भैरवलाई खुसी बनाउन सके जीवनमा रोगव्याधीबाट मुक्त हुने

भक्तपुर, ९ साउन । नेवारी समुदायमा भैरवको स्थान उच्च रहेको छ । भैरवलाई कुल देवताका रुपमा पुज्ने नेवारी समुदायमा भैरवलाई खुसी बनाउन सके जीवनमा रोगव्याधीबाट मुक्त हुने र आफ्ना ग्रहदशासमेत हटेर जाने विश्वास रहेको छ । त्यसैले हरेक नेवारी समुदायमा भैरवलाई मूल देवताका रुपमा पुज्ने र यसको मन्दिरको मुख्य स्थानमा स्थापना गर्ने गरेको पाइन्छ ।

भैरवलाई समाज रक्षकका रुपमा समेत लिने भएकाले नेवारी समुदायमा भैरवको नाच देखाउने र यस्तो नाच देखाउँदा टोल समुदायमा कुनै राक्षसी प्रवृत्तिले आक्रमण गर्न नसक्ने, कुनै प्रकारका दुःख कष्ट नआउने विश्वास रहेको पाइन्छ ।
BHAIRAB DANCE
मध्यपुर थिमिमा पनि भैरव नाचलाई समुदायको एक महत्वपूर्ण नाच र संस्कृतिका रुपमा लिने गरिन्छ । तर साढे चार दशकदेखि मुख्य त आर्थिक अभावका कारण सो भैरव नाच सञ्चालनमा आएको थिएन । लाय्कू भैलः (दरबारको भैरव) नामले परिचित भैरव नाच साँढे चार दशकपछि गत वर्ष केही युवाको अथक प्रयासबाट पुनः सुरु भएको थियो । सो नाचलाई यसवर्ष पनि निरन्तरता दिने उद्देश्यले शनिबार लाय्कू भैलः सञ्चालन समितिले लाय्कू भैलः भैरव नाच सञ्चालन गर्न सहयोग गर्ने दातालाई सम्मान गरेको छ । समितिले दाताहरुलाई सम्मान गर्दै यस वर्ष नाचमा सहभागी हुने गुरु र देवगण हुने कलाकारहरु सार्वजनिक गरेको छ ।

सो अवसरमा शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीले नेपाली मात्रको अमूर्त सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मल्लकालीन अवस्थामा तत्कालीन राज्यस्तरबाट सञ्चालित भैरव नाचको विशेष महत्व भएको चर्चा गर्नु भयो ।
स्थानीय समाजसेवी बालकृष्ण पात्या श्रेष्ठले भैरव नाच सञ्चालन गर्न दर्जनौँ कलाकारको आवश्यकता पर्ने र अहिलेको अवस्थामा रु १० लाखसम्म खर्च हुने गरेको उल्लेख गर्दै देशकै शानका रुपमा रहेको भैरव नाचको संरक्षण, सम्बद्र्धन र निरन्तरताका लागि सम्पूर्ण पक्षले आ–आफ्नोतर्फबाट योगदान दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

अर्का समाजसेवी प्रेमकृष्ण श्रेष्ठले स्थानीय निकायबाट संस्कृति जगेर्ना गर्न अक्षयकोष बनाउनुपर्नेमा जोड दिनुभयो ।

भैरव नाचमा दुई जना भैरव, दुई जना दाय्गी (कुमारी) र एक ज्यापुग कलाकार हुन्छ । भैरव नाचमा एक दर्जन दागः (काठ र छालाबाट बनेको बाजा), आठ भूस्याय् बाजा, आठ जनाले पोङ्गा बाजा र मुहाली (सनई) बजाउने गरिन्छ ।

भैरव नाचलाई भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया) देखि पञ्चमी (गाईजात्राको भोलिपल्टदेखि चारदिन) सम्म थिमिको लाय्कू, दथुटोल, बालकुमारी, दिगुटोलगायत विभिन्न ठाउँमा प्रदर्शन गर्ने परम्परा रहेको छ ।

मध्यपुरथिमि क्षेत्रमा दुई भैरव नाचको प्रचलन रहेको छ । एक लाय्कू भैलःले परिचित भैरव नाच, दोस्रो थिमिका प्रजापतिहरुले सञ्चालन गर्ने भैरवनाच । प्रचलित संस्कृतिअनुसार लाय्कू भैलः भैरव नाच सञ्चालन हुने भएपछि प्रजापतिहरुले भैरव नाच प्रदर्शन नगर्ने प्रचलन रहेको छ ।


Facebook Comment


No ads found for this position