आँगनको मिठाइमा मलमुत्रमा पाइने ‘कोलिफर्म’

१८ साउन, काठमाडौं । अत्याधिक रुचाएर खाइने मिठाइमा दिसा-पिसाबमा पाइने कोलिफर्मको जिवाणु भेटियो भन्ने सुन्दा तपाईंलाई पक्कै पनि अचम्म लाग्यो होला । नलागोस् पनि किन, काठमाडौंमा अत्यधिक चर्चित आँगन ब्राण्डको मिठाइमा मानव मलमुत्रमा पाइने कोलिफर्म जिवाणु पाइएको छ ।

Angan-Sweetसरकारी टोलीले अनुगमन गर्दा आँगन मिठाइमा फोहोर भेटिएपछि नमूना परीक्षण गर्न प्रयोगशालामा पठाएको थियो ।

आँगन मिठाइको खुवाको ल्याव परीक्षण गर्दा १६ हजार कोलीर्फम भेटिएको आपूर्ति तथा उपभोक्ता विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए । प्रशोधित खाद्य पदार्थमा कोलिफर्मको मात्रा शून्य हुनुपर्छ । तर मिठाइमा रोग संक्रामक हानिकारक कोलिर्फम भेटिएको छ ।

‘कोलिफर्म खाद्यान्नमा हुनै हुँदैन । मिठाइ बनाउँदा प्रयोग गरिने पदार्थमा नै कोलिर्फम हुन सक्छ,’ श्रेष्ठले भने, ‘यो लापरवाहीको हद हो । १६ हजार कोलिर्फम भेटिनु भनेको सानोतिनो विषय होइन ।’

मुद्दा हाल्ने तयारी

आँगन मिठाइ पशुपति फुड्स प्रालिले उत्पादन गर्दछ । आपूर्ति विभागले संकलन गरेको नमूना परीक्षण खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रोगशालामा परीक्षण गरिएको थियो । कोलिर्फम सरसफाइमा बेवास्ता गर्दा फोहोर खाद्यान्न र पानीको प्रयोगबाट उत्पन्न हुने जीवाणु हो । कोलिर्फमयुक्त खाद्य पदार्थ खाँदा झाडापखालासहित विभिन्न संक्रामक रोग लाग्छ ।

विभागले कोलिफर्म उच्च पाइएको रिपोर्ट हात पारेपछि उत्पादकविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको छ । ‘जिल्ला अदालतमा मुद्दा दर्ताका लागि रिपोर्टको प्राविधिक परामर्श मागेका छौं,’ निर्देशक श्रेष्ठले भने, ‘उपभोक्ताको स्वास्थ्यमा खेलवाड हुने गरी मिठाइ बेचेबापत कडा कारवाहीको माग गर्दै मुद्दा दर्ता हुनेछ ।’

खाद्य ऐनमा दुषित खाद्य पदार्थ उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई ५ हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि दुई वर्षसम्म कैद वा दुवै सजायँ हुनसक्ने व्यवस्था छ ।

दूधबाट बन्ने खुवामा पिठो

यस्तै पशुपति फुड्स प्रालिले दूधबाट मात्र बन्ने खुवामा पिठो पनि मिसाएको पुष्टी भएको छ । उपभोक्तालाई स्टार्चयुक्त पिठो मिसाएर खुवामा ठगी गरिरहेको ठहर पनि विभागले गरेको छ ।

गत असार २२ गते तत्कालीन आपूर्ति मन्त्री गणेशमान पुन नेतृत्वको अनुगमन टोलीले आँगनको मिठाइ बन्ने स्थानमा अखाद्य घ्यू, तेल र अन्य खाद्य बस्तु भेटेको थियो ।

ललितपुर औद्योगिक क्षेत्रभित्र रहेको मिठाइ उत्पादन केन्द्रमा भएको अनुगमन गरिएको थियो । त्यतिबेला मिठाइमा प्रयोग भएको घ्यु तेलमा झिंगा र कमिला डुबेर मरेको भेेटेपछि, टोलीले नमूना लिएर त्यसलाई नष्ट गरेको थियो ।

मिठाइमा प्रयोग हुने पिठो लगायतका अन्य बस्तु पनि फोहोर र झिँगा भन्किरहेको भेटेपछि गुणस्तर जाँच गर्न पठाइएको थियो । यस्तै म्याद सकिएको मिठाइलाई पनि पुनः संकलन गरी मिठाइ बनाउने गरेको अनुगमनका बेलमा नै पुष्टी भएको थियो । मिठाइमा प्रयोग गर्ने पानी र पकाउने भाँडासमेत फोहर पाइएको थियो ।


Facebook Comment


No ads found for this position