ऐतिहासिक स्थल वाल्मीकि आश्रम छायामा
नारायण ढुङ्गाना
रत्ननगर (चितवन), १० साउन । प्राकृतिक दृष्टिले समेत अति सुन्दर लाग्ने चितवन माडीको एउटा कुनामा रहेको वाल्मीकि आश्रम ऐतिहासिक रुपमा समेत प्रख्यात ठाउँ हो ।
त्रेतायुगको कथा जोडिएको यो स्थानमा कुख्यात डाँकु रहेका रत्नाकरले ब्रह्मज्ञान प्राप्त गरेर महर्षि वाल्मीकि बनेका थिए । उक्त क्षेत्रसँग सीता र लव–कुशको प्रसङ्गसमेत जोडिन्छ । हिन्दुको पौराणिक महत्व बोकेका छ आश्रमको रामायणमा पनि वर्णन छ ।
सुन्दर नारायणी नदीको काखमा निकुञ्ज समीप रहेको रमणीय, वन्यजन्तु र चराचुरुङ्गीको क्रिडास्थल, ऐतिहासिक एवम् धार्मिक महत्वको यो क्षेत्र आफैँ छायामा छ । “चितवनवासीका लागि यो हीरा हो,” आश्रमका पुजारी शेखर सुवेदीले भन्नुभयो – “नेपालीले हीरा चिन्नै सकेनन् । म भन्छु, उत्तरको सगरमाथा ग्रेटवाल भएजस्तै यो दक्षिणको ग्रेटवाल हो ।”
चितवनको माडी नगरपालिका–९ मा पर्ने निकुञ्जको पश्चिम भारतको सिमानामा वाल्मीकि आश्रम रहेको छ । चितवनको जिल्ला सदरमुकाम भरतपुरबाट एक सय किलोमिटर टाढा वाल्मीकि आश्रम अवस्थित । नेपालमा भएको उक्त धार्मिक क्षेत्रमा नेपालीको उपस्थिति न्यून छ भन्दा तपाईंलाई आश्चर्य लाग्न सक्ला । तर नेपालीभन्दा दोब्बर जसो भारतीय यहाँ पूजा गर्न आउने गरेका छन् ।
उत्तर छेउमा १४ सुकुम्वासी परिवारका झुप्रा, दक्षिण छेउमा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट, पूर्वपट्टि चितवन निकुञ्जको घना जङ्गल छ । बीचमा दुईवटा सुन्दर मन्दिर छन् । “यहाँ इतिहासकार, सरकारी अधिकारी, सञ्चारकर्मी कोही आउँदैन,” पुजारी शेखर सुवेदीले दुखेसो गर्दै भन्नुभयो – “ऐतिहासिक क्षेत्रको कसैलाई माया छैन ।”
अढाइ लाख वर्ष अघिको लुम्बिनी त्यस्तो भइसक्यो, साढे १७ लाख वर्ष अघिको बाल्मीकिलाई जिल्लावासीले नै नचिन्नु विडम्बना रहेको सुवेदी बताउनुहुन्छ । नेपालकै यस गौरवलाई सिङ्गार्न चासो नदिएकामा दुखेसो गर्छन् स्थानीयवासी । “यत्रो ठूलो तीर्थ किन हेला ?” – सुवेदीको प्रश्न छ ।
बाक्लो चहलपहल हुनुपर्ने वाल्मीकि आश्रममा कुनै भ्रमण टोलीबाहेक दैनिक ५०÷६० जना मात्रै आउने गरेका छन् । आएकाहरु पनि अधिकांश भारतीय हुन्छन् ।
वाल्मीकि आश्रम निर्माण उपभोक्ता समितिका सचिव मदन ज्ञावली साँच्चिकै वाल्मीकि आश्रममा राज्यको दृष्टि पुग्न नसकेको बताउनुहुन्छ । पर्यटन बोर्ड, सहरी विकासलगायत क्षेत्रबाट कार्यक्रम आए पनि निकुञ्जको कारण विकास हुन नसकेको उहाँको भनाइ छ । यसले गर्दा अहिले पनि आश्रम ओझेलमा छ । यसको विकासका लागि सबै लाग्न जरुरी भएको स्थानीयवासी माला व्यापारी यमबहादुर थापाको भनाइ छ ।
