नेपालको पर्यटन २०१६ को अन्त्यतिर पहिलेकै अवस्थामा पुग्छ:जोशी

भूकम्पपछि नेपालको पर्यटन क्षेत्र माथि उठ्न सकेको छैन। पर्यटन प्रवद्र्धनका सम्वन्धमा पर्यटन बोर्डले विभिन्न पहल भइरहेको जनाएको छ। प्रस्तुत छ यस सम्वन्धमा रवीन्द्र शाहीले बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीसँग गरेको कुराकानीको संक्षिप्त अंश :
Deepakraj-Joshi-CEo-tourisaभूकम्पपछिको पर्यटनलाई पुनर्स्थापना गर्नका लागि पर्यटन बोर्डले के कस्ता कामहरु गरिरहेको छ ? 
हामीले पनि के महसुस गर्यौँ भने, यहाँ जे जति भौतिक संरचनाहरुमा क्षति भयो त्यो भन्दा बढी क्षति नेपालको गन्तव्यप्रति रुपमा नकारात्मक धारणा बन्यो। संसारभरकै मिडिया नेपाल आए र उनीहरुले महिना दिनसम्म भत्किएका संरचना, मान्छेहरुका भागदौडजस्ता त्रासदीपुर्ण खबरहरु प्रचारप्रसारमा ल्याए।
नेपाल आउने इच्छा देखाउने पर्यटकहरुमा पनि नेपाल गन्तव्य असुरक्षित भयो भन्ने ‘परसेप्सन’ भयो। तर वास्तविकता त्यस्तो थिएन। ७५ जिल्लाकै कुरा गर्ने हो भने केही सीमित स्थानहरुमा मात्र प्रभाव परेको थियो। हामीले दिने अन्य सेवाहरु एयरपोर्ट, राजामार्गहरु सुचारु नै थिए। ९० प्रतिशतभन्दा बढी होटलहरु सुरक्षित थिए। त्यस्तै अरु गन्तव्यहरु त पुर्णरुपमा सुरक्षित थिए।
त्यसैले हामीले गएको वर्षमा यस्ता गतिविधिहरु गर्यौँ जहाँबाट सकारात्मक म्यासेज प्रवाह होस। जसको अहिले हामीले उत्साहजनक ‘रेस्पोन्स’ पाईरहेका छौँ आउने सिजनहरुका लागि। संख्याकै कुरा गर्ने हो भने पनि यो बीचमा हामीले ७० प्रतिशतभन्दा बढी पर्यटकहरु ल्याउन सफल भएका छौं सन २०१४ को तुलनामा।
अघिल्ला वर्षहरुमा होटलहरुको अकुपेन्सी हेर्दा चिनियाँ र भारतीय पर्यटकहरुले मात्र भरिएको देखियो। यस हिसाबले हामी यूरोपियन, अमेरिकन तथा अन्य क्षेत्रका पर्यटक आकर्षित नगरिकन पर्यटनमा  दिगो हुन सक्छौँ ? 
