नमुना पर्यटकीय मार्ग निर्माण

धुन्चे (रसुवा), १८ साउन । तामाङ सम्पदा मार्गअन्तर्गत उत्तरी क्षेत्रको गतलाङ गाउँमा नमुना पर्यटकीय मार्ग निर्माण भएको छ । निर्माण उपभोक्ता समितिका अध्यक्ष चेरसिङ तमाङका अनुसार गतलाङ गाउँको सामुदायिक लजदेखि वडा नं २, ३, ४ र ५ सम्म सिँढी छापी पर्यटक हिँड्ने बाटो निर्माण गरिएको हो ।

हिमाली प्रकृतिको छटा, स्थानीय कलासंस्कृति, वेशभूषा, स्थानीय परिकारका खाना, पार्वती कुण्ड र वनस्पतिले पर्यटकलाई आकर्षण गर्ने क्षेत्र भएका कारण पर्यटन विभागको आर्थिक सहयोगमा करिब एक किमी गाउँले बाटामा सिँढी तथा नाली निर्माण गर्ने कार्य सम्पन्न गरिएकाले गाउँको सुन्दरता बढेको अध्यक्ष तामाङले बताउनुभयो ।

सिँढी निर्माण गर्न विभागबाट रु १९ लाख सहयोग प्राप्त भएको र नपुग रु छ लाख बराबरको स्थानीय बासिन्दाले जनश्रमदान गरेका थिए ।

पर्यटकको आगमन फाटफुट भइरहेको र गाउँको सुन्दरता बढेपछि अबका दिनमा भारी मात्राले पाहुनाको आगमन हुने अपेक्षा राखिएकोे छ ।

यस्तै स्थानीय क्षेत्रमा क्रियाशील गैससको सहयोगमा भूकम्पपछि क्षति पुगेको सामुदायिक लज मर्मत भइरहेको र वडा नं ४ मा सामाजिक भवन निर्माण अगाडि बढेको छ । सामाजिक घर निर्माण भएपछि त्यस क्षेत्रमा बसोबास गर्ने ४०० घरपरिवारलाई सबै प्रकारका पूजाआजालगायत काम गर्न सहज हुने स्थानीय बासिन्दाले बताएका छन् ।


Facebook Comment


No ads found for this position