बालिङ–हुवास सडक अवरुद्ध, पोखरा–बागलुङ एकतर्फी

फलेवास (पर्वत), ७ साउन । लगातारको वर्षाका कारण आएको पहिरोले दक्षिण पर्वतका एक दर्जनभन्दा बढी गाविसलाई जोड्ने वालिङ–हुवास सडक अवरुद्ध बनेको छ ।

roadपर्वतको हुवास र स्याङ्जाको कालिकाकोट गाविसको सिमानास्थित डुम्रेभञ्ज्याङमा सडकमाथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध बनेको हो । गएरातिदेखि सडक अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुएको छ ।

निर्माणाधीन अवस्थामा रहेको उक्त कच्ची सडकका पाँच–छ ठाउँमा पहिरो खसेर अवरुद्ध बनेको उहाँले बताउनुभयो । वर्षा नरोकिएकाले सडक खुलाउन समस्या परेको छ । सडक अवरुद्ध हुँदा हुवास, त्रिवेणी, रानीपानी, बर्राचौरलगायतका ठाउँमा जाने सवारी साधन चिसापानीमा अलपत्र परेका छन् भने अन्यत्रबाट आएका सवारी साधन डुम्रेभञ्ज्याङमा अलपत्र परेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।

वर्षा रोकिएपछि सडक खुलाउन पहल गरिने उहाँले बताउनुभयो । उक्त सडक अवरुद्ध भएपछि दक्षिण पर्वतका हुवास, त्रिवेणी, भोर्ले, रानीपानी, वहाकी, शालिग्राम, रानीपानी, बर्राचौर, उरामपोखरा, होश्राङ्दी, भोर्ले, सरौखोला गाविसवासी प्रभावित बनेका छन् ।

पर्वत सदरमुकामसँग सिधा सडकको पहुँच नपुगेका उक्त क्षेत्रका बासिन्दा वालिङ, हुवास सडक हुँदै स्याङ्जा र कास्की घुमेर सदरमुकाम कुश्माबजार आउन बाध्य भएका छन् ।

पोखरा–बागलुङ एकतर्फी

मोदीखोलामा आएको बाढीको कटानका कारण गएरातिदेखि अवरुद्ध बनेको पोखरा–बागलुङ राजमार्ग आज बिहान ९ बजेदेखि एकतर्फी रुपमा सञ्चालन भएको छ ।

पर्वतको कुश्मा नगरपालिका–१२ स्थित पराधीमा मोदीखोलाको कटानका कारण सडक भत्किएको थियो । मोदी खोलामा आएको बाढीको उच्च बहावले पक्की सडक नै भत्काएर लगेपछि भित्तातर्फको पहाड काटेर एकतर्फी रुपमा सडक सञ्चालन गरिएको प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।

सडक सञ्चालन भएसँगै रातिदेखि अलपत्र बनेका लामो तथा छोटो दूरीका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । धौलागिरि अञ्चलका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई जोड्ने एकमात्र सडक अवरुद्ध हुँदा सिङ्गो धौलागिरि अञ्चल प्रभावित हुने गर्छ । उक्त सडकबाट दैनिक एक हजारभन्दा बढी सवारी साधन ओहोरदोहोर गर्दै आएका छन् ।


Facebook Comment


No ads found for this position