कोसीको धार पश्चिम मोडिएपछि १२ हजार दुई सय घर जोखिममा

१५ साउन, । कोसीको धार पश्चिम मोडिएपछि नदी बीचमा रहेको श्रीलंका टप्पुका १२ हजार दुई सय घर जोखिममा परेका छन्।कोसीले असार र साउनमा मात्रै टप्पुको दुई हजार बिघा जमिन कटान गरेको छ।

श्रीलंका टप्पुमा मानिसको बसोबास पुरानै भए पनि २० वर्षअघि कोसीपूर्व महेन्द्रनगर र प्रकाशपुरतिर लागेपछि बस्ती घना भएको थियो।यहाँका बासिन्दाको तरकारी खेती, गाईबस्तु पालन नै मुख्य पेसा हो।ऐलानी जमिन भएकाले किन्नु नपर्ने र जति पनि भोगचलन गर्न पाइने भएकाले टप्पु धेरैतिरका किसानको रोजाइ बन्ने गरेको छ।तर टप्पुमा विद्युत्, टेलिफोन, स्वास्थ्य चौकी र प्रहरी चौकीसमेत अहिलेसम्म स्थापना हुन सकेको छैन।जोखिममा उनीहरूलाई राज्यबाट कुनै सहयोग भइरहेको छैन ।
कोसीको बाढी बस्तीमा पसेपछि डुबान सुरु भएको थियो।डुबानका कारण श्रीलंका टप्पुभित्रका निजी र सरकारी आठ विद्यालयको पठनपाठन बन्द छ।१९ सय ७१ जना विद्यार्थी विद्यालय जान पाएका छैनन्।बाढीका कारण डुंगा आउजाउमा समेत कठिनाइ भएपछि स्थानीयको हालखबर बुझ्न अहिले आफन्तहरू श्रीलंका टप्पु जान थालेका छन्।दिनभरमा एकपटक मात्र डुंगाले कोसी वारिपारि गर्छ।बीचबीचमा ठूला भँगाला रहेकाले नाउ चलाउन मुस्किल रहेको नाउका ठेकेदार भोगेन्द्र भट्टराईले बताए।