दुई सय पर्यटक लुक्लामा रोकिए

सोलुखुम्बु, ११ साउन । एघार दिनदेखिको लगातार वर्षा र बाक्लो हुस्सुका कारण सोलुखुम्बुको हवाई सेवा पूर्ण रुपमा अवरुद्ध छ ।
बाक्लो हुस्सु लागिरहेका कारण जिल्लाका चार विमानस्थलमध्ये फाप्लु र तेन्जिङ हिलारी विमानस्थल लुक्लामा उडान तालिका भए पनि उडान अवरुद्ध भइरहेको छ । काँगेल विमानस्थल दुई वर्षदेखि बन्द छ भने स्याङ्बोचे विमानस्थलमा पनि फाप्लु र लुक्लाबाट मात्र उडान भइरहेकामा त्यहाँ पनि अवरुद्ध भएको छ ।

यसबेला लुक्ला विमानस्थलमा सबै कम्पनीका गरी दैनिक पाँच÷छ वटा उडानको तालिका भए पनि मौसम खराबीका कारण स्थगन गर्नुपरेको तारा एअरलाइन्स लुक्लाका इन्चार्ज फुनुरु शेर्पाले जानकारी दिनुभयो ।

शेर्पाका अनुसार उडान नहुँदा २०० भन्दा बढी विदेशी पर्यटक लुक्लामा रोकिएका छन् । मौसम खुल्ने आशामा उनीहरु बिहानदेखि विमानस्थलमा आउने र उडान स्थगन भएपछि होटलमा फर्कने गरेको होटल व्यवसायी दोर्जी शेर्पाले बताउनुभयो । सगरमाथा क्षेत्रको भ्रमण सकेर फर्केका उनीहरु खर्च अभाव भएको र स्वदेश फर्कने हवाई टिकटको मिति सकिन लागेको भन्दै चिन्तित छन् ।

विमानस्थल अवरुद्ध हुँदा सुर्के–जुभिङ हुँदै सल्लेरीसम्म पैदल यात्रा गरी त्यहाँबाट जिपमार्फत राजधानी फर्कने विकल्प भए पनि गत असार २२ गते सुर्केमा गएको पहिराका कारण पदमार्ग बगाएकाले पैदल यात्रा गर्न असहज छ ।
यता फाप्लु विमानस्थलमा पनि उडान नहुँदा विशेष गरी फाप्लु अस्पतालबाट अन्यत्र पठाइएका बिरामी मर्कामा पर्ने गरेका छन् । अन्य यात्रुका लागि भने सल्लेरी–काठमाडौँ सडक मार्ग सञ्चालनमा रहेकाले धेरै असहजता नभएको यात्रु बताउँछन् ।


Facebook Comment


No ads found for this position