यसलाई  कसरी बुझौँ भने, अहिले भारत र चीनको आर्थिक क्षमता ह्वात्तै बढेको छ। त्यसैले त्यहाँको बाहिर जाने प्रवृत्ति पनि बढेको छ। अहिले हेर्ने हो भने २०१३ देखि पर्यटक पठाउनेमा चीन संसारकै ठूलो देश हो।
भारतको स्थान पनि कम छैन। हामीले मात्र होइन कि संसारले नै त्यहाँका पर्यटक आकर्षित गर्न खोजिरहेका छन्। त्यसकारण हामीले उनीहरुलाई कम महत्व दिनु हुँदैन। यसको अर्थ हामीले यूरोप अमेरिकाको पर्यटकलाई घटाएको अथवा बेवास्ता गरेको पनि होइन। हामीले बजारलाई पनि तीनथरिको मार्केट सेग्मेन्ट गरेर हेरिरहेका छौँ। ‘भ्यालुबेस’, ‘भोल्युमबेस’ र ‘इमर्जिङ मार्केट’ भनेका छौँ। भ्याुलुबेस भनेको बढी खर्च गर्नेमा अहिले पनि पश्चिमाहरु नै बढी छन्। भोल्युमबेस भन्नाले भारतीयहरु छन्।
हामीकहाँ कस्तो अभ्यास छ भने, होटलमा खचाखच मान्छेहरु हुन्छन् व्यपार पनि चलेकै हुन्छ तर गोरो छाला नदेखेसम्म पर्यटक आएनन् भन्ने रहेको छ। पर्यटक भनेको आन्तरिक र बाह्य भन्ने पनि हटिसक्यो कतिपय देशहरुमा।
पर्यटक भनेको त्यो हो जो बाहिर घुम्न जान्छ, जसले पैसा खर्च गर्छ। पहिलेको धारणा के थियो भने, पर्यटक हुनका लागि २४ घण्टा बाहिर जानुपर्ने, एक रात बाहिर बिताउनुपर्ने भन्ने थियो।
युरोप र अमेरिकाका पर्यटकहरु आकर्षित भएनन् भने नेपालको पर्यटन विकास हुन सक्छ त ?
हाम्रो गन्तव्यमा पनि विविधता रहेको छ। हिमाल आरोहण, पदयात्रा जस्तो गन्तव्यमा पश्चिमा पर्यटकहरुले पनि धानिरहेका छन्। त्यस्तै धार्मिक गन्तव्यमा भारतीय र दक्षिणपुर्वी एसियनहरु पनि आकर्षित भएका छन्। त्यसैले हामीलाई विभिन्न गन्तव्यमा सो अनुसारका पर्यटकहरु आवश्यक हुन्छन्। एउटालाई बेवास्ता गरेर अर्कोलाई प्राथमिकता दिन्छौँ भन्नु त भएन।
युरोपियन र अमेरिकन पर्यटकहरुलाई भित्र्याउन के कस्ता कार्यक्रमहरु गरिरहनु भएको छ ? 
यसको लागि हामीले विभिन्न प्रकारका प्रवद्र्धनात्मक कार्यक्रमहरु गरिरहेका छौँ। भर्खरैमात्र अमेरिकाका पाँचवटा शहरमा कार्यक्रम पुर्याएका छौँ। नेपालमा पर्यटक पठाउने त्यहाँका टुर अपरेटरहरुसँग यहाँका व्यवसायीहरुको सम्वन्ध बढाउन कोसिस गरेका छौँ।
अर्कोतर्फ त्यहाँका स्थानीय मिडियाहरुलाई बोलाएर हामी पुर्ण रुपमा ‘ब्याक टु नर्मल’ भईसक्यौँ भन्ने खालका सन्देश दिने काम ग¥यौँ। अर्को कुरा त्यहाँ नेपाल सेल गर्ने र इच्छुक अपरेटरहरुलाई ओरेन्टेसन पनि ग¥यौँ।
स्पेन, जर्मनी, फ्रान्स, नर्वे लगायत युरोयियन देशहरुमा पनि ठूलाठूला ट्राभल फेयरहरुमा सहभागिता जनायौँ। विभिन्न अन्तर्राष्ट्रिय च्यानलहरुबाट यहाँको पर्यटन प्रचार प्रसार गरेका छौँ। करिब १३० वटा मिडियाहरुलाई बोलाएर हामीले घुमाई सकेका छौँ।
अर्को काम भनेको  कुटनीतिक नियोगहरुमा राखिएका पर्यटन च्याप्टरबाट पनि प्रबद्र्धनका कामहरु गर्ने गरेका छौँ। अहिले हामीले डिजिटल मार्केटिङलाई फोकस गरेका छौँ। नेपालको सकारात्मक स्टोरीहरु राख्ने उद्देश्यले भूकम्पपछि ‘नेपाल नाउ’ भन्ने ह्यासट्याग नै सुरु गरेका छौं। त्यो पनि सफल क्याम्प्यानिङ हो।
अबको सिजनप्रति यहाँको कस्तो अपेक्षा छ ? 
