पर्यटकीय क्षेत्र बयलीखर्क ओझेलमा

म्याग्दी, ३० साउन । म्याग्दीको पर्यटकीय शिख–४ स्वाँतको बयलीखर्क ओझेलमा परेको छ । अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेटिएको बयलीखर्क प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको हो । समुद्री सतहदेखि तीन हजार ४५० मिटर अग्लो ठाउँमा अवस्थित बयलीबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृष्यसँगै धौलागिरि रेन्जका दर्जन बढी हिमशृङ्खला देखिन्छ ।

अनेकौँ अग्ला डाँडाकाँडाको प्राकृतिक सुन्दरतालाई नियाल्न सकिने बयलीबाट विभिन्न बस्तीसमेत अवलोकन गर्न सकिने स्थानीय लोकबहादुर पाइजाले बताउनुभयो । “यहाँ आउने पर्यटक हिमशृङ्खलाको अवलोकन, लालीगुराँसको जङ्गल र यहाँका प्राकृतिक सौन्दर्यताले खुसी हुँदै फर्कने गरेका छन् । विशेष गरी चरन क्षेत्रमा रहेका चौँरीको अवलोकन गर्न पाउनु पनि यहाँको थप विशेषता हो – पाइजाले भन्नुभयो ।”

अहिले विशेष गरी नागी–महरे–टिकोट–खिवाङ–स्वाँत, ढाडखर्क हुँदै खोप्रा पुगेका पर्यटक बयली हुँदै घान्द्रुक क्रस गर्ने गरेका छन् । त्यस्तै घोरेपानीको भ्रमणमा आएका पर्यटकसमेत स्वाँत–ढाँडखर्क–खोप्रा हुँदै बयलीमा पुग्ने गर्छन् । कतिपय पर्यटक भने घान्द्रुकबाट छिरेर बयली हुँदै खोप्रालेक जाने गरेको पाइजाले बताउनुभयो ।

पहिलेदेखि नै बयलीमा पर्यटकले क्याम्पिङ गरी बस्दै आए पनि विगत सात वर्षदेखि भने स्वाँतका स्थानीयवासीले सामुदायिक लज सञ्चालन गर्दै आएका छन् ।
यस क्षेत्रका बारेमा आवश्यक प्रचारप्रसार नहुनु र पदमार्ग, खानेपानी, आवासलगायतका पूर्वाधारको अभावले यथेष्ट पर्यटक भित्रन नसकेको पाइजाको भनाइ छ ।

बयली स्वाँतदेखि करिब चार घन्टाको पैदल दूरीमा रहेको छ । करिब ५० घरधुरीको बसोबास रहेको स्वाँतमा समेत पर्यटकलाई लक्षित गरी चारवटा सुविधायुक्त लज सञ्चालनमा रहेका छन् ।


Facebook Comment


No ads found for this position