साउदीको रोजगारी संकटमा !

उत्तम काप्री/रवीन्द्र शाही

२३ साउन, काठमाडौं । साउदी अरबमा आर्थिक संकट गहिरिँदै गएपछि रोजगारीको क्रममा साउदी अरब पुगेका नेपाली श्रमिक समस्यामा परेका छन्।कम्पनीहरुले तलब नदिने र घर फर्किन पासपोर्ट पनि नदिएका कारण हजारौं कामदार ‘भोकभोकै’ परेको भन्दै भारतीय विदेश मन्त्रालयले उद्दारको प्रयास थालेको सन्दर्भमा हजारौं संख्यामा रहेका नेपाली श्रमिक पनि समस्यामा परेको अनुमान छ।

nepal-airportयद्यपी श्रम तथा रोजगार मन्त्रालयले भने तत्काल ठूलो समस्या नदेखिएको भन्दै आउन सक्ने जोखिमप्रति सजग रहेको जनाएको छ। वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने जिम्मेवारी पाएको वैदेशिक रोजगार विभागले केही नेपाली कामदार पनि समस्यामा परेको खबर पाएको जनाउँदै  समाधानको लागि पहल थालिएको बताएको छ।
‘साउदीमा विदेशी श्रमिक समस्यामा परेका छन्, त्यहाँ नेपाली पनि रहेकोले हामीले म्यानपावर कम्पनीहरुलाई पनि खबर गरेका छौँ’, विभागका महानिर्देशक शत्रुग्धन पराजुलीले सेतोपाटीसँग भने।आफूहरुले ‘ब्यूरोक्रेटिक’ तहमा गर्नेजति पहल गरिरहे पनि सरकार परिवर्तनका कारण राजनीतिक तवरबाट पहल नभएकोले प्रभावकारी कदम चाल्न नसकिएको पराजुलीले बताए।
‘हामीले दुतावास, परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय लगायत सबै निकायहरुमा खबर गरिसकेका छौँ तर अहिले मन्त्री पनि नभएको अवस्थामा प्रभावकारी पहल हुन नसकेको सत्य हो’ पराजुलीले भने।
साउदीमा केही कम्पनीमा कार्यरत कामदारमा मात्र समस्या भए पनि सबैमा नभएको पराजुलीको भनाई छ। ‘तत्काल ठूलो समस्या छैन तर पनि भविष्यमा हुन सक्ने समस्याप्रति भने सचेत हुनैपर्छ’ उनले भने।
यसैबीच श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले नेपाली कामदारको हकहितका लागि मन्त्रालय दुतावास र सम्बन्धित निकायसँग प्रत्यक्ष सम्पर्कमा रहेको बताए। ‘नियमित रुपमा आउने समस्या अहिले पनि छन्’ सेतोपाटीसँग लम्सालले भने, ‘अहिलेका परिस्थितिको बारेमा मन्त्रालय पनि जानकार छ तर नेपाली कामदारलाई कस्तो परिस्थिति आउँछ अहिले भन्न सक्ने अवस्था छैन।’
नेपालीलाई आउने जुनसुकै समस्याको समाधान र उद्दार गर्न कुनै पनि कसर बाँकी नराख्ने गरी तयारी अवस्थामा मन्त्रालय रहने लम्सालको भनाई छ।
‘रोजगारीका लागि साउदी जाने नेपाली कामदारलाई समेत कम्पनीको आर्थिक अवस्था र कामको प्रवृत्ति बुझेर मात्र जान मानवताको नाताले आग्रह गर्दछु’ उनले भने, ‘रोजगारीका लागि माग ल्याउने र पठाउने म्यानपावर कम्पनीरलाई पनि सचेत रहँदै युवाको लागि रोजगारीको अवसर सिर्जना गर्न आग्रह गर्दछु।’
साउदी अरेवियामा आर्थिक संकटकै कारण विभिन्न देशबाट गएका कामदार समस्यामा परेको र त्यसमै केही नेपाली पनि परेको बताउँछन् वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङ।
त्यहाँ कार्यरत श्रमिक संख्याको अनुपातअनुसार तत्काल भारतीय कामदारले मात्रै अन्य नागरिकको तुलनामा ठूलो समस्या भोग्नु परेको गुरुङको भनाई छ। ‘यो समस्या नेपाली कामदारको हकमा भने तत्काल लागू नहुन सक्छ, नेपालीको तुलनामा भारतीय धेरै हुँदा पनि यस्तो समस्या आएको हो’ गुरुङले भने।
पेट्रोलियम पदार्थमा निर्भर साउदी अरबको अर्थतन्त्र तेलको मूल्यमा गिरावट आएसँगै सुस्त भएको छ।  साउदी सरकारले खर्च कटौती गर्दै तेलमाथिको निर्भरता कम गर्ने भन्दै महात्वाकांक्षी नीति सार्वजानिक गरेको थियो।
साउदी सरकरले सीमा क्षेत्रमा आएको समस्या समाधानको लागि भन्दै विकास बजेट कटौती गरेर शैन्य तयारीमा जुटेको थियो। त्यससँगै विकासका काम अगाडि नबढ्दा विभिन्न देशबाट रोजगारमा जानेको संख्या घट्न थालेको विश्लेषण गरिएको छ।
विकास निर्माणको काममा कमी आउनासाथ निर्माणको क्षेत्रमा काम गरिरहेका दर्जनौं कम्पनी बन्द हुन पुगे र नयाँ कामदार पनि लिन सकेनन् भने उल्टै पुराना कामदार कटौती गर्न थाले।
तेलको मूल्यमा कमी आएसँगै साउदीको आम्दानी पनि खुम्चिएको थियो। त्यसको प्रभाव ठूला ठूला उद्योगहरुमा पर्‍यो। जसको शिकार भयो साउदीकै सबैभन्दा ठूलो निर्माण कम्पनी बिनलादेन। यसकै अन्डरमा रहेका डेढ सयभन्दा बढी कम्पनी समस्याग्रस्त हुँदा पचासौं हजार कामदार बेरोजगार भएका थिए।
नेपालबाट अहिले पान्डा, अलमराई जस्ता बहुराष्ट्रिय कम्पनीहमा कामदार गईरहेका छन्। महासचिव रोहन गुरुङका अनुसार मलेसियाले गत आर्थिक वर्षमै अन्य मुलुकबाट कामदार लिन छोडेसँगै साउदी, कतार र दुबइ जाने नेपालीहरुको संख्या बढ्दो छ।
अघिल्लो आर्थिक वर्ष ७१/७२ मा भन्दा गत आर्थिक गर्ष ७२/७३ मा नेपालबाट रोजगारीका लागि जाने संख्यामा वृद्धि भएको छ । समग्रमा विदेशिने संख्या गत वर्ष करिब १८ प्रतिशतले गिरावट आए पनि साउदी जाने संख्या भने डेढ लाखको हाराहारीमा रहेको छ।


Facebook Comment


No ads found for this position