हामी सन् २०१६ को अन्त्यतिर पनि आयौँ अवको सिजनमा हामी पहिलेकै अवस्थामा पुग्छौँ भन्ने अपेक्षा गरेका छौँ। पुरै नसके पनि ०१४ को ९० प्रतिशत पर्यटक भित्र्याउनेमा आशावादी छौँ।
पर्यटन प्रवद्र्धनको लागि अहिलेका बाधा अवरोधहरु केके देख्नुहुन्छ?
मलाई व्यक्तिगत रुपमा के लाग्छ भने अधारभुत पूर्वाधारहरु बढाउन जरुरी छ जुन हामीले बेवास्ता गरिरहेका छौँ। जस्तो अहिले पनि हामीसँग यति धेरै गन्तव्यहरु रहेका छन् तर एउटा मात्र अन्तराष्ट्रिय विमानस्थल रहेको छ। त्यो पनि सानो छ, सुविधाजनक छैन। भैरहवामा निर्माण हुने अर्को अन्तराष्ट्रिय विमानस्थल छिटो निर्माण गर्नुपर्छ।
त्यस्तै पोखराको पनि छिटो निर्माण गर्नु आवश्यक छ। राजनीतिक रुपमा सहज वातावरण दिनु आवश्यक छ। देशभित्र बन्द हडताल मात्र पनि भएन भने यसले ठूलो सहयोग गर्छ।
सरसफाईका कुरा, सञ्चारको सुधारजस्ता अन्य इनोभेसनका कामहरु पनि गर्नु आवश्यक छ। जस्तो इन्टरनेटको गति तिब्र छ्रैन। व्यवसायीहरुमा गुणस्तरीय र बढी पर्यटक भित्र्याउने भन्दा पनि रेट घटाएर पर्यटक आफूसँग लिने प्रतिस्पर्धा बढेको छ। जसले संख्या बढ्दैन तर आय कम हुँदै जान्छ। मुख्य कुरा बलियो नियमन आवश्यक हुन्छ अर्को व्यवसायीहरुलाई पनि सुझाव दिने अथवा ओरेन्टेशन दिनु आवस्यक छ।
सन् २०१५ मा पर्यटकहरुको संख्या घट्यो। तर राजश्व भने बढेको पाइयो। यसको कारण के होला ? 
यसबीचमा के भयो भने भूकम्पको समयमा ठूला ठूला उद्दार टोलीहरु आए। उनीहरु ठूला होटलमा बसेका थिए। त्यसले गर्दा खर्च बढ्यो। बसाई पनि लम्बियो यो पनि एउटा कारण हुन सक्छ।
दश वर्षे पर्यटन रणनीति पनि आएको छ। यसको कार्यान्वयनमा कति आशावादी हुन सकिन्छ ? 
यसपटक बढी आशावादी हामी किन पनि छौँ भने नागरिक समाज, राजनीतिक दलहरु तथा व्यूरोक्र्याट्सहरु सबैको प्राथमिकता आर्थिक विकास नै छ। त्यो हिसावले अब सबैजना विकासको बाटोतिर लम्किन्छन् कि!
बोर्डमा आउँदाखेरि नै सन् २०१६ लाई ‘सर्भिलेन्स इयर’ बनाउने भनेर भन्नुभएको थियो। त्यसको लागि केके कामहरु भईरहेका छन्? 
