छापामार शैलीमा झलनाथ प्रधानमन्त्री-प्रचण्ड

parchandaराजनीति सम्भावनाको खेल

नौ महिना केही दिनपहिले यसै रोस्टमबाट तत्कालीन माननीय सदस्य केपी ओलीलाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव राखेको थिएँ । त्यतिवेला भनेको थिएँ– राजनीतिक सम्भावनाहरूको खेल हो । अहिले फेरि भन्दै छु– राजनीति सम्भावनाको खेल हो । असम्भव भन्ने राजनीतिमा हुँदैन भन्दै अविश्वास प्रस्ताव टेबुल गर्दै छु ।

आफैँलाई किन ढाट्ने ?

संविधानको धारा २९८ को उपधारा १ बाहेक अरू अन्तरिम संविधानको फोटोकपीजस्तै हो । हामीले त्यसअन्तर्गत कतिपटक सरकार बनायौँ ? प्रधानमन्त्री हट्ने कुरा पनि अन्तरिम संविधानमै छ । चुन्ने व्यवस्था पनि त्यहीँ छ । अहिलेको संविधानले नयाँ सरकार बनाउन सक्ने व्यवस्था छैन भन्नु कसलाई झुक्याउन खोजेको हो ? आफैँलाई हो कि अरूलाई ?

भद्र सहमति पार्टीहरूले प्रयोग नगर्दा नै हुने भयो

जेन्टलमेन्ट एग्रिमेन्ट (भद्र सहमति) भन्ने विषय अहिले दलहरूबीच अविश्वासको कारण बन्न पुगको छ । भद्र सहमति भन्ने कुरा नेपालका राजनीतिक पार्टीहरूले प्रयोग नगर्दा नै राम्रो हुन्छ । त्यसले दलहरूको सम्बन्धमा खटपट भएको छ । अप्ठ्यारो स्थिति पैदा भएको छ ।

सर्पाइज्डमा झलनाथ प्रधानमन्त्री

निर्वाचनमा पराजित माधव नेपालाई मैले नै संसद्मा चाहिन्छ भनेर चिठी लेखेर ल्याएको हो । पछि त उहाँ प्रधानमन्त्री हुनुभयो । पछि झलनाथ खनाल सप्र्राइज्ड तरिकाले प्रधानमन्त्री हुनुभयो । छापामार शैलीमा उहाँलाई प्रधानमन्त्री बनाइयो । तर, खोलो तरेर लौरो नभुलौँ । जे हो दिन कञ्जुस्याइँ नगरौँ । एमालेको तीनजना प्रधानमन्त्री हुनुभयो । अर्को पनि लाइनमा हुनुहुन्छ ।

भूकम्पपछि धर्ती टेकियो

गिरिजाप्रसाद कोइरालाको आवश्यकतालाई अवमूल्यन गर्यौँ कि । हिजो हामी ठूलो पार्टी भएर सबै खान खोज्दा हाम्रो हातमा केही रहेन । अहिले झन्डै कांग्रेसको त्यस्तै छ । अब बिस्तारै एमालेको पालो । अब यसको समीक्षा गर्ने कि नगर्ने ? हामीले धर्ती छाड्दा र टेक्दा के हुँदोरहेछ थाहा हुनुपर्छ । भूकम्पपछि हामीले धर्ती टेकेका थियौँ । नयाँ सरकारपछि फेरि उही चिज भएको छ ।

धकेलेर बाध्यतामा पुर्‍याइयो

एक दिन उहाँ (केपी ओली)ले भन्नुभयो– ‘मन्त्रीहरूले टेर्न छाडे, म त निरीह भएँ ।’ मैले भनेँ– ‘निरीह त म भएँ । तपाईंले हाम्रा मन्त्रालयमा पनि हस्तक्षेप गरेर नियुक्ति गर्ने काम भयो । निरीह त हामी पो भयौँ ।’ यो गठबन्धन तोडिहाल्ने इच्छा मेरो थिएन । एमालेका नेताहरूको सिंगो टिम बसेर जे समझदारी भएको थियो । त्यसमा उहाँले सहज बाटो दिनुपर्थ्यो ।

प्रधानमन्त्रीकै शब्दमा इन्भ्यालिड गरेर जाने काम भयो । मलाई मात्रै गोप्य भनेर पनि भन्नुभएको होइन, उहाँले एउटा कुरा भन्नुभयो, ‘या त तपाईं एक्सन लिनुस् या म लिन्छु । तैँले लिन्नस् भने मैले लिन्छु ।’ यो अविश्वास प्रस्ताव दर्ता गर्ने कि मन्त्रीलाई कारबाही गर्ने भन्नेसम्मका कुरा भए । हामीलाई धकेलेर बाध्यतामा पुर्‍याइयो, यहाँ ठूलो राजनीतिक द्वन्द्वको अवस्था नआओस् । फेरि पनि संवाद र सहकार्यमा जान सकौँ ।

भाषण चल्दोरहेनछ

नौबुँदे सहमति र तीनबुँदे समझदारीप्रति उहाँ (केपी ओली)को सार्वजनिक टिप्पणीप्रति झनै शंका भयो । अब यही रूपमा लिन सकिन्न । प्रधानमन्त्रीले यो भनेको विषय प्रतीकात्मकजस्तो भयो । नौ महिनापछि थाहा भयो । भाषणले देश चल्दोरहेनछ । पानीजहाज, ग्यासका कुरा भन्न सजिलो, गर्न समस्या भएपछि उहाँले सरकार पनि गइदिए हुन्थ्योजस्तो लागेको हुनुपर्छ । ओलीजी नेतृत्वको सरकारसँग माओवादी केन्द्रको भद्र सहमति भयो । त्यसले साह्रै नमीठो वातावरण तयार पा-यो । सहमतिको अपेक्षा पूरा हुन सकेन ।

