खाडीमा नेपाली कामदारको माग घट्ने

मोहन गुरुङ
काठमाडौं, १८ साउन । नेपालको मुख्य श्रम गन्तव्य खाडी मुलुकमा नेपाली कामदारको माग घट्ने सम्भावना देखिएको छ ।अन्तरराष्ट्रिय बजारमा तेलको भाउमा आएको गिरावट र सिरिया तथा यमनको युद्धमा लगानी बढेकाले खाडी मुलुकमा नेपाली कामदारको माग घट्ने सम्भावना भएको हो ।

nepal-airportखाडी मुलुकको आम्दानी घटेको तथा युद्धमा ठूलो रकम खर्चिएकाले पछिल्लो समयमा नाम चलेका प्रतिष्ठित तथा ठूलठूला कम्पनीसमेतले समयमै नेपालीसहित अन्य कामदारलाई पारिश्रमिक दिन सकेका छैनन् । निर्माण तथा औद्योगिक क्षेत्रमा नयाँ लगानीसमेत विस्तार भएको छैन ।

तेलको भाउमा आएको गिरावट र सिरिया तथा यमनको युद्धमा लगानी गरिरहे नेपालीलगायत अन्य मुलुकका कामदारको माग घट्न सक्ने सम्भावना रहेको वैदेशिक रोजगार व्यवसायी बताउँछन् ।

फ्रि भिसा, फ्रि टिकट लागू भएसँगै समस्या बढेपछि मलेसियामा नेपाली कामदारको माग घटेको थियो भने खाडी मुलुकतिर नेपाली कामदारको माग बढेको थियो । गत वर्ष साउदी अरबमा सबैभन्दा बढी कामदार गएका थिए । नेपालबाट गत वर्ष १ लाख ३८ हजार कामदार साउदी अरबमा गएका थिए ।

कतारमा १ लाख २९ हजार, संयुक्त अरब इमिरेट्स (यूएई) मा ५२ हजार ७ सय र कुवेतमा १० हजार कामदार गएका थिए भने मलेसियामा ६० हजार ९ सय ७९ कामदार गएका थिए । अघिल्लो वर्षहरूमा भने सबैभन्दा बढी कामदार मलेसिया जाने गरेका थिए ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बलबहादुर तामाङले खाडी मुलुकका सरकारको युद्धमा खर्च धेरै भएको र आम्दानी कम हुँदै गएको बताए । “खाडी मुलुकले पछिल्लो समयमा सिरिया र यमन युद्धमा ठूलो रकम खर्चिरहेका छन्,” उनले थपे, “अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य घट्दा पनि खाडी मुलुकको आम्दानी निकै घटेको छ ।”

युद्धमा लगानी हुनेबित्तिकै स्वतः खाडी मुलुकमा उत्पादन तथा रोजगारमूलक क्षेत्रमा लगानी कम हुन्छ । “यतिकै युद्धमा खर्च भइरहे खाडी मुलुकमा नेपाली कामदारको माग घट्ने देखिन्छ,” तामाङले भने, “यसले रेमिटेन्समा समेत ठूलो असर पर्नेछ ।” विश्व बैंकले समेत रेमिटेन्स घट्दा अर्थतन्त्रमा ठूलो असर पर्ने अनुमान गरेको छ ।

खाडी मुलुकका प्रतिष्ठित तथा सरकारी कम्पनीले समेत नेपाली कामदारलाई पारिश्रमिक दिन समस्या परेको छ । “मैले लामो समयदेखि कामदार पठाइरहेको प्रतिष्ठित कम्पनीमा पनि आर्थिक समस्या छ,” स्काई ओभरसिज तथा जेरी भर्घिजका प्रबन्ध निर्देशकसमेत रहेका तामाङले भने, “पहिला कुनै समस्या थिएन, अहिले समयमै पारिश्रमिक दिन सकेको छैन ।”

फ्रि भिसा तथा फ्रि टिकटले खाडी मुलुकको मागमा भने कुनै असर नपरेको व्यवसायी बताउँछन् । खाडी मुलुकको श्रम ऐन र कफला प्रणालीले रोजगारदाताले कामदारको सम्पूर्ण खर्च बेहोर्नुपर्ने व्यवस्था छ ।

साउदी अरबले फ्रि भिसा फ्रि टिकट लागू नगरे रोजगारदाता कम्पनीलाई कारबाही गर्ने घोषणा गरिसकेको छ । त्यही कारण खाडी मुलुकमा फ्रि भिसा फ्रि टिकट लागू गर्न कुनै समस्या छैन ।


Facebook Comment


No ads found for this position