ऐतिहासिक महत्व बोकेको आश्रम आसपासमा धेरै पौराणिक कुरा पाइन्छन् । अमृत कुवा छ । लवकुशले घोडा बाँधेको खम्बा छ । सीताले प्रयोग गरेको सिलौटो छ । यहाँ आएका आगन्तुक सिलौटो पिसेको तस्बिर लिएर मात्रै जाने गरेका छन् । नजिकै वाल्मीकिको समाधिस्थल छ । लवकुशको जन्मस्थल, शिक्षादीक्षा दिएको ठाउँ, उनीहरुले खेलेको स्थान र आकर्षक विष्णु चक्र पनि छ । वाल्मीकिले रामायण यहीँ बसेर लेखेको भनाइ छ । अठासी हजार ऋषिले हवन गरेको कुण्ड जीर्ण बनेको छ । प्राचीन हवनद्वारबाट मानिस आवतजावत गर्छन् । यी सबै क्षेत्र जीर्ण छ । एउटा मन्दिर दुःखसुखले बनाएको भए पनि अधिकांश जीर्ण भएका छन् । भारत मोतिहारीकी शालिनी कुमारी सीताले प्रयोग गरेको सिलौटो पिस्दै हुनुहुन्छ । उहाँका परिवारसहित पाँचजना सँगै घुम्न आएका छन् । “देख्ने के लिए आया हुँ,” शालिनीले हिन्दीमै भन्नुभयो, “याँ पे शान्ति मिल्ती हे ।” पहिलो पटक वाल्मीकि आश्रम आएकी शालिनीले पढेको आधारमा जानकारी पाएर घुम्न आएको बताउनुभयो । आधी शिव र आधी विष्णुको अवतार भएको मूर्ति आकर्षक देखिन्छ । तर विडम्बना राम्रो एउटा शौचालयसमेत छैन भने खानेपानीको व्यवस्था पनि हुन सकेको छैन ।
सीता पातल भासिएको स्थान
किंवदन्तीअनुसार गर्भिणी भएर वाल्मीकि आश्रममा पुगेकी सीताले लवकुशलाई सो क्षेत्रमा जन्म दिएकी थिइन् । उनीहरुको शिक्षादीक्षासमेत सोही स्थानमा भएको थियो । सोही ठाउँबाट सीता पातल भासिएको भन्ने भनाइसमेत छ । सीता आउनुको पनि छुट्टै कथा छ । लङ्काबाट रावणलाई जितेर फर्किएपछि केही समय रामराज्य चल्यो । रामले जनतालाई केही समस्या छ कि भनेर बुझ्न गाउँमा दूत पठाए । एउटा धोबीले नसोधी माइत गएकी श्रीमतीलाई कुट्दै गएको दूतले देखेछ ।
‘म रामजस्तो हो, हरण गरेपछि पनि चोखी छ भनेर ल्याउने’ भनेर कुटेको दृश्य दूतले रामलाई सुनाएछ । त्यसपछि रामले गर्भिणी सीतालाई निकालेपछि वाल्मीकि आश्रम आएको किंवदन्ती रहेको हिन्दु धर्मका गुरु रामेश्वर खनाल बताउनुहुन्छ ।
भारत भूमि हुँदै जानुपर्ने समस्या
चितवनको माडीमा पर्ने वाल्मीकि आश्रम जान भारतको भूमि टेक्नुपर्छ । यसका कारण भक्तजनलाई सास्ती छ । नवलपरासी त्रिवेणी क्षेत्रको दशगजाबाट आठ किलोमिटर भारतीय भूमि छिचोलेर आश्रम पुगिन्छ । ६ किलोमिटर क्षेत्र भारतको वाल्मीकि टाइगर रिजर्व हिँड्नुपर्छ । ठाउँठाउँमा भारतीय सुरक्षाकर्मीबाट जाँच हुन्छ ।
त्रिवेणीधामबाट हिउँदमा डुङ्गा चल्ने गरेपनि नदीमा जोखिम यात्रा हुने भएकाले धेरै मानिस भारत हुँदै जाने गरेका छन् । यही झन्झटले मानिस जान चाँहँदैनन् । सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक दिनेश शाह सर्वसाधारणलाई भारत भएर आउनुपर्दा सास्ती हुने गरेको बताउनुहुन्छ । “भारत हुँदै आउँदामा खल्लो लाग्यो,” पश्चिम चितवनबाट वाल्मीकि आश्रम पुग्नुभएकी वसुन्धरा थापाले भन्नुभयो, “आफ्नै जिल्ला भारत नै पो हो कि भन्ने लाग्ने क्या !”