राजतन्त्रसँग लगनगाँठो

प्रधानमन्त्रीलाई गणतन्त्रप्रति पनि रुचि देखिँदैन । राजतन्त्र भन्नेहरूसँग उहाँको लगनगाँठो कसिएको छ । आजको युगमा हामीले आन्तरिक एकता सुदृढ नगरी राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्न सकिँदैन । सरकारको नेतृत्वमा अन्तर महसुस गर्दै गएँ । एकताभन्दा पनि इरिटेसनमा लैजाने काम भयो । खतरा देखापर्‍यो । यो संवेदनशील छ । परिवर्तनका एजेन्डा संघीयता, गणतन्त्रको बीचमा पनि सरकारको नेतृत्व र हाम्रोबीचमा अन्तर देखा परे । प्रधानमन्त्रीले एउटा कुरा खुलमखुला भन्नुभएको छ । मलाई संघीयता मनपरेको छैन । यो बाध्य भएर गरिएको हो ।

प्रधानमन्त्रीमा दम्भ देखियो

प्रधानमन्त्रीले म आफैँ पूर्ण छुजस्तो गर्नुभयो । संयुक्त सरकार हो, केही प्रतिबद्धतासहितको सरकार हो भन्दा पनि एकल सरकार हो भन्ने उहाँमा महसुस भयो । उहाँको कार्यशैलीमा अहंकार र दम्भ देखियो । सरकारभित्रका पार्टीहरूको समस्यालाई सामूहिक ढंगले समाधान गर्नेभन्दा उपयोग गर्नेतिर उहाँ चल्नुभयो । त्यो एकताको निम्ति बाधक हुने त होइन भन्ने भयो ।

राष्ट्रियतामाथि प्रश्न उठाउनु विडम्बना

अविश्वास प्रस्ताव दर्ता गर्नासाथ दल र नेताविशेषमाथिको राष्ट्रप्रतिको निष्ठामाथि प्रश्न उठाउने कोसिस गरिएको छ । कोही पनि राजनीतिक दलप्रति राष्ट्रियताप्रति प्रश्न उठाउनु विडम्बना हुन्छ । थोरै अन्तर आउनासाथ कसैको राजनीतिक निष्ठा र आस्थामाथि अनर्गल प्रचारबाजी गर्ने काम हुन्छ । यो राजनीतिक प्रक्रियामा एउटा नयाँ राष्ट्रिय एकताको संकल्प गरेका छौँ । अग्निपरीक्षा पास गरेर यहाँ आएका हौँ । कसैलाई अपमानित गर्ने मेरो कुनै मनसाय छैन । देश अहिले पनि अप्ठेरोमा छ । अहिले पनि हामीले गर्ने कुरा धेरै छन् । त्यसको लागि राष्ट्रिय एकता गर्नुपर्ने हुन्छ ।

अन्तर बढ्यो

यसबीचमा केपी ओली र हाम्राबीचमा अन्तर थिए नै । घट्छ कि बढ्छ भन्ने थियो । तर, यो नौ महिनामा काम गर्ने सोच र तरिकामा पनि अन्तर रहेछन् भन्ने अनुभव गरेँ । प्रधानमन्त्रीले सहमति बिर्सिए हामीले एउटा अप्ठेरो अवस्थामा समीकरण बनाएका थियौँ । संविधान निर्माणको प्रक्रिया होस् या पुनर्निर्माण, नाकाबन्दीको सामना या मधेसको मुद्दा सम्बोधन गर्ने विषयमा छलफल भए । तर, छलफल अघि बढ्दै जाँदा अन्तर अलि बढी नै रहेछ । प्रधानमन्त्री ओलीजीसँग भएका सहमति उहाँले बिर्सँदै जानुभयो वा माओवादीलाई भर्‍याङ बनाएर कमजोर बनाउने रणनीति भन्ने हामीले बुझ्यौँ ।

शान्तिप्रक्रिया महत्वपूर्ण

माओवादी केन्द्रको निम्ति शान्तिप्रक्रिया निष्कर्षमा पु-याउनु र गणतन्त्रको मान्यतालाई जनताको जीवनमा स्थापित गर्ने चुनौती अझै बढी छ भनेर प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदै आएकै हो । यो कुरा उहाँहरूलाई राम्रोसँग थाहा छ । प्रधानमन्त्रीसँग कुनै व्यक्तिगत कटुता छैन । हाम्रा व्यक्तिगत कुरा केही भएनन् । देश र जनताप्रति कसरी जाने भनेर छलफल ग-यौँ । हिजो पनि सत्तारुढ दलका नेताहरूसँग पटक–पटक भन्ने गरेको थिएँ– नेपालको अहिलेको राजनीतिक प्रक्रियामा माओवादी केन्द्र भिन्न प्रक्रियाबाट आएको हो । यसका केही विशिष्ट आवश्यकता र चिन्ता छन् । सबैभन्दा ठूलो चिन्ता शान्तिप्रक्रिया निष्कर्षमा पुर्‍याउनु हो ।

प्रचण्डले सदनमा दिएको मन्तव्यको सम्पादित अंश


Facebook Comment