जानकी मन्दिरका कला नष्ट हुने अवस्थामा
हिमांशु चौधरी
जनकपुरधाम, ६ साउन । प्रमुख सम्पदा जानकी मन्दिर संरक्षण र संवद्र्धनको अभावमा जीर्ण बन्दै गइरहेको छ । मर्मत सम्भारको अभावले मन्दिरको पर्खालमा बिरुवा उम्रेको र भूकम्पले पर्खाल चर्केको, बुर्जा, गजुर र गुम्बजहरूलाई क्षति पु¥याएको देखिन्छ ।
मन्दिरको चारै कुनामा तीन–तीन वटाका दरले बनाइएका बाह्र वटा कलात्मक बुर्जाका साथै अन्य साना ठूला बुर्जा र गुम्बजहरूमाथि सुनौला गजुर सो मन्दिरमा रहेको छ ।
जनकपुरधामको मध्य भागमा रहेको सो मन्दिर मानव सिर्जनाको उत्कृष्ट नमुना मानिन्छ । मन्दिरको वास्तुकला, मूर्ति, डिजाइन र प्रविधि दर्शनीय, पूजनीय, आस्था र विश्वासका प्रतीकका रूपमा रहेको सो मन्दिर ४९ हजार ५५५ वर्गफिटमा फैलिएको छ ।
सो मन्दिरमा बेलाबेलामा पुरातात्विक किसिमले रङरोगन नगरिँदा मन्दिरको चारैतिर विभिन्न रङका रङ्गीचङ्गी कला नष्ट हुने अवस्थामा पुगेको छ भने मन्दिरमा प्रयोग भएको सुर्खी र इँटालाई पनि प्रभावित गरेको छ ।
पुरातात्विक परामर्शबिना रङरोगनले यसको विलक्षणतालाई नै समाप्त हुने स्थिति आउन सकिने देखिएको छ । सो मन्दिरमा वास्तुकलाकारिताको विलक्षण नमुना रहेको छ । टाढाबाट हेर्दा मन्दिरै मन्दिरको सङ्गालो जस्तो देखिने सो मन्दिर परिसरमा साठी वटा कोठा रहेका छन् ।
सोमध्ये अधिकांश कोठाका पर्खाल कालो भइसकेको छ भने मन्दिर बाहिर आधुनिक किसिमले विश्राम कक्ष निर्माण गराई यसको प्राचीन स्वरूपलाई कुरुप बनाइएको छ ।
भगवान् रामकी अर्धाङ्गिनी सीताको सम्झनामा बनाइएको सो मन्दिरको सुन्दरता र भव्यता आफैँमा विशिष्ट रहेको छ । कसै–कसैले यसलाई भारतको ताजमहलसँग तुलना गरेर पनि हेर्ने गरेका छन् । सो मन्दिरमा मुगल, राजपुताना, मैथिल र हिन्दू शैलीको प्रभाव रहेको छ ।
मिथिला स्वयम् नै मन्दिररूपी पवित्र विशाल घर हो, जुन माटोमा माता जानकी उत्पन्न हुनु, यहाँको माटोको कणकणमा जानकीले लडीबुडी गरी बालक्रीडा गर्नु, भगवान् राम यहाँ आई शिवधनुष भङ्ग गर्नु वैदिककालदेखि नै मिथिलालाई दर्शनीयस्थल बनाएको प्रसङ्गलाई जीवन्त तुल्याउने मौलिक सम्पदाका रूपमा सो मन्दिर प्रख्यात रहेको छ ।
सो मन्दिरको निर्माणमा ब्रिटिस महारानी भिक्टोरियाको चाँदीका सिक्काहरू खर्च भएको थियो, जसको लागत रु नौ लाखभन्दा अधिक थियो । त्यसैले यस मन्दिरलाई नौलाखा पनि भनिन्छ ।
हिन्दू वाङ्मयमा अनुपम, विलक्षण, आश्चर्यजनक वास्तु, भवन, इमारतलाई सबभन्दा उत्तम दर्जाको एकाइमा भन्नुपर्दा नौ भनिने हुँदा यस मन्दिरले वास्तुकलाको सर्वोत्कृष्ट कला प्रस्तुत गरेकाले पनि नौ लाखा भनिएको हुनसक्ने संस्कृतिविद् डा रेवतीरमण लाल बताउनुहुन्छ ।
उहाँका अनुसार अद्भूत र आकर्षक मन्दिरको राज्यले इमान्दारीपूर्वक संरक्षण नगरेका कारण मन्दिरका जग्गा र बहुमूल्य गरगहनाको अवस्था अज्ञात रहेको छ ।
गुठी र महन्तले मन्दिरको जग्गा बेच्नु सिवाए अन्य कुनै विकास र संरक्षणका कार्य नगरेका कारण विश्व सम्पदा सूचीमा सूचीकृत हुने सम्पदा ओझेलमा परेको वरिष्ठ पत्रकार राजेश्वर नेपालीको धारणा रहेको छ ।
संरक्षणको अभावका कारण मन्दिरको उत्तरतर्फको प्रवेशद्वारमाथि पत्थरको बनेका सिंहका मूर्तिको हीराजडित आँखा चोरिएको बताइन्छ ।
मन्दिरको करोडौँ मूल्यको गरगहना संरक्षणका नाममा सरकारले लगेको वर्षौं भइसकेको र ताकेता गर्दा आशाजनक उत्तर नआएको महन्त रामतपेश्वर दास बताउनुहुन्छ ।
गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठ मन्दिरको वरिपरि मन्दिरभन्दा पनि अग्लो भवन बनाउने कार्य तीव्र भइरहेकाले मन्दिरको अस्तित्व सङ्कटमा परेको छ भन्नुहुन्छ ।
जानकी मन्दिर ५० फिट अग्लो भएको तथ्यलाई ध्यानमा राख्दै उपमहानगरपालिकाले सो क्षेत्रमा ३२ फिटभन्दा अग्लो भवन बनाउन नहुने प्रावधान राखेको छ तर सो प्रावधानलाई बेवास्ता गर्दै सो क्षेत्रमा निजी भवन, होटल र विद्यालय निर्माण भइरहेको छ ।
संस्कृतिविद् रामभरोस कापडी भ्रमर जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन भोर नामक संस्थाले ५५ हजार हस्ताक्षर सङ्लित गरी अभियान सञ्चालन गरेको अवस्थामा यसको संरक्षणमा सबैको ध्यान जानु आवश्यक भएको खाँचो औँल्याउनुहुन्छ ।
सो मन्दिरको साविक ५९८ बिगाहा १० कट्ठा ४ धुर जग्गामध्ये गुठी अधीनस्थ २४ बिगाहा १४ कट्ठा, गुठी रैतान नम्बरी ३७३ बिगाहा ८ कट्ठा ८ धुर र गुठी तैनाथी ९८ बिगाहा १९ कट्ठा १० धुर गरी ४७२ बिगाहा १६ कट्ठा जग्गा गुठीमा दर्ता रहेकामा अधिकांश जग्गा भू–माफियामार्फत बिक्री भइसकेको बताइन्छ ।
प्राध्यापक डा पशुपतिनाथ झा विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक भएको १० वटै आधार जानकी मन्दिरमा विद्यमान रहेकाले नौलाखा धरोहरलाई जोगाउन जागरूकताको आवश्यकता रहेको धारणा व्यक्त गर्नुहुन्छ ।