सदन अवरुद्ध गर्ने एमालेको निर्णय,तयारीका साथ संसदमा आउन सांसदहरुलाई निर्देशन

४ साउन, काठमाडौं । सत्तारुढ नेकपा एमालेले बजेटसँग आश्रति विधेयक पेश नभएमा संसद अवरुद्ध गर्ने तयारीका साथ बिहीबार विहान संसद भवनमा उपस्थित हुन निर्देशन दिएको छ ।

Uml-Samsadiya-dalसभामुख ओनसरी घर्तीले अविश्वासको प्रस्तावमाथि छलफल गर्नै भोलि विहान ११ बजे बैठक बोलाएकी छन् । तर, एमालेले सांसदहरुलाई त्यसअघि नै उपस्थित हुन निर्देशन दिएको छ ।

एमाले संसदीय दलको बुधवारको बैठकले अविश्वास प्रस्तावमाथि छलफल हुनुअघि असार २९ र ३१ गते संसद बैठकको कार्यसूचीमा प्रवेश गरिसकेका विधेयक टुंगो लगाउनुपर्ने अडान राखेको छ । बैठकपछि एमाले संसदीय दलका सचेतक गोकुल घर्तीले भने, ‘कार्यसूचीमा परिसकेका आश्रति विधेयकको टुंगो लागेपछि मात्र संसदमा अन्य विषयमाथि छलफल हुन्छ । सभामुखले ती विधेयक हटाए हामी संसद अवरुद्ध पार्छौं ।’

विधेयक पास वा फेल जे भए पनि ती टुंगो लगाएरमात्र अन्य विषय प्रवेश हुने उनले बताए । ‘प्रचलित नियम कानुन र परम्परा विपरित गरिए हामी सशक्त प्रतिरोध गर्छौं’ घर्तीले भने ।

सभामुख ओनसरी घर्तीले दलहरुबीच सहमति नभएमा अविश्वास प्रस्तावमाथिको छलफल थाल्ने बताइसकेकी छन् । यदि त्यसो भएमा संसदमा सत्ता पक्षनै अबरोधमा उत्रिने देखिएको छ ।

बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओली र दलका उपनेता सुवास नेम्वाङले पार्टीको अडानका बारेमा सांसदहरुलाई जानकारी गराएका थिए । नेम्वाङले विशेष अधिवेशन बाहेक नियमित अधिवेशनको बेला संसदमा पेश भइसकेका कार्यसूची टुंगो लगाएर अविश्वास प्रस्तावमाथि छलफल हुने बताए ।

बैठकले अन्य दललाई पनि प्रचलित नियम, परम्परा र संवैधानिक अभ्यासमा आउन एमालेले आग्रह गरेको सांसद पार्वत गुरुङले बताए । सभामुखले जबर्जस्ती गरे एमालेले त्यसको जवाफ दिने उनले बताए ।


Facebook Comment


No ads found for this position