हाम्रै महाराजको दम्भका कारण गठबन्धन तोडियो : एमाले नेता नेपाल

काठमाडौं । नेकपा (एमाले) नेतृत्वको सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएपछि बिग्रिएको सम्बन्ध सुधार्न दुवै दलका नेता सक्रिय बनेका छन् ।

Madhav-Kumar-Nepalसरकारको नेतृत्वकर्ता एमालेले नौ बुँदे लिखित र तीन बुँदे भद्र सहमति कार्यान्वयन नगरेको आरोप लगाउँदै माओवादी केन्द्रले मंगलबार आफ्नो समर्थन फिर्ता लिएपछि दूरी बढेको छ ।

दुवै दलका नेताहरूबीच ‘वाक युद्ध’समेत चलिरहेको बेला आइतबार बिहान एमाले नेता सुवास नेम्बाङले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटे । स्रोतका अनुसार दाहालसँग नेम्बाङले दूरी बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।

“अध्यक्षसँगको भेटमा नेम्बाङजीले दुई दलबीच दूरी बढाउन नहुने बताउनुभयो,” ती नेताले भने, “उहाँले एमाले र माओवादीको गठबन्धन तोड्नै नहुने पनि बताउनुभएको थियो ।” मुख्य नेताहरूबीच बढेको वाक युद्ध घटाउनुपर्नेमा नेम्बाङले जोड दिए ।

जवाफमा दाहालले एमालेसँगको गठबन्धन तोड्ने पक्षमा नरहे पनि नौ बुँदे सहमति र भद्र सहमति कार्यान्वयन नभएकाले बाध्य भएर समर्थन फिर्ता लिनुपरेको बताएका थिए ।

“एमालेसँगको सहमति तोड्नु हाम्रो रहर होइन, बाध्यता हो,” दाहालको भनाइ उद्धृत गर्दैै स्रोतले भन्यो, “तपाईंको चासो र चिन्ता जायज छ । म मेरा साथीहरूलाई पनि आरोप–प्रत्यारोपमा नउत्रन सुझाउँछु ।”

यसघि प्रधानमन्त्री ओलीले नै दाहाललाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए । दाहालले भने ढिला भएको भन्दै प्रस्ताव अस्वीकार गरेका थिए । नेम्बाङले भने गठबन्धन जोगाउने विषयमा कुनै प्रस्ताव नगरेको स्रोतको दाबी छ ।

आइतबार नै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमाले नेता माधवकुमार नेपाललाई भेटेका थिए । उक्त भेट पनि दुई दलबीचको सम्बन्ध सुधारमा केन्द्रित भएको जनाइएको छ । नेता श्रेष्ठले नेपालसँग गठबन्धन तोडिनु दुखद् भएको बताएको स्रोतले जनाएको छ ।

नेपालले भने ‘ओलीको दम्भ’ नै गठबन्धन तोडिनुको मूल कारक भएको बताएका थिए । “ओलीजी आफूलाई धर्तीमा जन्मिएको ठान्नु हुन्न, आकाशबाट झरेझैं गर्नुहुन्छ,” नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, “हाम्रै महाराजको दम्भका कारण गठबन्धन तोडिएकोमा म दुःखी छु ।”

माओवादी केन्द्रले नेपाली कांग्रेससँग मिलेर संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराइसकेको छ । उक्त पार्टीका नेताले सहमति कार्यान्वयन नभएको, राजवादीसँग साँठगाँठ गरेका कारण सरकार छाड्नुपरेको आरोप एमालेमाथि लगाउँदै आएका छन् । प्रधानमन्त्री ओलीसहित एमाले नेता विदेशी शक्तिको सहयोगमा माओवादी केन्द्रले सरकार छाडेको भन्दै प्रत्यारोपमा उत्रिएका छन् ।

आइतबार अपराह्न दाहाल निवास लाजिम्पाटमा बसेको केन्द्रीय कार्यालयको बैठकमा दाहाल–नेम्बाङ र नेपाल–श्रेष्ठ भेटबारे छलफल भएको थियो । दाहाल र श्रेष्ठले एमाले नेतासँग भएको भेटबारे बैठकमा जानकारी गराएको एक नेताले जानकारी दिए ।
बैठकमा नयाँ सत्ता समीकरण, संसद्मा प्रधानमन्त्रीविरुद्ध अघि सारिएकोे अविश्वासे प्रस्ताव, नयाँ मन्त्री चयन र पार्टी संगठनका विषयमा छलफल भए पनि कुनै निर्णय हुन नसकेको दाहालका सहयोगी जोखबहादुर महराले जानकारी दिए ।

समसामयिक राजनीतिक परिस्थितिको सामना र आगामी रणनीति बनाउन दाहालले सदस्यहरूलाई निवासमै डाकेका थिए । बैठक सोमबार बिहान ८ बज्ने बस्ने गरी स्थगित भएको दाहालको सचिवालयले जनाएको छ ।


Facebook Comment


No ads found for this position