारतीय दम्पती आरोही र दुई नेपाली शेर्पाको आरोहण विवादास्पद रहेकाले छानबिन भइरहेको विभागले जनाएको छ ।

यो मौसममा ३०७ नेपाली र ३०७ विदेशीले सगरमाथासहितका २३ वटा हिमाल आरोहण गरेका छन् । जसमा नेपालसहित ४० वटा देशका ५५ जना महिला र ५५९ पुरुष छन् ।

विभागको विवरणअनुसार यो पटक नेपालसहित ३० देशका २८९ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका थिए । जसमध्ये २५५ नेपाली र १९७ विदेशी गरी जम्मा ४५२ ले सगरमाथा आरोहण गरेका छन् ।

सगरमाथाबाट सबैभन्दा बढी राजस्व सङकलन हुन्छ । वर्षका सबै चार याम (वसन्त, बर्खा, शरद र हिउँद) गरी करिब रु ६० करोड राजस्व सङ्कलन हुने विभागको भनाइ छ ।


Facebook Comment


No ads found for this position