गुल्मीमा पहिरोले दुईवटा घर पुरिँदा, पाँचको मृत्यु

११ साउन, काठमाडौं । गुल्मीमा छुट्टा–छुट्टै स्थानमा पहिरोले दुईवटा घर पुरिँदा पाँच जनाको मृत्यु भएको छ। हस्तीचौर गाविसको माल्दीमा भीमबहादुर दर्जीको घर मंगलबार बिहान पहिरोले पुरिँदा उनकी श्रीमती ४९ वर्षीया तुलसी, बुहारी १९ वर्षीया अस्मिता दर्जी र दिदी ६५ वर्षीया कालिका दर्जीको मृत्यु भएको प्रहरी नायब निरीक्षक युवराज रेग्मीले जानकारी दिए।घरभन्दा भन्डै ५०० मिटरमाथिबाट खसेको पहिरोले दर्जीको घर पुरेको प्रहरी नायब निरीक्षक रेग्मीले बताए।
यस्तै, गुल्मीकै विशुखर्क–९ मा रहेको गोपाल राणाको घर पहिरोले पुरिँदा उनका एक छोरा र एक छोरीको मृत्यु भएको छ। पहिरोमा पुरिएर राणाका ८ वर्षीय छोरा सुजन राणा र ६ वर्षीया छोरी सीमाना राणाको मृत्यु भएको रेग्मीले बताए।उनका अनुसार बिहान घरभन्दा ५० मिटर माथिबाट आएको पहिरोले राणाको घर पुरिँएको थियो।