धार्मिक पर्यटनको आकर्षण बढ्दो

सिबी अधिकारी

काठमाडौँ, ९ साउन । विश्वमा धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रुपमा रहेको नेपालमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । नेपाल भ्रमणमा आउने पर्यटकमध्ये धेरैको रोजाइँ पवित्र धार्मिक क्षेत्रको भ्रमण हुने गरेको पाइएको छ । लुम्बिनी, पशुपतिनाथलगायत पुरातात्विक महत्वका सांस्कृतिक सम्पदाका कारण पर्यटक आकर्षित हुने गरेका छन् ।
विश्व सम्पदाका सूचीमा सूचीकृत १० सम्पदा क्रमशः पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भूनाथ, चाँगुनारायण, वसन्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, लुम्बिनी, सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज छन् । पर्यटकको रोजाइँमा रहेका यिनको अवलोकन भ्रमणमा आउने पर्यटको सङ्ख्या बर्सेनि बढ्दो छ ।
muktinath @ ghumphir (3)
हिन्दू र वौद्ध धर्मका लागि नेपाल विश्वकै केन्द्रविन्दु हो । विश्वमा रहेका हिन्दूधर्मावलम्बी आफ्नो जीवनकालमा एक पटक पशुपतिनाथको दर्शन गर्न चाहन्छन् । त्यस्तै विश्वभरका बौद्ध धर्मालम्बी पनि गौतमबुद्धको जन्मस्थल पुग्ने इच्छा राख्छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशित गरेको ‘नेपालको पर्यटन तथ्याङ्क २०१५’ अनुसार नेपाल आउने पर्यटकको पहिलो रोजाइँ शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी रहेको देखिएको छ ।

सन् २०१५ मा एक लाख २९ हजार १८० जनाले लुम्बिनी घुमेका छन् भने सन् २०१४ मा एक लाख ३२ हजार ९२६ जनाले भ्रमण गरेका थिए । त्यस्तै पशुपतिनाथ मन्दिरको अवलोकन भ्रमणका लागि आव २०७२÷७३ मा करिब ९० हजार पर्यटकले भ्रमण गरेका छन् । पशुपति क्षेत्र विकास कोषका अनुसार सबैभन्दा बढी गत आव २०७१÷७२ मा एक लाख ६६ हजारले भ्रमण गरेका थिए ।

भूकम्प र नाकाबन्दीका कारण सन् २०१५ मा पर्यटकको भ्रमणमा ५३ प्रतिशतले कमी आएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डन पछिल्लो समय धार्मिक पर्यटकको सङ्ख्या बढ्दै गएको बताउनुहुन्छ । नेपालमा दुई खाले (भारतीय र तेस्रो मुलुक) का धार्मिक पर्यटक आउँछन् । भारतीय पर्यटक भारतको चारधाम घुमेर आएपनि नेपालको पशुपतिनाथको दर्शन नगरी अपूरो हुने विश्वासका साथ पशुपतिनाथ आउने गरेका टण्डल बताउनुहुन्छ ।

तेस्रो मुलुकका पर्यटक पशुपति क्षेत्रको जीवन्त सम्पदास्थलको अवलोकन, मठ, मन्दिर आदिको अवलोकन गर्न आउँछन् । अर्कोतर्फ धार्मिक सद्भावको महत्वका रुपमा पनि पशुपतिनाथको अवलोकन गर्ने गरेका छन् । “जीउँदो सम्पदाको अवलोकन, विभिन्न किसिमका धार्मिक गतिविधि, (चित्तामा लास जलेको) यस्ता चिज हेर्न धार्मिक पर्यटक आउछन्,”–उहाँले भन्नुभयो ।

धार्मिक पर्यटनका लागि भारत, श्रीलङ्का, मलेसिया, सिङ्गापुर, बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानाडालगायत मुलुकबाट पर्यटक आउने गरेका छन् । सम्पदा अवलोकनका लागि चीन, थाइल्यान्ड, जापान, युरोपलगायतका मुलुकबाट पर्यटक आउछन् । पर्यटन मन्त्रालयका अनुसार सन् २०११ मा एक लाख ४३ हजार ८८७, २०१२ मा एक लाख ३९ हजार ८८५ र सन् २०१३ मा एक लाख ५६ हजार ८५८ पर्यटकले पशुपतिनाथको भ्रमण गरेका छन् ।

राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा तीन लाख ८४ हजार ३२१ जनाले भ्रमण गरेका छन् । सन् २०१५ मा पाँच लाख ३८ हजार ९७० जना तथा सन् २०१४ मा सात लाख ९० हजार ११८ पर्यटक भ्रमणका लागि आएका थिए । भूकम्प र नाकाबन्दीले अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतले पर्यटक आवागमन घटेको छ ।


Facebook Comment


No ads found for this position