यस्तो छ माओवादी केन्द्रसँग मिल्नुको रहस्य: देउवा

५ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रसँग मिल्नु ‘राजनीतिक बाध्यता’ भएको बताएका छन्। कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकमा सभापति देउवाले माओवादीसँग मिलेर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्नुको कारण समेत खोलेका छन्।  देउवाले एमाले नेतृत्वको सरकारले सस्तो लोकप्रियता र संगठन मजबुद बनाउन कनिकाजस्तै बजेट छरेको आरोप लगाए। ‘एमालेलाई त्यतिकै छाड्ने हो भने बलियो बन्दै जान्छ।

prachanda-sherbahadur हामीलाई किनारा लगाउन रणनीति बनाएको देखिन्छ’, कांग्रेसका एक केन्द्रीय सदस्यले देउवाको भनाई उद्‌धृत गर्दै भने, ‘त्यसैले एमाले-माओवादी गठबन्धन भत्काउनु परेको हो।’ ‘एमालेको राज्यसत्तामा एकलौटी कब्जा गर्ने षडयन्त्र छ’, सभापति देउवाले भने, ‘कांग्रेसको नेतृत्वमा जारी भएको संविधानको कार्यान्वयन गर्न पनि माओवादीसँग गठबन्धन गर्नु आवश्यक भयो।’

देउवाले अविश्वासको प्रस्ताव एकजुट भएर पारित गरेमा सकारात्मक सन्देश जाने बताए। माओवादीसँग मिलेर सरकार गठन गर्दा पनि सबैलाई मिलाएर लाने उनले प्रतिवद्धता व्यक्त गरे। होला त नेविसंघ महाधिवेशन?  सभापति देउवाले पार्टीका सबै भातृ संस्थाको महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे। देउवाको भनाई उद्‌धृत गर्दै केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले भने, ‘अब सबै भातृ संस्थाको महाधिवेशन निर्धारित समयमै हुन्छ। त्यसको लागि एक वा दुई दिन भित्र महाधिवेशन गर्नको लागि पार्टी निर्देशन समिति बनाउँछौ। नेविसंघको महाधिवेशन तोकिएको मितिमै हुन्छ। जुन गुटको उम्मेदवारले जिते पनि नेविसंघ नै हो।’ तर, केन्द्रीय सदस्य डा. महतले निर्देशक समिति चाँडो नबनाए, विधान अनुमोदन नभए निर्धारित समयमै नेविसंघको महाधिवेशन गर्न कठिन हुने बताएका हुन्। बैठकपछि उनले पत्रकारसँग भने, ‘विधान निर्माण र निर्देशक समिति १/२ दिन भित्र नबनाए नेविसंघको महाधिवेशन आगामी साउन २३–२६ मा गर्न कठिन हुन्छ।’ महाधिवेशन प्रतिनिधिहरु निश्चित नभएसम्म महाधिवेशन गर्न चुनौतीपूर्ण हुने महतले बताए। नेविसंघको महाधिवेशनको मिति तोकेको यो समेत नवौं पटक हो। महाधिवेशन आउन १९ दिनमात्र बाँकी छ।

तर, नेविसंघको विधान अझै पार्टीले स्वीकृत गरिसकेको छैन। मंगलबारको बैठकमा मात्र नेविसंघको विधान परिमार्जनसहित केन्द्रीय सदस्यलाई दिइएको छ। पार्टीको महाधिवेशन दुई पटक हुँदा समेत नेविसंघ, महिला संघ र तरुण दलको महाधिवेशन एक पटक पनि भएको छैन। विभागलाई पूर्णता दिन्छु कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको सबै विभागलाई पूर्णता दिने बताएका छन्। बैठकमा पार्टीका ४० वटै विभागलाई चाँडै पूर्णता दिने भन्दै आफूले बस्न चाहेको ३/४ वटा विभागको नाम प्राथमिकता क्रममा लेखेर दिन केन्द्रीय सदस्यसँग आग्रह गरेका छन्।

उनले सम्भव भए एक साता भित्रै पार्टीका विभागलाई पूर्णता दिने बताएका थिए। पदाधिकारी र केन्द्रीय सदस्यको चयन, कार्यसम्पादन समिति गठन, अनुशासन समिति, संसदीय समिति लगायतका विभाग र निकाय गठनको विषयमा भने उनले केही बताएनन्। बैठकमा सहभागी केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले विगतका सभापतिले गरेजस्तै कमजोरी नगर्न सभापतिलाई सुझाव दिएका थिए। उनले पदाधिकारी चयन, विभाग गठन र भातृ संस्थाको महाधिवेशन लगायतका कार्यलाई चाँडो गर्न सुझाव दिएका थिए। देउवाले संगठनलाई गतिशील बनाउन सबै कार्यकर्तालाई जिम्मेवारी दिने बताएका थिए। कांग्रेसले चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनसन बसिरहेका प्रा. डा.गोविन्द केसीका राजनीतिक मागप्रति पार्टी असहमत रहेको निष्कर्ष निकालेको छ।


Facebook Comment


No ads found for this position