गाउँका होमस्टेमा विदेशी पाहुनालाई राख्दा भाषाको मुख्य समस्या : अध्यक्ष अमात्य

नेपालमा विस्तारै विस्तारै होमस्टेको अवधारण विकास हुदै गएको छ । राजधानी नजीकै जोडीएकाृ जिल्ला काभ्रको पनौतीमा  होम स्टे संचालनमा आएर निकै चर्चा परिचर्चा बटुलेको छ । पनौतीमा होम स्टेको संमभावना र चुनौतीका बिषयमा पनौती होमस्टे अध्यक्ष शीला अमात्य सग गरीएको कुराकानी

sila-660x330पनौतीमा के कसरी होमस्टे सञ्चालन गरिरहनुभएको छ ?

पर्यटन बोर्डमा दर्ता भई पनौतीका १५ वटा घरमा महिला मात्रै सहभागी भएर सञ्चालन गरिरहेका छौँ । यहाँको ४, ५, ६, १०, ११ र १२ नम्बर वडाका घरमा सञ्चालन छन् । हामीले आफू बस्ने घरमै छुट्टै कोठाको व्यवस्था गरेर होमस्टे सञ्चालन गरिरहेको अवस्था छ ।

आफ्नै घरमा पर्यटकलाई राखेर होमस्टे सञ्चालन गरिरहँदा पारिवारिक समस्या आउँछ कि आउँदैन ?

होमस्टे भनेकै आफू बस्ने घरमा सञ्चालन गर्ने हो । त्यसैले परिवारका सबै सदस्यबीच समझदारी गराएर सञ्चालन गर्नुपर्छ । एक दिन आउने पाहुनाका लागि विशेष कोठा छुट्याउने र त्यसैमा सत्कार गर्ने हुनाले पारिवारिक कुरामा खासै अन्तरसम्बन्ध पनि हु“दैन । पाहुनासँग रमाइलो गर्नुपर्छ । होमस्टेमा आउने पाहुना पनि उच्छृङ्खलभन्दा पनि शान्त स्वभावका बढी हुने भएकाले खासै समस्या भेटिएको छैन ।

होमस्टे सञ्चालन गर्दा के–कस्ता कुरामा ध्यान दिनुपर्छ ?

होमस्टे सञ्चालनका लागि न्यूनतम मापदण्ड तोकिएको हुन्छ, त्यसलाई पालना गर्नुपर्छ । पाहुना सुत्ने ओछ्यान र कोठाको वरिपरिको वातावरण स्वच्छ र सफा हुनुपर्छ । कम्तीमा ६ फिटको खाट वा पलङ, त्यहीअनुसार मेट्रेस ओछ्याउनुपर्छ । स्वस्थ्यकर खाना खुवाउनुपर्छ । विदेशी पाहुना बिहानको समयमा दाल, भात, तरकारी नै मन पराउँछन्, हामी पनि त्यही खुवाउँछौँ । बारीमा हरियो तरकारी छ भने पाहुनालाई नै टिप्न लगाउने, पकाउन लगाउने र आफू पनि पकाउन सघाएर स्थानीय वातावरणमा रमाइलो गराउन सक्नुपर्छ । बेलुका आलुपरौठा, दाल, तरकारी, अचार खुवाउँदा राम्रो हुन्छ । माछा, मासु खाने-नखाने सोधेर पकाउन सकिन्छ ।

होमस्टे सञ्चालन गर्दा के–के कुरा सिक्नुपर्छ ?

जसले होमस्टे चलाउने हो, उसले आफूलाई स्वतःस्फूर्त राख्नुपर्छ । पाहुना जतिवेला पनि आउन सक्ने भएकाले कोठा सफा र चिटिक्क भइरहनुपर्छ । पाहुनासँग मीठो बोल्ने र नम्र भाषाले स्वागत गर्नुपर्छ । स्थानीय संस्कृति छ भने समयको तालिका मिलाएर देखाउनुपर्छ ।

विदेशी पाहुना आउँदा भाषाको समस्या हुन्छ, यसलाई कसरी निराकरण गर्ने ?

गाउँमा होमस्टे सञ्चालन गर्दा विदेशी पाहुनालाई राख्ने सवालमा भाषाको मुख्य समस्या देखिने गरेको छ । यस्तो समस्या हटाउन होमस्टे सञ्चालकलाई आधारभूत अंग्रेजी शिक्षा ३-३ महिनामा प्रदान गर्नुपर्छ । हामीले पनि त्यसै गरिहेका छौँ । खासगरी किचन र बेडरुमका सामान चिनाउन सामान्य अंग्रेजी भाषा बोल्न सिक्नैपर्छ । कम्तीमा ‘हेल्लो नमस्ते’ र ‘प्लिज कम’ जस्ता वाक्य भन्न सक्नुप-यो । ‘दिस इज योर बेड’, ‘दिस इज योर रुम’, ‘दिस इज माई किचन’जस्ता शब्द बोल्न सक्ने हुनुपर्छ ।

महिला–पुरुषमध्ये कसले सञ्चालन गर्दा राम्रो हुन्छ होला ?

होमस्टेचाहिँ पुरुषले भन्दा महिलाले नै सञ्चालन गर्नुपर्ने देखिन्छ । किनभने घर–बगैँचा र कोठा सफा गर्ने, अतिथिलाई स्वागत गर्ने, पकाउने–बनाउनेलगायतका काममा महिला नै संलग्न हुनुपर्ने भएकाले होमस्टे व्यवसायमा महिलालाई नै अगाडि सार्नुपर्छ । महिलालाई घरमै राखेर आत्मनिर्भर गराउने माध्यमसमेत बन्न सक्छ । आफ्नै घरमा होमस्टे सञ्चालन गरिरहे पनि लगानी त थप्नुपर्छ नै होला ।

के कति लगानी आवश्यक पर्छ ?

पाहुना राख्ने भएपछि स्वाभाविक रूपमा लगानी थप्नैपर्छ । बाथरुममा सावर, पलङमा राम्रो किसिमको ओछ्याउने, टेबलमा पत्रपत्रिकालगायत राख्नुपर्छ । अहिले पाहुनाले बिस्तारै बढी सुविधा खोज्न थालेकाले एउटा घरले एक डेढ लाख रुपैयाँ थप लगानी गर्नुपर्छ।

होमस्टे भन्नासाथ के कुराले आकर्षण गरिरहेको छ ?

यो व्यवसायमा आकर्षण बढिरहेको छ । हामी बिहान उठेदेखि बोल्ने, हिँड्ने, खाने, काम गर्ने तरिका नै विदेशी पाहुनाले मनपराइरहेका छन् । यस्ता कुराले प्रभाव पारिरहेको छ । पनौतीमा १२औँ, १३औँ शताब्दीका पुराना मन्दिर हेर्न पाहुना आइरहेका छन् । पुरानो नेवारी बस्ती, नजिकै रहेको नमोबुद्ध, गोरखनाथ, छोटो हाइकिङ रुट, नजिकै रहेको वनमा २ सय ४ थरीका चराहरू छन् । बिहान सूर्योदय पनि हेर्न सकिन्छ । यिनै कारण पनौतीमा आकर्षण बढिरहेको छ ।साभार :नयाँपत्रीका


Facebook Comment