नागपञ्चमी विभिन्न धार्मिक पीठमा बिहानैदेखि भव्य मेला

भक्तपुर, २३ साउन । नागपञ्चमीको अवसरमा भक्तपुरका विभिन्न धार्मिक पीठमा बिहानैदेखि भव्य मेला लागेको छ । जिल्लाको चाँगुनारायण मन्दिरमा आज बिहानैदेखि ठूलो मेला लागेको छ । मेला भर्न भक्तपुर, काठमाडौँ, ललितपुर र काभ्रेदेखिका धर्मावलम्बीहरु मन्दिरमा आएका छन् । मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेकोे मन्दिरका पुजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिनुभयो ।

nagpanchamiसाउन शुक्ल पञ्चमीका दिन लाग्ने यस मेलामा चाँगुनारायणलाई गाईको दूध, घ्यू, दुबो तथा रायोको गेडा चढाउनाले घरखेतमा नागले दुःख नदिने धार्मिक विश्वास रहेको उहाँले बताउनुभयो ।

आजको दिन चाँगुनारायण मन्दिरबाट फर्किएर आ–आफ्नो घरको मूलढोकामाथि गाईको गोबरले नाग टाँसी दुबो, रायोको गेडा र गाईको दूध चढाउने परम्परा रहेको छ ।

चाँगुनारायण मन्दिर नजिकै रहेको शङ्खदहमा पनि स्नान गर्नेको बिहानैदेखि घुइचो लागेको छ । यस दहमा स्नान गर्नाले रोग नलाग्ने र लागेको रोग पनि निको हुने जनविश्वास रहेको छ ।

शङ्खदह भूक्षयको चपेटामा परेपछि प्लास्टिकको कृत्रिम पोखरी बनाएर आजको मेला सञ्चालन गरेको शङ्खदह संरक्षण समितिका अध्यक्ष दिनेश खनालले बताउनु भयो । आजैदेखि शङ्खदह संरक्षणको अभियान सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी आजै भक्तपुर नगरपालिकास्थित तिलमाधव नारायणको मन्दिर र वाखुपति नारायणको मन्दिरमा पनि मेला लागेको छ । यहाँका दुवै मन्दिरमा भक्तपुर, थिमि, काभ्रे, बनेपा, पनौतीलगायतका स्थानबाट दर्शनार्थी आएका छन् ।

तिलमाधव नारायण र बाखुपति नारायणको पूजा गरी दर्शन गरेमा पूण्य प्राप्त हुने, मनोकांक्षा पूरा हुने र घरमा सर्पले दुःख नदिने जनविश्वास रहेको छ ।

नागदहमा नागपूजा गर्नेको भीड

ललितपुर – ललितपुर उपमहानगरपालिका धापाखेलमा रहेको नागदहमा नागपूजा गर्ने भक्तजनको भीड लागेको छ । पूजाका लागि आवश्यक पर्ने सामग्री लिएर बिहानैदेखि लामबद्ध रुपमा भक्तजनको उल्लेखनीय सहभागिता रहेको छ । दहको छेउमै नागको प्रतीकका रुपमा नागको मूर्ति स्थापना गरिएको छ ।

नागपञ्चमीका दिन नाग पूजा एवम् दर्शनका लागि यहाँ चापागाउँ, झरुवाराशी, गोदावरी, सुनाकोठी, पाटन, लेले, छम्पी, ठेचो, गोदामचौर, ठैवलगायतका क्षेत्रबाट भक्तजनको सहभागिता रहेको स्थानीयवासी देवराज विष्टले बताउनुभयो ।

हरेक साउन शुक्ल पञ्चमीका दिन नागको पूजा गर्ने प्रचलन रहेको छ । आजकै दिन हरेक घरको मूलढोकामा नागको तस्बिर राखेर नागको पूजा गरेर नागपञ्चमी मनाउने गरिन्छ ।

नागपूजा गर्नाले आगो, चट्याङ एवम् सर्पको भय नहुने जनविश्वास रहँदै आएको छ । हिन्दू धर्मअनुसार सर्पहरुको राजा नागलाई मान्ने गरिन्छ ।


Facebook Comment


No ads found for this position