भूपू सैनिक चोरी सिकार नियन्त्रण अभियानमा जुट्दै

चितवन, १७ साउन । चितवन राष्ट्रिय निकुञ्जले दुई वर्षसम्म शून्य चोरी सिकार वर्ष मनाइरहँदा यसको जस पाउनेमा निकुञ्जसँगै अन्य स्वयम्सेवी निकायको पनि उत्तिकै भूमिका छ ।

संरक्षणतर्फ चासो राख्नेको सङ्ख्या पछिल्लो समय बढेर गएको छ । भूपू सैनिक र निकुञ्जका पूर्व कर्मचारी समेत सङ्गठित भई चोरी सिकार नियन्त्रण अभियानमा जुटिरहेका छन् ।

चौतीस वर्षसम्म नेपाली सेनामा कार्यरत भई सेनानी पदबाट अवकाश प्राप्त जगतपुरका शेरबहादुर घमको संयोजकत्वमा भूपू सैनिक र कर्मचारीको सञ्जाल सक्रिय रुपमा जुटिरहेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार पूर्व सैनिक र कर्मचारी सूचना लिन दख्खल र दत्तचित्त हुने हुँदा यो सञ्जाल निकै प्रभावकारी भएको छ । मध्यवर्ती क्षेत्रमा अवान्छित गतिविधि पाइएमा त्यसको सुराक दिने, त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिने र आवश्यक पर्दा गस्तीमा जान समेत यो सञ्जाल सक्षम भएको उहाँले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जमा समेत छ वर्ष नेपाली सेनामा रहेर संरक्षणको अनुभव सङ्गाल्नुभएका घमले वन र वन्यजन्तु हामी नेपालीको सम्पत्ति भएको भन्दै यसको संरक्षणमा भूपू सैनिक सङ्गठित भएर लागिरहेको बताउनुहुन्छ । सञ्जाललाई नवलपरासी जिल्लामा समेत विस्तार गर्ने योजना रहेको घमले बताउनुभयो ।

भूपू सैनिकसँगै पूर्व कर्मचारी, युवा, महिला, शिक्षक, विद्यार्थीलगायतका समूह पनि सञ्जाल बनाएर चोरी सिकार नियन्त्रण अभियानमा जुटिरहेका छन् । जसको परिणाम स्वरुप चोरी सिकारलाई शून्य बनाउन सहयोग पुगेको प्रमुख संरक्षण अधिकृत कँडेल बताउनुहुन्छ । निकुञ्जभित्र कर्मचारी र सुरक्षार्थ नेपाली सेना फरकफरक रणनीतिका साथ जुटेको छ भने मध्यवर्तीका बासिन्दा आआफ्नो ठाउँबाट संरक्षणमा सङ्गठित भएर लागिपरेका छन् ।


Facebook Comment


No ads found for this position