कोरियामा अवैधानिक कामदारमाथि धरपकड तीव्र

सउल । अध्यागमनका कर्मचारीहरूले लुकिछिपी बस्ने विदेशी कामदारको खोजी र पक्राउ गर्ने काम तीव्र पारेका छन् । कोरियाका विभिन्न स्थानबाट अवैधानिक हैसियतमा बसेका कामदार पक्राउ परिरहेका छन् । गत सातामात्र आन्सानस्थित एक मोटर कम्पनीमा कार्यरत ४ अवैधानिक नेपाली र थेगुबाट काठ कारखानामा काम गर्ने ७ जना नेपाली पक्राउ परेका छन् ।

Nepalese-in-Korea-3-445x300ख्वान्जुस्थित एक प्लास्टिक कम्पनीमा काम गरिरहेकेका केसी थरका एक युवक पनि पक्राउ परेका छन् । ईपीएसमार्फत कोरिया आएका उनी ४ वर्ष १० महिने कार्यअवधि सकिएपछि विगत ३ वर्षदेखि अवैधानिक रूपमा लुकिछिपी काम गरिरहेका थिए । उनीसँगै केही नेपाली र फिलिपिन्सका २ कामदार पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालसहित इन्डोनेसिया, मंगोलिया, चीन, भियतनामलगायत देशका कामदार छन् । कम्पनीबाट पाउनुपर्ने तलब–भत्ता समयमै नपाउँदा मानसिक तनावमा रहेको उनीहरूले बताएका छन् ।

यसअघि छनान, उइजङ्बो, किम्पो, इन्च्छनमा अवैधानिक नेपाली कामदार पक्राउ परेका थिए । ओभरस्टे बसेका कामदारलाई समात्ने र स्वदेश पठाउने काम यहाँको सरकारले तीव्र पारेको छ ।
कोरियामा सबैभन्दा धेरै करिब ७० हजार चिनियाँ नागरिक अवैधानिक छन् । अन्य देशका नागरिक पनि अवैधानिक बस्ने क्रम बढिरहेको छ ।

अवैधानिक काम गर्दागर्दै पक्राउ परेर नेपाल गएका र नेपालबाटै नक्कली (नाम, वतन र राहदानी) परिवर्तन गरी भाषा परीक्षा उत्तीर्ण गरेर पुनः कोरिया आएका नेपालीसमेत छन् । गत सातामात्रै एक महिलालाई नक्कली डकुमेन्टका आधारमा नेपाल फर्काइएको थियो ।

यहाँ साना तथा मझौला उद्योगहरूमा प्रवासी कामदार पूर्ति गर्न सरकारले औद्योगिक प्रशिक्षण प्रणालीलाई संशोधन गर्दै २००४ को अगस्टबाट रोजगार अनुमति प्रणली (ईपीएस)लागू गरेको थियो ।

अवैधानिक स्वतस्फूर्त स्वदेश फर्किंदै

कोरियामा अवैधानिक रूपमा कार्यरत आप्रवासी कामदारहरू स्वतस्फूर्त स्वदेश फर्केमा पुनः आउन पाउने भन्दै केही नेपाली पनि स्वदेश फर्किरहेका छन् । “कोरियाले अवैधानिक कामदारका लागि कडा नीति लिएपछि यहाँ काम गर्न निकै गाह्रो भइरहेको छ,” केही दिनअगाडि स्वदेश फर्केका एक नेपालीले फोनमा भने, “अब अर्को वर्ष हुने भाषा परीक्षा दिएर आउँछु ।”

कोरियामा नेपालीलाई चिठ्ठा प¥यो

दक्षिण कोरियामा कार्यरत एक नेपालीलाई चिठ्ठा परेको छ । शनिबार साँझ प्रकाशित ७११ औं ‘लोट्टो’ रिजल्टमा सिन्धुपाल्चोकका पुरन लामालाई तेस्रो पुरस्कार परेको हो ।

१८ सय ६५ जनालाई परेको तेस्रो पुरस्कारको रकम १४ लाख २४ हजार ६५६ वन थियो । यसमा कर काटेर लामाले ११ लाख ११ हजार ४५६ वन प्राप्त गरेका छन् । यो रकम नेपाली रुपैयाँ एक लाख बराबर हो ।


Facebook Comment


No ads found for this position