त्यसको लागि हामीले कठोर परिश्रम पनि गरिरहेका छौँ र आशावादी पनि छौँ। आउने वर्षमा हामी रसियन मार्केटमा जान खोज्दैछौँ । त्यहाँका मान्छेहरु टर्की र इजिप्टमा जान्थे जहाँ अहिले आशान्ति छ। त्यसकारण त्यहाँ हामी केन्द्रित हुन खोजिरहेका छौँ।
अर्को गल्फ देशहरुमध्ये मध्यपूर्वमा फोकस गर्न खोज्दैछौँ। त्यहाँका देशहरुमा हाम्रो हवाई कनेक्सन पति राम्रो रहेको छ। अर्को कुरा त्यहाँ भारतिय नागरिकहरु धेरै रहेका छन्। उनीहरुलाई केन्द्रित गरेर कार्यक्रमहरु बनाउँदै छौँ । दक्षिणपूर्वी एसियन देशहरु पनि उदयमानरुपमा आइरहेका छन्।
तत्काल यूरोप अमेरिकाका देशहरुमा हाम्रो हवाई कनेक्सन पनि राम्रो छैन। हामीसँग आफ्नै जहाजहरु पनि छैनन्। अर्को कुरा त्यताबाट आउने पर्यटकहरुको लागि हवाई सुविधा सहज छैन। त्यहाँ पनि हामी प्रवद्र्धन त गर्छौँ तर भारत र चीनतिर बढी केन्द्रित गर्छौँ।
तत्कालको लागि पर्यटन प्रवद्र्धनको लागि चाहिने पुर्वाधारहरु के के आवश्यक देख्नुहुन्छ ? 
अहिलेको अवस्थामा एकदमै चाहिने भनेको आधारभुत पूर्वाधार  हुन्, ठूला पूर्वाधार चाहिँदैन। अर्को आक्रमक प्रचारप्रसार हो। यसलाई खर्चको रुपमा होइन कि लगानीको रुपमा हेरिनु प¥यो। माल्दिभ्स, श्रीलंका जस्ता देशहरुले धेरै रकम प्रचारप्रसारमै खर्च गर्ने गरेका छन्।  हामीसँग काम गर्ने वातावरणमा जुन ‘डुप्लिकेसन’ छ त्यसलाई मौलिक बनाउन जरुरी छ। यसको मतलव एउटै काम र सेवाहरु धेरै संस्थाहरुले गर्ने नभई अलि व्यवस्थित गरिनु पर्छ। हामीले बढाउन खोजेको आन्तरिक  पर्यटनको पाटो पनि छ। त्यसमा हामीले घुमफिर वर्ष भनेर भनेका छौँ। आन्तरिक पर्यटन अन्यत्र बलियो छ, तर हामीकहाँ छैन। यसको मुख्य उद्देश्य भनेको घुमफिरको माहोल सिर्जना गर्ने हो।
आन्तरिक पर्यटनलाई कसरी बलियो बनाउन सकिएला त ? 
यसमा हामीले दुईचारवटा माध्यमबाट गर्न खोजेका छौँ। एउटा प्रचार प्रसार गरी घुम्न जानुपर्छ भन्ने मान्यता स्थापित गर्नुपर्छ। आफ्नो देश आफै चिन्नको लागि यो जरुरी छ। घुम्न गएपछि त्यहाँको आर्थिक गतिविधि पनि चलायमान हुने भयो भने नयाँ संस्कृति समाजिकीकरण पनि हुने भयो।
अर्को कुरा मान्छेहरु कामबाट तनाबमा हुन्छन्। पहिले पर्यटनलाई ‘लक्जरी’को रुपमा हेरिन्थ्यो भने अहिले जरुरतको रुपमा स्थापित हुँदै गएको छ। कामबाट फुर्सद लिई नयाँ ठाउँमा घुम्न जानु मानसिक स्वास्थ्यको लागि पनि आवश्यक छ भन्ने बुझ्न थालिएको छ।
यहाँसम्म कि ऋण लिएर घुम्न जाने चलन पनि बढेको छ। त्यसकारण संसारमा तीव्र रुपमा बढिरहेका सीमित उद्योगमध्ये पर्यटन उद्योग पनि हो।


Facebook Comment