सभामुख परामर्शमा व्यस्त, सांसदहरू चिया खाएर समय कटाउँदै

काठमाडौं, ६ साउन– संसदको बैठक सुचारु गर्ने विषयलाई लिएर सभामुख ओनसरी घर्तीले प्रमुख दलका शीर्ष नेताहरूसँग परामर्श गरिरहेकी छन् । बैठकमा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत सहभागी छन् ।

Sansad संसद भवन नयाँ बानेश्वरमा जारी बैठकमा संसद बैठक सुचारु गराउने प्रयास भइरहेको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए । यसअघि बिहीवार बिहान पनि दलका नेताहरूबीच छलफल भएको थियो ।

अविश्वासको प्रस्ताव र आर्थिक विधेयकहरू संसदको एउटै कार्यसूचीमा राखेर संसद बैठक सुचारु गर्ने प्रयास भइरहेको बैठकमा सहभागी एक नेताले बताए । स्रोतका अनुसार कार्यसूचीमा पहिला आर्थिक विधेयक पारित गर्ने कि अविश्वासको प्रस्तावमा छलफल गराउने भन्नेमा छलफल भइरहेको छ । दलहरूबीच सहमति जुट्न नसक्दा बिहान ११ बजेका लागि बोलाइएको संसदको बैठक सूचनामार्फत दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो । बैठक सुरु नभएपछि सांसदहरू चमेनागृहमा चिया खाएर समय गुजारिरहेका छन् ।


Facebook Comment


No ads found for this position