पर्यटकबाट एघार करोड राजस्व सङ्कलन
१८ साउन, काठमाडौं । भक्तपुर नगरपालिकाले जिल्लाका सम्पदास्थलको अवलोकन गर्न आउने पर्यटकबाट पर्यटन शुल्कबापत गत आवमा १० करोड ९२ लाख ७५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

नगरपालिकाले पर्यटक शुल्कबापत गत आवमा गैरसार्क मुलुकबाट आएका पर्यटकबाट नौ करोड २६ लाख २० हजार र चीनसहित सार्क राष्ट्रका पर्यटकबाट एक करोड ६६ लाख ५४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा नगरपालिकाले गैरसार्क मुलुकका पर्यटकबाट २० करोड २५ लाख २२ हजार र चीनसहित सार्कराष्ट्रका पर्यटकबाट पाँच करोड ४५ लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
अघिल्लो आवमा भन्दा गत आवमा गैरसार्क मुलुकका पर्यटकको सङ्ख्यामा ७३ हजार र चीनसहित सार्क राष्ट्रबाट आउने पर्यटकको सङ्ख्यामा ७५ हजारले कमी आएको छ । पर्यटक घट्दा गत आवमा १४ करोड ७८ लाख १२ हजार रुपैयाँ पर्यटन शुल्कबापतको राजस्व घटेको छ । नगरपालिकाले गैरसार्क मुलुकका पर्यटकसँग प्रतिव्यक्ति एक हजार ५ सय रुपैयाँ र चीनसहित सार्क राष्ट्रबाट आउने पर्यटकसँग ५ सय रुपैयाँ पर्यटन शुल्क लिने गरेको छ ।