जलकुम्भीले भरियाे फेवा ताल (फाेटाेफिचर)

fewa

सागरराज तिमल्सिना

वर्षायामसँगै पोखराको पर्यटकीय आकर्षणको केन्द्र फेवाताल बाढीको हिलो र जलकुम्भी झारले ढाकिँदा कुरूप बनेको छ।

हिउँदमा आफैं हराउने र बर्षायाममा तालको सौन्दर्य नै बिगार्ने गरी ढाकिने जलकुम्भीको दिर्घकालिन ब्यबस्थापन गर्न नसक्दा फेवाताल जलकुम्भीले ढाकिएको हो।

यो वर्ष अघिल्लो बर्ष भन्दा केही ढिला जलकुम्भी झार देखियो। जलकुम्भी झारले ढाक्न थालेपछि पोखराका पर्यटन व्यवसायी, बिभिन्न संघसंस्था, सरकारी तथा गैरसरकारी निकाय झार निकाल्ने र फाल्ने काममा सक्रिय हुने गरे पनि त्यस प्रयासले केही हुन सकेको छैन। अघिल्लो वर्ष फेवातालको मुख्य स्रोत फेवा जलाधार क्षेत्रमा बाढी र पहिरो गएपछि अझ बढी ताल पुरिदै आएको छ ।

ताललाई देखाएर मागी खानेहरू धेरै भए पनि ताल कुरूप बन्दा कसैको ध्यान गएको छैन। अहिले फेवातालको पानी धमिलिएको छ भने झारले पुरै तालको सौन्दर्यनै बिगारेको छ। झारको कारण तालमा डुङ्गा सयरमा समेत समस्या भएको फेवा डुङ्गा व्यवसायीले बताएका छन्।

जलकुम्भी झार हटाउन पोखरा उपमहानगरपालिकाले एनसेलसँग सम्झौता गरेको भनिए पनि कुनै काम हुन सकेको छैन। जलकुम्भी झार ब्यवस्थापनको लागि भन्दै जिल्ला विकास समिति, पोखरा उपमहानगरपालिकाले वर्षेनी बजेट विनियोजन गर्दै आएका छन्।

बर्षेनी जलकुम्भी झारले फेवाताललाई ढाक्दै जाने र दिर्घकालिन ब्यबस्थापनको उपाय नखोजी ट्रकका ट्रक झार निकाल्ने र फाल्ने गर्दा ताल संरक्षणमा त्यति ध्यान दिएको नदेखिएको पर्यटन ब्यवसायी गणेश भट्टराईले सेतोपाटीलाई बताए।

पोखराको पहिलो आकर्षण भनेको फेवाताल हो। जहाँ डुङ्गामा शयर गर्दै सुन्दर प्राकृतिक दृश्यावलोकन गर्न पाइन्छ।  माछापुच्छे हिमाल तालमै पौडी खेलेको देख्न सकिन्छ। त्यस माथि तालका बिचमा रहेको तालबाराही मन्दिर पनि पर्यटकका लागि पहिलो गन्तव्य बन्दै आएको छ। तर, धमिलो ताल र जलकुम्भीका कारण त्यस्ता दृश्य देख्न छाडिएको छ।  फेवाताल मानवीय  र प्राकृतीक दुबै रुपमा दैनिक अतिक्रमणको चपेटामा पर्दै गएको छ। करिब २२ हजार ७ सय रोपनी क्षेत्रफलको नेपालकै दोस्रोे ठूलो ताल फेवाताल खुम्चिएर हाल ९ हजार ९ सय ५५ रोपनी क्षेत्रफलमा सीमित हुन पुगेको छ । फेवाताल विश्वमा नै सौन्दर्यमा १३ औ स्थानमा रहेको ताल हो।


Facebook Comment


No ads found for this position