आयल निगमको नाफा २० अर्ब, आयातको मूल्यमा २७ प्रतिशत फाइदा –

मोहन गुरुङ
काठमाडौं, २१ साउन । नेपाल आयल निगमले गत आर्थिक वर्ष (२०७२/७३) मा कुल २० अर्ब रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवभन्दा ३३ प्रतिशत बढी हो । आव २०७१/७२ मा निगमको नाफा १५ अर्ब रुपैयाँ थियो । अन्तरराष्ट्रिय बजार मूल्यमा गिरावट आए पनि स्वदेशी बजारमा समायोजन नगर्दा निगमको नाफा उच्च भएको हो ।

NEPAL-OIL-PATHLAIYA-DEPOTनिगमले गत आवमा आयातको मूल्यमा २७ प्रतिशतले नाफा गरेको छ । नेपालको कानुनअनुसार कुनै पनि वस्तु तथा सेवामा लागत मूल्यको २० प्रतिशतभन्दा बढी नाफा राख्नुलाई कालोबजारीमा मुद्दा चलाउन सकिन्छ । तर, सरकारले निगमलाई जति पनि नाफा राख्न छुट दिएको छ ।

निगमले गत आवमा ७३ अर्ब ४२ करोड बराबर पेट्रोलियम पदार्थ आयात गरेको थियो । पेट्रोलियम पदार्थको आयात घटे पनि नाफा भने उच्च दरले बढेको छ । कालोबजारी तथा अन्य अपराध तथा सजाय ऐनविपरीत निगमले नाफा २० प्रतिशतभन्दा बढी राख्नुलाई सरोकारवालाले भने आपत्तिजनक भनेका छन् ।

निगमले आयकरवापत १ अर्ब ३० करोड रुपैयाँ ठूला करदाता कार्यालयलाई बुझाएको छ । १३ वर्षयता पहिलोपटक निगमले आयकर बुझाएको हो । “आवको २०६५/६६ नाफा रहे पनि सञ्चित नोक्सानी कट्टा गर्दा आयकर तिर्नु परेन” निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले भने, “२०७१/७२ पनि नाफा रहे पनि ३६ अर्ब सञ्चित नोक्सानी रहेकाले आयकर तिर्न नपरेको हो ।”

निगमले ७ वर्षअघिसम्मको सञ्चित नोक्सानसम्मलाई खर्च सरह नै नाफाबाट घटाउन पाउने व्यवस्था छ । “गत आवको पनि पूरै नाफाको आयकर तिर्नुपरेको भए ५ अर्ब रुपैयाँ जान्थ्यो” साहले भने, “अघिल्लो वर्षका बाँकी सञ्चिति नोक्सानी घटाएकाले कम परेको हो ।” यही नाफा रहे सरकारी स्वामित्वको संस्थानमध्ये अगामी वर्ष निगम आयकर तिर्नेमा पहिलो नम्बरमा पुग्ने सम्भावना छ ।

निगमका अनुसार मासिक पेट्रोल २९ हजार, डिजेल १ लाख १० हजार, मट्टितेल १५ सय र हवाईइन्धन १० हजार किलोलिटर खपत हुने गरेको छ । खाना पकाउने एलपी ग्यास २७ हजार टन बिक्री हुनेगर्छ ।

हाल प्रतिलिटर पेट्रोलमा नाफा ८.८३, डिजेलमा २.३३, मट्टितेलमा १६.८८, हवाईइन्धन (स्वदेशी) १५.९० र हवाईइन्धन (अन्तरराष्ट्रिय) २५.०३ रुपैयाँ छ । ग्यासमा प्रतिसिलिन्डर १ सय ११ रुपैयाँ नाफा छ । यही कारण निगम निरन्तर नाफामा छ ।

निगमले भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थ मूल्य कम भएकाले तस्करीको सम्भावना हुने भन्दै मूल्य धेरै घटाउन नमिल्ने दाबी गर्दै आएको छ । “भारतभन्दा नेपालमा पेट्रोलमा ५ र डिजेल १७ रुपैयाँ सस्तो छ” साहले भने, “धेरै घटाउने बित्तिकै नेपाल आउने पेट्रोल र डिजेल भारत तिरै फर्कन्छ ।” नाफा कमाएको मध्ये ६ प्रतिशत बोनस कोषमा जाने गर्छ ।

आव २०७०/७१ सम्म निगमको ऋण ३६ अर्ब ८६ करोड रुपैयाँ थियो । निगमले एकातिर ऋण तथा व्याजको छुट्टै शीर्षक र नाफा उच्च राखेकाले दुई वर्षको अवधिमै ऋण तिर्न सफल भएको हो । आव २०७१/७२ देखि स्वचालित मूल्यमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण भएपछि निगम नाफामा जान थालेको हो ।

निगमले आव २०७१/७२ को माघदेखि ऋण तिर्न सुरु गरेको थियो । असार २६ गते निगमले अर्थ मन्त्रालयलाई ८० करोड ऋण र ६१ करोड रुपैयाँ व्याज भुक्तानी गरेसँगै १४ वर्षपछि निगम ऋणमुक्त भएको हो ।


Facebook Comment


No ads found for this position