राजस्व सङ्कलनमा भैरहवा भन्सार सबैभन्दा अगाडि

लुम्बिनी, ५ साउन । मुलुकभरका भन्सार कार्यालयमध्ये सबैभन्दा बढी राजस्व सङ्कलन गर्न भैरहवा भन्सार कार्यालय सफल भएको छ । आर्थिक वर्ष २०७२÷७३ मा रु ६१ अर्ब ९१ करोड २२ लाख राजस्व उठाएर भैरहवा भन्सारले यस्तो कीर्तिमानी राखेको हो ।

moneyयसअघि, राजस्व सङ्कलनमा वीरगन्ज भन्सार पहिलो मानिन्छ । मधेस आन्दोलन र भारतले नेपालविरुद्ध गरेको नाकाबन्दीका बेला करिब छ महिना ठप्प जस्तो रहेको वीरगन्जको विकल्प यो वर्ष भैरहवा बनेको थियो ।

सामान आयातको मात्रा अत्यधिक बढेपछि त्यसको लाभ भैरहवाले पाएको हो । वीरगन्ज भन्सार कार्यालयले यस पटक रु ५५ अर्ब ६१ करोड राजस्व सङ्कलन गरेको बताइएको छ । इतिहासमै पहिलो पटक यसवर्ष सर्वाधिक भन्सार राजस्व सङ्कलन भएर मुलुकको पहिलो भन्सार कार्यालयको रुपमा स्थापित भएको भैरहवा भन्सार कार्यालयका प्रमुख लावण्य ढकालले बताउनुभयो ।

मधेस आन्दोलन र भारतको नाकाबन्दीका बेलामा यो नाका सहज बनेका कारण नै यो भन्सार पहिलो बनेको ढकालको भनाइ छ । गत आर्थिक वर्षमा भन्सार विभागले रु ५२ अर्ब ९४ करोड १२ लाख असुली गर्ने लक्ष्य भैरहवा भन्सारका लागि तोकिदिएको थियो । मधेस आन्दोलनको बेलामा भैरहवा भन्सार नाका अवरोध गर्न आन्दोलनरत मधेसी मोर्चाले पटकपटक गरेको प्रयासलाई स्थानीय बासिन्दा, सुरक्षा निकाय र भन्सार प्रशासनले विफल बनाइदिएका थिए । साथै, वीरगन्ज नाकामा रोकिएका सामानहरू पनि रिरुट भएर भैरहवा हुँदै नेपाल ल्याइएपछि राजस्व थपिएको हो ।

रिरुट भएर भित्रिन थालेका सामानलाई आयातकर्ताले यही नाकाबाट भित्र्याउँदै आएका छन् । यसमा सवारी साधनको आयात अत्यधिक छ । कुल भन्सार राजस्व असुलीमा सवारी साधनको योगदान ४९.८५ प्रतिशत छ । टाटा, हुन्डाई, मारुती, मित्सुबिसी, महेन्द्रा लगायतका कम्पनीको नेपालस्थित आधिकारिक बिक्रेताले आन्दोलनको बेला वीरगन्ज नाका असहज भएपछि भैरहवा नाकाबाट आयात गर्न थालेका हुन् ।

औद्योगिक कच्चा पदार्थको आयात पनि विगतका वर्षको तुलनामा बढ्दो छ । निर्माणाधीन ठूल्ठूला तारे होटल र निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मेसिनहरूको आयातले पनि भन्सार राजस्व बढेको हो । आव २०७१÷७२ मा भैरहवा भन्सारले रु २५ अर्ब ९७ करोड राजस्व असुली गरेको थियो ।


Facebook Comment


No ads found for this position