खानेपानीका कर्मचारीको पारिश्रमिक १२ माना मकै !

सोलुखुम्बु, १४ साउन । वर्षभरी काम गरेबापत अन्न दिने चलन धेरैजसो ठाउँबाट हट्दै जाँदा सोलुखुम्बुको सोताङ गाविसमा भने खानेपानी आयोजनाका कर्मचारीहरुलाई पारिश्रमिक स्वरुप अन्न (मकै) दिने गरिएको छ ।

maize-grain-250x250सोताङ–१, २ र ३ मा पानी वितरण गरिने खानेपानी आयोजनाका उपभोक्ताले कर्मचारीलाई प्रतिघरधुरी प्रतिवर्ष १२ मानाका दरले मकै उपलब्ध गराउने गरेका छन् ।

बिहान र बेलुका गरी दुई÷दुई घण्टा धारामा पानी पठाउने, धारामा पानी नआए मर्मत गर्नेलगायत काम गर्न दुई जना कर्मचारी राखिएको छ । ३०० भन्दा बढी घरधुरी रहेको सो खानेपानी आयोजनामा हिउँदको समयमा एक दिनमात्र पानी बन्द भएमा गाउँमा पानीको हाहाकार मचिन्छ । त्यसैले कर्मचारीहरु सधैँ तयारी अवस्थामा बस्नुपर्छ । “एक दिन मात्र धारामा पानी बन्द भयो भने दुई घण्टा टाढादेखि पानी बोक्नुपर्ने बाध्यता छ । वर्षायाममा गाउँमा केही मुहान भए पनि हिउँदमा सबै सुक्छन्, धारामा पनि पानी कम आउँछ । एउटा धारामा आएको पानी ७ देखि १५ घरले प्रयोग गर्नुपर्छ । यसरी पानीको अभाव भएकाले हरेक घरबाट अन्न दिएर कर्मचारी राखिएको हो”–स्थानीयबासिन्दा गणेशबहादुर कार्कीले भन्नुभयो ।

सोताङ गाविस कोसी पारीका गाविसमध्ये पानीका स्रोत कम भएको गाविसका रुपमा चिनिन्छ । तलबाट बग्ने हुँगा खोलाको पानी प्रयोग गर्न सकिदैन भने रोकखोलाको पानी पनि बाक्लो बस्तीसम्म ल्याउन सकिदैन । त्यसैले सोताङ गाविसको वडा नं १ देखि ३ सम्मको बाक्लो बस्तीमा पावै–७ को सिँगाने खोलाबाट पानी लगिएको छ ।

विसं २०५२ देखि सञ्चालनमा आएको सो खानेपानी योजनाका दुई कर्मचारीलाई पारिश्रमिकको रुपमा प्रतिघर १२ माना मकै दिइँदै आएको सोताङ–३ का फणिन्द्रबहादुर कार्की बताउनुहुन्छ । दिनमा २ पटक धारामा पानी छाड्नुपर्छ, कतै समस्या नआएमा मर्मत पनि गर्नुपर्छ । यसैको लागि २ जना कर्मचारी राखिएको हो ।


Facebook Comment


No ads found for this position