पालुङटार, निजगढ र लुम्बिनीलाई स्मार्ट सिटी बनाइने
पवन तिमिल्सिना
काठमाडौं । सरकारले आगामी २० वर्षमा गोरखाको पालुङटार, बाराको निजगढ र रुपन्देहीको लुम्बिनी लगायतका तीन वटा नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउन तयारी सुरु गरेको छ ।
तीन वटा स्मार्ट सिटी निर्माणको लागि नौ करोड रुपैयाँ खर्चिनेछ । यो वाहेक अन्य तीनवटाको पनि सम्भाब्यता अध्ययन सुरु भएको छ ।
गत आर्थिक वर्ष २०७२/७३को मध्येतिर सरकारले देशका विभिन्न १६ नगरोन्मुख सहरहरुमा भइरहेका सेवा सुविधाहरुलाई सूचना तथा सञ्चार प्रविधिसँग जोडेर व्यवस्थित सहरको रुपमा विकास गर्ने घोषणा गरेको थियो।
चालु आर्थिक वर्षमा स्मार्ट सिटीको पूर्वाधार निर्माणका लागि एक करोड ४२ लाख रुपैयाँ छुट्याइसकेको छ। प्रत्येक स्मार्ट सिटी निर्माणका लागि तीन करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।पर्यटकीय महत्व बोकेका नेपालका विभिन्न सहरहरुमा भौतिक पूर्वाधार कमजोर भएकाले स्तरोन्नतीका लागि सरकारले यो अवधारणा ल्याएको हो।स्मार्ट सिटी आयोजनाको जिम्मा पाएको नयाँ शहर आयोजना समन्वय कार्यालयले १६ वटा स्थान मध्ये ६ वटा स्थान स्मार्ट सिटी निर्माण गर्ने तयारी गरेको छ ।
कार्यालयले गोरखाको पालुङटार, बाराको निजगढ, रुपन्देहीको लुम्बिनी, डडेल्धुराको अमरगढी, दैलेखको दुन्दु र स्याङ्जाको वालिङ नगरपालिका रहेका छन् । यी मध्ये पालुङटार, निजगढ, लुम्बिनीका लागि काम अघि बढिसकेका छन्। गत असार २७ गते कार्यालयले तीन वटा स्थानमा परामर्शदाता चयनका लागि आशय पत्रको माग सहित सूचना जारी गरेको थियो। आयोजनाको अध्ययनका लागि परामर्शदाता नियुक्त गर्ने काम भइरहेको आयोजना निर्देशक चक्रवर्ती कंठले जानकारी दिए।
स्मार्ट सिटी निर्माणमा अनुभव बटुलेका परामर्शदाता नियुक्त गर्नु पर्ने भएकाले यसको लागत महंगो भएको कंठले जानकारी दिए। ‘नेपालमा यस्तो किसिमको पहिलो आयोजना हो ‘,उनले भने, ‘अन्तराष्ट्रिय स्तरको स्मार्ट सिटीमा अनुभव लिएका परामर्शदाता नियुक्त गर्नु परेकाले खर्च बढेको हो।’ प्रत्येक स्थानका लागि दुई जना परामर्शदाता राखिनेछ।
एउटा सहरी विकास सम्बन्धी योजनाकार र अर्को सूचना प्रविधि विशेषज्ञ रहनेछन्। यी दुवैका लागि स्मार्ट सिटीमा अनुभव लिएको हुनुपर्ने अनिवार्य रहेको छ।आयोजनालाई मुख्य चारवटा चरणमा विभाजन गरिएको छ। पहिलो चरणमा पूर्वाधार, योजना तथा डिजाइन निर्माणको काम हुनेछ। पहिलो चरणको काम पाँच वर्ष दोस्रो चरणको काम दस वर्ष र तेस्रो चरणको काम २० वर्षमा सम्पन्न गरिने उल्लेख छ । चौथो वर्षमा कामको रिपोर्ट तयार गर्ने लक्ष्य रहेको कंठले जानकारी दिए।
पहिलो चरणमा परामर्शदाताले निम्न विषयमाथी गर्नेछन् :
१) नेपालको परिप्रेक्ष्यमा स्मार्ट सिटी परिभाषित गर्ने
२) स्मार्ट सिटी निर्माणका लागि आवश्यक तत्त्वहरु तयार पार्ने
३) सम्बन्धित क्षेत्रहरुको वर्तमान अवस्थाको विश्लेषण गर्ने
४) प्रत्येक शहरका लागि गुरु योजना तयार पार्ने
विश्वभरका विभिन्न मुलुकमा सफल भएको ‘स्मार्ट सिटी’को अवधारणा हालै मात्र छिमेकी मुलुक भारतमा कार्यान्वयनको क्रममा छ। विकसित मुलुकबाट आएको यो अवधारणा मुलुक अनुसार फरक भएको कंठले बताए। ‘नेपालको विषयमा भौतिक पूर्वाधार निकै कमजोर भएका कारण सुरुमा आधारभुत कुरामा नै जोड दिनुपर्ने जरुरी छ’, उनले भने।
के हो ‘स्मार्ट सिटी’ ?
‘स्मार्ट सिटी’को परिभाषा मुलुक अनुसार फरक हुने भएकाले यसलाई सजिलै परिभाषित गर्न नसकिने कंठले बताए। अत्याधिक जनसंख्या भएका शहरहरुमा बोझ कम गरेर नगरोन्मुख स्थानहरुलाई व्यवस्थितरुपमा विकास गरिन्छ । यो शहरमा सुचना तथा सञ्चार प्रविधिको विकास गर्नुनै स्मार्टसिटीको अबधारणा हो ।
सामान्यतया स्मार्ट सिटीमा ६ वटा विषय समेटिएको हुन्छ । जनता, सरकार, अर्थतन्त्र, जीवनस्तर, आवगमन र वातावरणलार्इ ध्यान दिएर शहरको विकास गरिने कंठले जानकारी दिए।नेपाल जस्तो विकासका लागि न्युनतम पूर्वाधार कम भएको अवस्थामा स्मार्ट सिटीका निर्माण गर्दा पूर्वाधारमा जोड दिनुपर्ने उनले बताए। ‘हाम्रो देशमा भौतिक पूर्वाधार कै अवस्था निकै कमजोर रहेको छ’, उनले भने,’सुरुमा भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनु आवश्यक छ।’ /बिजमाण्डू