रेडपान्डा साकाहारी वा मांशाहारी बारे अध्ययन गरिने
ताप्लेजुङ समाचारदाता, ताप्लेजुुङ, साउन ३० गते । विश्वमै दूर्लभ मानिएको रेडपान्डा (हाब्रे) साकाहारी हो वा मांशाहारी भन्ने हालसम्म पहिचान भइनसकेकाले यसबारे अध्ययन थालिने भएको छ । रेडपान्डा साकाहारी वा मांसाहारी कुन समूहमा पर्छ भन्ने विषय पत्ता लगाउन अध्ययन थालिने भएको हो ।
दुर्लभ जनावरको संरक्षणमा सहजता ल्याउन प्रजातिबारे पहिचान हुन अनिवार्य भएको संरक्षणप्रेमीहरुले जोड दिएपछि यसबारे अध्ययन गर्न थालिने भएको हो । संरक्षणप्रेमीले मांसहारी प्रजाति भए यसको आहाराको लागि वैकल्पिक व्यवस्थापन गर्नुपर्ने बताएका छन् । उनीहरूको आग्रह र सल्लाह अनुसार नेपालमा रेडपान्डा संरक्षणको कार्य गर्दै आएको ‘रेडपान्डा नेटवर्क’ ले आफ्नो साँढे चार वर्षे कार्यक्रमको योजना बनाएको छ । नेटवर्कले ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा एक कार्यक्रम गरी आफ्नो योजनाबारे सार्वजनिक गरेको हो ।
उक्त कार्यक्रमका पनि सहभागीले पहिचानको जरुरी रहेको बताएका थिए । तिरिङ्गेस्थित सयपत्री पोखरी सामुदायिक वनका पदाधिकारी विजय डाँगीले रेडपान्डा मांसहारी प्रजाति हो पनि भन्ने सुनेको बताउँदै त्यसो भए उसको आहाराको लागि वैकल्पिक व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
प्रजाति छुटाउनलाई अध्ययनकै जरुरी रहेको डाँगीले बताउनुभयो । यस्तै अर्का सहभागी भक्तिहाङ लिम्बूले मालिङ्गो र निगालो बाहेक मासुजन्य आहारा पनि खाने÷नखानेबारे सम्बन्धित पक्षले अध्ययन गर्न जरुरी रहेको बताउनुभयो ।
हालसम्म भने बाँसजन्य हरियो घाँसलाई रेडपान्डाको मुख्य आहारा मानिँदै आएको छ । नेपालमै सबैभन्दा बढी रेडपान्डा पाइने दावी गरिँदै आएको ताप्लेजुङको पाथीभरा वन क्षेत्रमा मालिँगो र निगालो कम हुँदै गएका कारण तल्लो क्षेत्रतिर देखा पर्ने गरेको छ ।
रेडपान्डा नेटवर्कको साझेदार संस्था हिमाली संरक्षण मञ्चमार्फत वन संरक्षण अभिभावक समेत चयन हुनभएका भक्तिहाङ लिम्बूले रेडपान्डाको संरक्षणका लागि वैकल्पिक आहारा पत्ता लगाउनु अनिवार्य रहेको बताउनुभयो । रेडपान्डालाई चलाएमा वा आक्रमण गरेमा उसले पनि प्रतिकार गर्ने गरेको पाइएकाले यो प्रजाति मांसहारी भएको अनुमान लिम्बूको रहेको छ । उहाँले यसबारे विस्तृत अध्ययन नै जरुरी रहेको औंल्याउनुभयो ।
नेपालमा करिव एक हजारको संख्यामा पाइने रेडपान्डा मध्ये ताप्लेजुङमा मात्रै अढाई सय भन्दा बढी रेडपान्डा रहेको नेटवर्कको दावी छ । नेटवर्कका संरक्षण संयोजक पेमा शेर्पाले यो संख्यामध्ये २५ प्रतिशत हाराहारी रेडपान्डा पाथीभरा क्षेत्रमा पाइने गरेको जानकारी दिनुभयो । संरक्षणप्रेमीले रेडपान्डा मांसहारी वा साहकारी के हो भन्ने विषयमा अध्ययन गर्नुुपर्ने खाँचो औंल्यापछि रेडपान्डा नेवटर्क यसमा सकारात्मक भएको बताइएको छ ।
नेटवर्कका संरक्षण संयेजक शेर्पाले यसैवर्ष कार्यक्रम समावेश नभएपनि रेडपान्डाको दैनिकी पत्ता लगाउन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले हिमचितुवाको दैनिकी पत्ता लगाउन गरिएको कलरिङ् विधिको प्रयोग रेडपान्डामा पनि प्रयोग गर्न सकिने बताउनुभयो । यो नयाँ विषय उठेकोले यसबारे नेटवर्क समूह र बोर्ड समक्ष प्रस्ताव लैजाने उहाँको भनाइ छ । चिडियाखानामा राखिएका रेडपान्डालाई आहाराकै रुपमा मासुु खान दिने गरेको आफूले पनि सुनेको बताउँदै उहाँले सरोकारवालाबाट आएको अध्ययनको प्रस्तावलाई अघि बढाउने बताउनुभयो ।
यस्तै बाँसजन्य आहारा कम वजनदार हुने अध्ययनले पुष्टि गरिसकेको भन्दै त्यही भएर रेडपान्डाले अधिकतम् समय खानामा खर्च गर्ने गरेको बताइएको छ । “रेडपान्डाले अहिलेसम्म कम वजनदार खानेकुुरा मात्र प्राप्त गर्दै आएकोले उसको धेरै समय खानेकुराको व्यवस्थापनमा बित्ने गरेको छ” शेर्पाले भन्नुभयो ।
उहाँले बाँसजन्य बाहेक वैकल्पिक आहाराको व्यवस्थापनमा ध्यान दिन जरुरी रहेकोमा सहमत रहेको पनि बताउनुभयो । बासस्थानको खण्डीकरण र बिनास, अत्यधिक चरिचरण, वन बिनास, तीव्र शहरीकरण, आगलागी, पानीको मुुहान सुुक्दै जानुु र वातावरणीय प्रभावलाई ख्यालै नगरी विकास निमार्णका कार्यअघि बढाउनु जस्ता कारणले रेडपान्डाको जीवन संकटमा पर्दै गएको समेत शेर्पाले जानकारी दिनुभयो ।
उहाँका अनुसार विश्वमा पान्डा दुुई प्रजातिका छन् । जाई पान्डा र रेडपाण्डा प्रजाति मध्ये रेडपान्डा विश्वबाट क्रमशः लोप हुँदै गइरहेको छ । नेपालबाहेक भारत, चीन, भुटान र म्यानमारमा रेडपान्डा पाइन्छ । उहाँका अनुसार अहिलेसम्म नेपालका २५ जिल्लामा रेडपान्डा पाइने गरेको पुुष्टि भएको छ । यस बाहेक अरु बिभिन्न ११ जिल्लामा पनि रेडपान्डा पाईे गरेको अपुुष्ट जानकारी पछि यसका बारेमा अध्ययन थालिएको उहाँले बताउनुभयो । उहाँले अध्ययन भएका सबै जिल्लामा रेडपान्डा पाइए यो पाइने जिल्लाको संख्या ३६ पुुग्ने छ । नेटवर्कले दोस्रो चरणको साढे चार वर्षे कार्यक्रम चालु महिनादेखि २०२० डिसेम्बर सम्म सञ्चालन गर्ने भएको छ ।